नेपाली कांग्रेस भर्खरै विभाजन भएको थियो । विभाजित पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति थिए, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । उनी संगठन विस्तारका लागि देशव्यापी दौडाहामा थिए । २०५९ भदौ ७ गते कञ्चनपुरमा आमसभा थियो । देउवा आमसभा सकेर साँझ धनगढी पुगे । भोलिपल्ट भदौ ८ गते बिहान कार्यकर्ताहरूसँग भेटघाट गरे । खाना खाए । र, अपराह्न ४ बजे नेपालगञ्ज पुग्ने योजना सहित दिउँसो एक बजे धनगढीबाट निस्किए ।
राजा ज्ञानेन्द्रले सत्ताच्युत गरेका देउवालाई सरकारले गाडी दिएको थिएन । उनको सुरक्षाको प्रबन्ध पनि गतिलो थिएन । देउवा आफ्नै टोयोटा ल्याण्डक्रुजर गाडीमा सवार थिए । गाडीमा उनीसँगै चालक र दुई जना अंगरक्षक थिए ।
देउवाको गाडीलाई प्रहरीले स्कर्टिङ गरिरहेको थियो । सडक विभागको त्यो अगुवा पिकअप गाडीमा सात जना प्रहरी थिए । त्यो गाडी पनि मुश्किलले मिलेको थियो । प्रमुख जिल्ला अधिकारीले त्यसअघि पछाडि त्रिपाल भएको गाडी पठाएका थिए । देउवाका अंगरक्षक प्रहरी नायव निरीक्षक (सई) रामजी कटुवालले त्यो गाडी फिर्ता गर्न लगाएर सडक विभागको गाडी मगाएका थिए । त्यही गाडीमा प्रहरी थियो ।
धनगढीबाट हिंडेको ४५ मिनेटपछि देउवा चढेको गाडी पहलवानपुरको आमखैया पुग्यो । बाटोमा माओवादी जनमुक्ति सेनाका ७/८ जना लडाकु कम्ब्याट डे«समा थिए । उनीहरू गाडी रोक्ने उद्देश्यले सडकमा उभिएका थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पहलवानपुर र मसुरियाको बीचमा पर्ने आमखैयाको त्यो भूगोल सडकमा गुड्ने गाडीमाथि आक्रमण गर्न सहज थियो । दुवैतिर डाँडा थिए । त्यसमाथि जंगल । बीचमा बाटो । देउवाका अंगरक्षक कटुवाललाई डाँडाको दुवैतिर जंगलमा माओवादी लडाकुहरू पहिलेदेखि नै आक्रमणको तयारीमा बसेको अनुमान गर्न गाह्रो भएन । उनले डाँडामा त्रिपटमा एलएमजी तयारी अवस्थामा राखेको देखिहाले । गाडीको गति प्रतिघण्टा १०० किमिभन्दा बढी थियो । त्यसलगत्तै गाडीको गति थप बढाउन चालकलाई भने । गाडी रोक्ने प्रयास सफल नभएपछि माओवादीहरूले सडकको दुवैतिरको डाँडाबाट एकसाथ एलएमजीले फायर खोले । गोली लागेर प्रहरीको गाडीका पछाडिका दुवै पांग्रा पञ्चर भए । रिङका भरमा प्रहरीको गाडी अघि बढ्यो । त्यसपछि उनीहरूले देउवा चढेको गाडीमा अन्धाधुन्ध आक्रमण गरे । देउवा चढेको गाडीमा तीन वटा गोली लागे ।
एउटा गोली अगाडिको बोनटमा । एउटा पछाडिको दायाँतिरको बत्तीमा । तेस्रो गोली बायाँ भागको अगाडिको टायरको माथिल्लो भागमा । सबै गोली गाडीको मेटलमा लागेर झरे । गाडीमा खासै क्षति भने भएन । गाडीमा गोली लागेको आवाज आइरहेको थियो । देउवाले गाडीमा ढुंगाले आक्रमण गरेको हो कि भनेर कटुवाललाई सोधे ।
अगाडिको गाडीमा रहेका प्रहरीले सुतेर फायर खोले । अन्धाधुन्ध फायर गर्दै प्रहरीको गाडी अघि बढ्यो । माथिबाट माओवादीको आक्रमण जारी थियो ।
माओवादी आक्रमणबाट जोगाउन सई कटुवालले देउवाको सिट पछाडि सारे । एकातिरबाट कटुवालले र अर्कोतिर अर्का अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) बाबुकाजी खड्काले देउवाको बडी कभर गरे । घटनास्थल, आक्रमणको पूर्व तयारी र त्यहाँ तैनाथ माओवादी लडाकुहरूको उपस्थिति र आक्रमणको प्रकृति हेर्दा माओवादीले मार्ने नियतले देउवामाथि आक्रमण गरेका थिए । उहाँ (देउवा) लाई जोगाएर हामी त्यहाँबाट निस्किन सफल भयौं- कटुवालले त्यो घटना सम्झिंदै भने, उहाँलाई हामीले यसरी कभर गरेका थियौं कि हामीलाई छेडेर मात्र गोली उहाँलाई छुन सक्थ्यो ।
गोली लागेर पांग्रा क्षत-विक्षत भएपछि प्रहरीको गाडीको गति कम भयो । त्यसलाई पछाडि छाडेर देउवाको गाडी अघि बढ्यो । त्यस्तै अवस्थामा प्रहरीको गाडी पनि आमखैयाबाट निस्कियो । प्रहरीको गाडीलाई पछाडि छोडेर देउवाको गाडी अगाडि बढ्यो । जंगल पार गरेपछि देउवा चढेको गाडी रोकियो । केहीबेरमै प्रहरीको गाडी आइपुग्यो । प्रहरीको गाडी अघि बढ्न सक्ने अवस्थामा थिएन । चालकले जसोतसो गाडी त्यहाँ पुर्याएर सबै प्रहरीलाई जोगाएका थिए । सई कटुवालले त्यो गाडीमा रहेका सात जना प्रहरीलाई देउवाको गाडीमा चढाए । र, चालक प्रेमले गाडी हुँइक्याएर सुख्खडस्थित सुरक्षाफौजको बेसक्याम्पभित्र पुर्याए । त्यहाँ पुग्दा करीब अढाइ बजेको थियो । देउवाको गाडी सुख्खड पुग्दा उता माओवादीले सडकमा छोडेर आएको प्रहरीको गाडीमा आगजनी गरे ।
सशस्त्र प्रहरीमा कार्यरत प्रेम खत्री देउवाको गाडी चालक थिए । अनुभवी खड्काले आक्रमणका बीच संयमता गुमाएनन् । सुझबुझ तरिकाले गाडीलाई नियन्त्रणमा लिंदै सुरक्षित रूपमा सुख्खड पुर्याए-कटुवालले भने, बल्ल हामी सबै जोगियौं ।
धन्न केही भएन– कटुवाल भन्छन्, त्यति ठूलो आक्रमण हुँदा पनि देउवा आत्तिएका थिएनन् । सई कटुवालसँग प्रहरीको वाकीटाकी सेट त थियो तर जंगलमा सेटले काम गरेन । जस कारण कटुवालले माओवादी आक्रमणको जानकारी माथिल्लो तहलाई दिन सकेनन् ।
सुख्खडबाट सई कटुवालले प्रमुख जिल्ला अधिकारीलाई देउवामाथि माओवादीले आक्रमण गरेको जानकारी दिए ।
त्यसपछि कटुवालले देउवा सुरक्षित रहेको जानकारी दिन घरमा सम्पर्क गरे । देउवा पत्नी डा. आरजू राणा पर्वतको कार्यक्रममा रहेकोले सम्पर्क हुन सकेन । उनले देउवाका साला भूषण राणालाई घटनाको जानकारी दिए । साँझ ७ बजेपछि पत्नी आरजूसँग देउवाको कुरा भयो ।
युद्धविरामको समय थियो । त्यसमाथि देउवालाई राजा ज्ञानेन्द्रद्वारा सत्ताच्युत गरिएको थियो । सत्तामा नभएको अवस्थामा माओवादीले आक्रमण गर्छन् भन्ने रत्तिभर आशंका थिएन । त्यस कारण सामान्य सुरक्षा प्रबन्धमै देउवा धनगढीबाट नेपालगञ्जका लागि हिंडेका थिए । राजाको प्रत्यक्ष शासन थियो । पूर्व प्रधानमन्त्री देउवाको सुरक्षामा सरकार कति हदसम्म उदासीन थियो भने उनलाई चढ्न सरकारी गाडीसम्म उपलब्ध गराएको थिएन । त्यस कारण देउवाले काठमाडौंबाट आफ्नै टोयोटाको ल्याण्डक्रुजर मगाएका थिए ।
देउवा राति सुख्खडमा बस्न तयार थिएनन् । उनले सई कटुवाललाई राति नेपालगञ्ज बास बस्ने सुनाए । तर कटुवालले माओवादीले फेरि आक्रमण गर्दैनन् भन्ने ग्यारेण्टी नभएकोले ढुक्क भएर नेपालगञ्ज जान सक्ने अवस्था नरहेको बताए ।
देउवा आक्रमणको खबर डढेलो झैं फैलिइसकेको थियो । प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा घटनाको जानकारी गराए । मध्यपश्चिम प्रहरी प्रमुख (डीआईजी) हेमबहादुर गुरुङ थिए । सई कटुवालले हेलिकप्टरका लागि गुरुङसँग आग्रह गरे । तर सरकार सेनाको हेलिकप्टर पठाउन तयार थिएन । निजी हेलिकप्टर सुरक्षाको जोखिमका कारण उड्न तयार नभएको भन्दै डीआईजी गुरुङले हेलिकप्टर आउन नसक्ने जानकारी दिए ।
नेपाली सेनाका प्रमुख प्रज्ज्वलशमशेर जबराले फोन गरेर आक्रमण र सुरक्षा अवस्थाका बारेमा जानकारी लिए । र, लगत्तै सुख्खडमा एन्टी माइन भेहिकल पठाउन लगाए । देउवा त्यही भेहिकलमा नेपालगञ्ज जान तयार भए । तर त्यसमा प्रहरीको टीम अट्दैनथ्यो । देउवा सुख्खडमा बस्ने मूडमै थिएनन् । त्यहाँबाट मूभ हुन चाहन्थे । तर कटुवालले तत्काल मूभ हुनु राम्रो नहुने सुझाए ।
देउवाले भोलिपल्ट दाङको तुलसीपुरमा आयोजना हुने नेपाली कांग्रेस (प्रजातान्त्रिक) को आमसभालाई सम्बोधन गर्ने तय थियो । त्यहाँ नजाने हो भने डराएर देउवा आएनन् भन्ने सन्देश जाने र कार्यकर्ता निराश हुने उनको चिन्ता थियो ।
त्यो रात देउवा सुख्खडमै बास बसे । उनको सुरक्षाका लागि त्यहाँ थप सुरक्षाफौज तैनाथ गरियो । भोलिपल्ट बिहान रक्षा सचिवले हेलिकप्टर पठाए । त्यही हेलिकप्टरमा देउवा नेपालगञ्ज गए । नेपालगञ्जमा खाना खाएर देउवा हेलिकप्टरमै दाङको तुलसीपुर पुगे । र, त्यहाँ पार्टीको आमसभालाई सम्बोधन गरेर काठमाडौं फर्किए ।
देउवाभन्दा केही पछाडि अर्को गाडीमा प्रजातान्त्रिकका विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रदीप गिरी लगायतका सिनियर नेताहरू थिए । देउवामाथि आक्रमण भएको जानकारी पाएपछि उनीहरू वनबेहडास्थित सशस्त्र प्रहरीको बडिमालिका गणमै रोकिए । र, त्यो रात उनीहरू त्यहीं बास बसे । भोलिपल्ट उनीहरू पनि नेपालगञ्ज हुँदै तुलसीपुर पुगे ।
साँझ माओवादीका सुदूरपश्चिम इञ्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’ले विज्ञप्ति जारी गर्दै देउवामाथि आक्रमण गर्ने कुनै योजना र निर्णय नभएको र भूलवश देउवामाथि आक्रमण भएको भन्दै क्षमा मागे ।
‘प्रहरी निशानामा थियो, भूलवश देउवा परे’
युद्धविरामको समय थियो । त्यही बेला घर आएका चार जना माओवादी कार्यकर्ताहरू मसुरियाको बढैपुरमा प्रहरीको आक्रमणमा मारिए । उक्त घटनापछि माओवादी प्रहरीसँग क्रूद्ध थियो । उसले योजना बनायो, ‘हत्याको बदला हत्या’ । प्रहरीलाई त्यसरी नै मार्ने, जसरी आफ्ना साथीहरूलाई प्रहरीले मार्यो ।
प्रहरीको बाटो ढुकेर केही दिनदेखि माओवादी जनमुक्ति सेनाको बटालियन मसुरिया, पहलवानपुर क्षेत्र आसपासमा थियो । बटालियन कमाण्डर थिए, विजय केसी । उनको टीमले प्रहरीको टोली अत्तरियाबाट पूर्वतर्फ आइरहेको सूचना पायो । प्रहरीलाई आक्रमण गर्ने योजना पहिलेदेखि बनाइरहेको माओवादीले आक्रमणका लागि स्थान रोज्यो, पहलवानपुरको आमखैया जंगल ।
मसुरियाबाट पहलवानपुर नपुग्दै बाटोमा पथ्र्यो, आमखैया । बाटोको दुवैतर्फ डाँडा थिए । डाँडाबाट सडकमा गुडिरहेको गाडीमाथि आक्रमण गर्न सजिलो हुने माओवादीले आकलन गरे । र, दुवैतर्फको डाँडामा आक्रमणको तयारी गरेर माओवादी लडाकुहरू प्रहरीको गाडी कुरिरहे ।
दिउँसो करीब पौने दुई बजे प्रहरीको गाडी आइपुग्यो । एउटा टोलीले बाटोमा गाडीलाई रोक्न खोज्यो । तर गाडी रोकिएन । त्यसपछि भने डाँडामा रहेका माओवादी लडाकुहरूले एलएमजीले फायर खोले । माओवादीले प्रहार गरेको गोली लागेर अगाडि रहेको गाडीका पछाडिका दुवै पांग्रामा क्षति पुग्यो । चालकले नियन्त्रण नगुमाई गाडीलाई हुँइक्याए । त्यसपछि उनीहरूले पछाडिको गाडी आक्रमण गरे । पछाडिको गाडी यति तीव्र गतिमा हुँइकियो कि, गोली छलेर गाडी अघि बढ्यो । तर तीन वटा गोली भने गाडीमा लागे । गाडीको मेटलमा लागेका ती गोलीले क्षति पुर्याउन भने सकेन ।
प्रहरीलाई एम्बुसमा पार्न गरिएको पूर्व तयारी सफल नभएकोमा माओवादी लडाकुहरू खिन्न थिए । उनीहरू आफ्ना साथीहरूको हत्याको बदला लिन त्यहाँ प्रहरीलाई ढुकेर बसेका थिए ।
जब साँझ पर्यो सबैतिर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामाथि कैलालीको आमखैयामा माओवादीद्वारा आक्रमण गरिएको समाचार आयो । तब भने हामी झस्कियौं, आक्रमणमा संलग्न कमाण्डर केसीले भने, हामीले प्रहरीलाई आक्रमण गर्ने योजना बनाएका थियौं । तर भूलवश पूर्व प्रधानमन्त्री देउवा चढेको गाडीमाथि आक्रमण गरेछौं ।
हाम्रो इन्टेलिजेन्सले हामीलाई प्रहरी आइरहेको सूचना दिएको थियो, त्यही सूचनाका आधारमा हामी आमखैयामा आक्रमणका लागि तयारी अवस्थामा बसेका थियौं, केसीले भने, जब प्रहरीको गाडी आयो तब हामीले डाँडाबाट एलएमजीले आक्रमण गर्यौं । गोलीले गाडीमा क्षति पुगे पनि चालकले नियन्त्रण नगुमाई गाडी हुँइक्याएर लगे । र, मानवीय क्षति हुन पाएन ।
हामीलाई प्रहरीले पूर्व प्रधानमन्त्रीको गाडी स्कर्टिङ गरिरहेको थाहै भएन । हाम्रो सूचना संयन्त्रको भरपर्दा त्यो घटना हुनगयो । न त देउवामाथि हाम्रो आक्रमण थियो; न माओवादी पार्टीको त्यस्तो योजना र निर्णय नै थियो ।
हाम्रो आक्रमणमा देउवा परेको कुरा हामीले पछि मात्र थाहा पायौं । धन्न उनलाई केही भएन, रकेट लञ्चर राख्ने उपर्युक्त स्थान नभेट्टाएका कारण एलएमजीले आक्रमण गरेका थियौं, केसीले भने, रकेट लञ्चरले आक्रमण गरेको भए गाडीमा रहेका कोही पनि जोगिंदैनथे ।
देउवामाथि आक्रमण नियोजित थिएन । त्यो भूलवश भएको घटना थियो-केसीले सुनाए, त्यही कारण साँझ सुदूरपश्चिम ब्युरो इञ्चार्ज पोष्टबहादुर बोगटीले भूलवश देउवामाथि आक्रमण भएको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागे ।
(पत्रकार उपाध्यायको पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ बाट)
प्रतिक्रिया 4