
२१ फागुन, काठमाडौं । लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट कृषि विकास बैंकको सञ्चालक नियुक्त भएका उनी सञ्चालक समितिको बैठकबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
उनले बुधबार नै गभर्नर डा. चिरञ्जीवि नेपालबाट पद तथा गोपनियताको सपथ समेत लिएका छन् । गत माघमा अवकास पाएका उनी मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशकको रुपमा लामो समय काम गरे ।
निरौलाले ०४६ माघ ८ गते राष्ट्र बैंकको नोकरी सुरु गरेका थिए । उनी ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।
गत १८ कात्तिकमा नेपाल राष्ट्र बैंकले आफ्नै डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि विभिन्न आरोपमा छानविन गर्दा निरौलाको नाम नयाँ डेपुटी गभर्नरको रुपमा आउन सक्ने चर्चामा थियो ।
राष्ट्र बैंकमा उनी अन्य कार्यकारी निर्देशक भन्दा वरिष्ठ भएकाले स्वभाविक पनि थियो । तर, मन्त्रिपरिषदले श्रेष्ठलाई क्लीन चिट दिएसँगै निरौलाको डेपुटी गभर्नर बन्ने सम्भावना सकिएको थियो । नेकपा निकट मानिएका निरौलाले अवकास लगत्तै सरकारी बैंकको अध्यक्ष हुने सौभाग्य पाएका छन् ।
प्रतिक्रिया 4