Comments Add Comment

रुकुममा जनार्दन शर्मा र सूर्य थापाबीच घम्साघम्सी

जनयुद्धलाई हेर्नेबारे नेकपाभित्र चर्काचर्की

७ फागुन, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य सूर्य थापाले ‘माओवादी जनयुद्ध’ का सन्दर्भमा व्यक्त गरेका विचारप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चासो राखेका छन् ।

‘जनयुद्धको उद्गमस्थल’ रुकमको चौरजहारीमा आयोजित एक आन्तरिक कार्यक्रममा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा र थापाबीच भनाभन भएपछि अध्यक्ष प्रचण्डले यसबारे चासो राखेका हुन् ।

फागुन ४ गते आइतवार नेकपा निकट प्रेस संगठन नेपालको कर्णाली प्रदेशस्तरीय भेलाका प्रमुख अतिथि जनार्दन शर्मा थिए भने प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका सल्लाहकार थापा अतिथिका रुपमा उपस्थित थिए ।

रुकुममा सूर्य थापाले भने ‘पार्टीले जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको हो । तर, यहाँ हामी आउँदा ‘जनयुद्ध दिवस’ को ब्यानर देख्यौं । पार्टीको निर्णय तलदेखि माथिसम्म एउटै हुनुपर्दैन ? के यहाँ अलग्गै पार्टी छ ?

शर्माको गृहजिल्ला रुकुम पश्चिमको चौरजहारी नगरपालिका परिसरमा आयोजित कार्यक्रममा थापाले ‘जनयुद्ध दिवस’ प्रति आपत्ति जनाएका थिए ।

अन्तिम तेस्रो वक्ताका रुपमा मञ्चमा पुगेका थापाले बोल्न शुरु गर्दासम्म प्रमुख अतिथि शर्मा मञ्चमा पुगेका थिएनन् ।

प्रमुख अतिथि कार्यक्रमको अन्तिमसम्म नआएकोमा असन्तुष्टि जनाउँदै थापाले चौरजहारी प्रवेश गर्दा टाँगिएका स्वागतद्वारमा ‘जनयुद्ध दिवस’ भनेर लेखिएकोमा आपत्ति जनाए ।

पार्टीको कुन कमिटीबाट जनयुद्ध दिवस मनाउने निर्णय भयो ? भन्ने प्रश्न गर्दै थापाले विगतप्रति अतिशयोक्तिपूर्ण गर्व गर्नुभन्दा वर्तमान र भविष्यप्रति सोच्न पूर्वमाओवादी पंक्तिलाई सुझाए ।

जनयुद्ध दिवस मनाउने निर्णय पार्टीले नगरेको भन्दै रुकुमको स्थानीय कमिटीप्रति थापाले असन्तुष्टि जनाए ।

थापाले भने, ‘पार्टीले जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जलीसभा गर्ने निर्णय गरेको हो । सोहीअनुसार केन्द्रीय कार्यालयमा कार्यक्रम भयो । तर, यहाँ हामी आउँदा ‘जनयुद्ध दिवस’ को ब्यानर देख्यौं । पार्टीको निर्णय तलदेखि माथिसम्म एउटै हुनुपर्दैन ? के यहाँ अलग्गै पार्टी छ ? विगतमा फर्किन थाल्यौं भने हाम्रा आ–आफ्ना अनुभव छन् ।’

थापाले जनयुद्ध दिवसप्रति असहमति जनाउँदै बोलिरहँदा मञ्चमा अध्यक्ष प्रचण्डका प्रेस संयोजकसमेत रहेका प्रेस संगठनका नेता विष्णु सापकोटा जुगल आक्रोशित देखिएका थिए । उनले प्रेस संगठनका इञ्चार्ज राजेन्द्र गौतमसँग आपत्ति जनाउँदै हुटिङ गर्ने चेतावनी दिइरहेकै बेला प्रमुख अतिथि जनार्दन शर्मा कार्यक्रमस्थलमा आइपुगे ।

शर्माले माहौल बिग्रिएको देखेपछि छेउमै रहेका राजेन्द्र गौतमलाई के भयो भनेर सोधे । अन्य नेताले पनि थापाले जनयुद्धविरुद्ध बोलेको भन्दै शर्मालाई सुनाएपछि मञ्चमै शर्मा जंगिए ।

शर्माले ‘केपी ओलीलाई प्रधानमन्त्री बनाएको मैले हो’ भन्दै सूर्य थापाले यस्ता हर्कत नरोके नराम्रो हुने सार्वजनिक चेतावनी दिए ।

रुकुमबाट निर्वाचित सांसदसमेत रहेका शर्माले भने माओवादी जनयुद्धको उद्गमथलो रुकुमबाट मात्रै ६ सय जनाले परिवर्तनका लागि जीवन गुमाएको भन्दै शहीदको अपमान हुने खालका अभिव्यक्ति सैह्य नहुने चेतावनी दिए ।

शर्माले बाहिर निस्किएर नेकपाको राजनीतिक प्रतिवेदन ल्याएर मञ्चमा २६ मिनेट बोल्दा अधिकांश समय थापाका अभिव्यक्तिको खण्डन गरेका थिए । उनले राजनीतिक दस्तावेज लेख्ने एक सदस्य आफू रहेको भन्दै त्यहाँ उल्लेखित जनयुद्धको योगदानको बुँदा पढेर सुनाएका थिए ।

शर्माले थापाको नाम नलिई ‘यस्ता व्यक्तिहरु पार्टी एकता नचाहने हुन्’ भने ।

शर्मा र थापाबीचको ‘भनाभन’ सुनिरहेका कार्यक्रमका सहभागीहरुले असहज महसुस गरेका थिए । यसले नेकपाभित्र जनयुद्धको स्वामित्व लिने र नलिने लडाइँ लामो समय चल्ने संकेत गरेको छ ।

नेकपाले जनयुद्धको सन्दर्भमा बहस खुला गरेको छैन । पार्टीले जनयुद्धको सन्दर्भमा आगामी महाधिवेशनमा छलफल गरेर आधिकारिक दृष्टिकोण बनाउने भएकाले त्यसअघि अनावश्यक बहस विवाद गर्दा एकता भाँडिने चिन्ता नेता–कार्यकर्ताले व्यक्त गरेका छन् ।

पूर्वएमालेकै कतिपय नेताले जनयुद्धसँग पूर्वमाओवादी पंक्तिको भावना गाँसिएकाले उनीहरुलाई ठेस पुग्ने अभिव्यक्ति दिन नहुने बताएका छन् ।

थापाले भने जनयुद्ध दिवस मनाउने निर्णय पार्टीले नगरेकाले सबै कमिटीहरुमा पार्टी निर्णयको एकरुपता हुनुपर्ने विषय मात्र आफूले उठाएको बताए । जनयुद्धका बारेमा तत्कालीन माओवादी र तत्कालीन एमालेका आ–आफ्ना विश्लेषण रहेकाले महाधिवेशनले टुंगो लगाउने उनको भनाइ थियो ।

रुकुमबाट निर्वाचित सांसदसमेत रहेका शर्माले भने माओवादी जनयुद्धको उद्गमथलो रुकुमबाट मात्रै ६ सय जनाले परिवर्तनका लागि जीवन गुमाएको भन्दै शहीदको अपमान हुने खालका अभिव्यक्ति सैह्य नहुने चेतावनी दिए ।

उनले प्रधानमन्त्रीलाई गलत व्यक्तिले घेराबन्दी गरेको भन्दै केही व्यक्तिलाई पार्टी एकता नरुचेको टिप्पणी गरे ।

थापाले जनयुद्ध र पूर्वमाओवादी पंक्तिप्रति बेला–बेला आलोचनात्मक अभिव्यक्ति दिने गरे पनि जनयुद्धको उद्गमथलोमै पुगेर जनयुद्ध दिवसको ब्यानरप्रति आपत्ति जनाएका कारण शर्मासहितका पूर्वमाओवादी नेताहरु आक्रोशित बनेका हुन् ।

अन्यत्र जुन ब्यानरमा कार्यक्रम गरिए पनि रुकुममा जनयुद्ध दिवस नै मनाइने नेताहरुले बताए ।

त्यसअघि थापासहित गोरख बोगटी, विष्णु रिजाल, निरज आचार्यलगायतका नेताहरुले माओवादीबाट मारिएका तत्कालीन एमालेका नेता यदु गौतमको शालिकमा पुगेर माल्यार्पण गरेका थिए । जबकी उनीहरुसँग पूर्वमाओवादीका नेता कोही गएनन् ।

यसले पनि जनयुद्धको ब्याख्या विश्लेषण गर्ने विषय नेकपामा निकै पेचिलो बन्ने बुझ्न सकिन्छ ।

नेकपा स्रोतका अनुसार रुकुमको चौरजहारीमा भएको शर्मा र थापाबीचको सवाल–जवाफको जानकारी अध्यक्ष प्रचण्डले समेत पाएका छन् ।

शर्मा चौरजहारीको सो कार्यक्रमबाट पार्टीको कर्णाली भेलाको आयोजना गर्न सिधै सुर्खेत पुगेका थिए । प्रचण्ड, माधव नेपाल, विष्णु पौडेललगायतका नेता मंगलबार सुर्खेत पुगेका बेला यसबारे चर्चा भएको स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘पटक–पटक सूर्य थापाले आपत्तिजनक अभिव्यक्ति दिइरहेकाले हामीले अध्यक्षको गम्भीर ध्यानाकर्षण गराएका छौं । उहाँले सम्भवतः प्रधानमन्त्री तथा अर्का अध्यक्षसँग कुरा गर्नुहुन्छ । बालुवाटारमा बसेर पार्टीका अर्का अध्यक्षविरुद्ध मनपरी बोल्न र लेख्न छुट छैन ।’

यद्यपि थापाले भने आफूले पार्टीको घोषित नीति र निर्णय विपरीत कुनै कुरा नबोलेको बताएका छन् । पार्टीले जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय गरेकाले सबै कमिटीमा सोही निर्णय लागु हुनुपर्ने र त्यसविपरीतका ब्यानर तथा कार्यक्रम हुन नहुने आफ्नो मत व्यक्त गरेको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment