
१६ फागुन, काठमाडौं । कमिसन मागिएको भनिएको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विजयप्रकाश मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा लिएर जिल्ला अदालत काठमाडौं गएका छन् ।
मिश्र त्यही व्यक्ति हुन्, जसले आफूसँग बास्कोटाले कमिसन मागेको भन्दै अडियो सार्वजनिक गरेका थिए । त्यही अडियो सार्वजनिकपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यो अडियोमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै उनले शुक्रबार गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।
वारिसमार्फत अदालतमा दर्ता फिराद पत्रका बास्कोटाले मिश्रसँग भेट भएको मात्र स्वीकार गरेका छनन्, नाजायज (कमिसन)को प्रस्ताव आएको स्वीकार गरेका छन् ।
तर उनको प्रस्ताव स्वीकार नगरेको बताएका उनले भनेका छन्, कथित अडियो टेपमा कुनै सत्यता छैन । रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन ।’
बास्कोटाको फिराद पत्रमा मुख्य बुँदा यस्ता छन्ः
१. विजयप्रकाश मिश्रले झुठा प्रमाण सिर्जना गरी मसँग भएको भनिएको कथित अडियो टेप ७ फागुनमा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रसारण गराई मलाई बेइज्जत गर्ने कार्य गरेको ।
२. फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराउने उद्धेश्यले मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातीलाई होच्याउने काम गरेको ।
३. सुरक्षण मुद्रण सम्बन्धी जानकारी दिने भन्दै विजयप्रकाश मिश्रले मलाई भेट गरेका हुन । उनले मसँग भेट गर्न आउँदा केबीए–नोटासिस एसए (स्वीटजरल्याण्ड)को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए ।
४. मिश्रद्वारा सिर्जित कथित अडियो टेपमा कुनै सत्यता छैन । रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन ।
५. सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामा वाहके कथंकदाचित प्रतिवादीसंग कुनै कुराकानी भएको, छलफल भएको रहेछ भने पनि त्यसलाई मेरो मञ्जुरी विना यान्त्रिक उपकरणको प्रयोग गरी ध्वनी अंकन गर्नु र त्यसलाई प्रशारण गर्नु गराउनु मुलुकी अपराध संहिता विपरीत छ ।
६. मिश्र जस्ता विभिन्न कम्पनीका कमिशन एजेण्टहरुले वदनियत साथ आफ्नो निहित तुच्छ स्वार्थ पुरा गराउन नेपाल राज्य विरुद्ध समेत काम गर्ने गरेको देखिएपछि मैले सुरक्षण मुद्रण सम्वन्धि कार्य सरकार–सरकार विच मात्र खरिद गर्ने विधि अवलम्वन गर्नु राष्ट्रको हितमा हुने भएकोले सोही प्रकृया अगाडि वढाएको थिए ।
७. मलाई फसाउने उद्देश्यले रचिएको प्रपंच हो भन्ने कुरा यस सम्वन्धमा मैले लिएको निर्णय र कार्यवाट नै स्पष्ट भै सकेको छ । सरकार–सरकारबीच मात्र खरिद गर्ने विधि अवलम्वन गर्ने मैले निश्चय गरेपछि परराष्ट्र मन्त्रालय मार्फत २२ नोभेम्बर २०१८ मा मित्र राष्ट्र स्वीटजरल्याण्डको दुतावासलाई सुरक्षण मुद्रण पुर्वाधार निर्माणका लागि पत्राचार भएको थियो । दूतावासवाट १९ डिसेम्वर २०१८ मा बठैक बस्ने भनिएको भएता पनी स्वीजरल्याण्ड सरकारबाट सुरक्षण मुद्रण पुर्वाधार स्थापना सम्बन्धमा कुनै जवाफ प्राप्त नभएको हुँदा सो वैठक भएन ।
८. मिश्रले नेपालका संचार माध्यममा अन्तर्वार्ताको क्रममा व्यक्त गरेको र प्रतिवादीले प्रशारण तथा प्रकाशन गराएको कुराले नेपालसंग लामो कुटनैतिक सम्वन्ध रहेको मित्रराष्ट्रहरू जर्मन तथा फ्रान्सलाई राज्यको तहवाट नै भ्रष्टाचारमा संलग्न मुलुकको रुपमा चित्रण गर्ने दुस्प्रयास गरेका छन् ।
९. मिश्रले नेपालका संचार माध्यममा अन्तरवार्ताको क्रममा व्यक्त गरेको र प्रतिवादीले प्रशारण तथा प्रकाशन गराएको कुराले नेपालसंग लामो कुटनैतिक सम्वन्ध रहेको मित्रराष्ट्रहरू जर्मन तथा फ्रान्सलाई राज्यको तहवाट नै भ्रष्टाचारमा संलग्न मुलुकको रुपमा चित्रण गर्ने दुस्प्रयास गरेका छन् ।
१०. मुलुकी अपराध संहिताको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेकाले ऐनको दफा २९३ (२), दफा ३०५ (३) र ३०७ (१) अनुसार हदैसम्म सजाय गर्नुपर्ने, क्षतिपूर्ति भराउनु पर्ने र यो मुद्दा लड्दा लागेको खर्च मिश्रबाट भराउनुपर्ने ।
हेर्नुस् बास्कोटाको फिरादपत्र
प्रतिक्रिया 4