Comments Add Comment

जहाँ नारीलाई पूजिन्छ, त्यहाँ देवता खुसी हुन्छन् !

यत्र नार्यस्तु पूज्यन्ते तत्र रमन्ते देवता । मनुस्मृतिमा भनिएको छ, जहाँ नारीलाई पूजिन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् ।

नारीलाई पुज्नुको अर्थ, नारीलाई सम्मान दिनुको अर्थ मातृत्वको कदर गर्नु हो । सृष्टिप्रति अहोभाव प्रकट गर्नु हो । हाम्रै छोरी, आमा, दिदीबहिनी, भाउजूहरू, श्रीमती, प्रेमिका, चेलीबेटीप्रति प्रेमभाव दर्शाउनु हो ।

महिलालाई प्रकृतिले नै किन मातृत्वको गुण दिनुको अर्थ अस्तित्वले नै महिलालाई सम्मान गरेको छ । सृष्टिका लागि अस्तित्वले सबैभन्दा ठूलो अधिकार दिएको छ । सर्वोच्च अस्तित्व दिएको छ ।

बिडम्बना, आज महिलाहरू आफ्नो सुरक्षाका लागि, सशक्तीकरणका लागि र अवसरका लागि सडकमा नारा लगाउँदै, संविधानमा आफ्नो हक, अधिकार र अस्तित्व खोज्न बाध्य हुनुपरेको अवस्था छ । छोरीलाई पनि स्कूल पठाउँ भनेर माग गर्नुपरेको छ । महिनावारी हुँदा छाउपडीको संस्कारमा बाँधिनु परेको छ ।

छाउगोठ भत्के पनि ती क्षेत्रका महिलाहरूको मनस्थितिमा पापको डरले छोड्न सकेको छैन । पाप बेहोर्न डराउँछन् महिलाहरू । त्यसैले छाउगोठ नभत्काएकै बेस मान्दछन् । यसमा उनीहरूको के दोष ? हामीले दिएकै शिक्षा र संस्कार त्यही थियो ।

महिला महिनावारी नभए सृष्टि रोकिन्छ । तर, महिला महिनावारी हुनु घोर पाप हो भन्ने कुरीति कसले फैलायो होला ? आजको परिस्थितिमा छाउगोठ भत्काउनु भन्दा किन छाउगोठ आवश्यक छैन, महिनावारी के हो ? पाप के हो ? धर्म के हो ? भन्ने चेतनामूलक शिक्षा दिनु जरूरी छ । बाहिरका अन्तर्राष्ट्रिय संघ संस्थाहरु आएर छोरी पढाउने, छाउगोठ भत्काउने आयोजना लागू गर्नुपर्ने अवस्था जगजाहेर छ ।

केही प्रतिशत शिक्षित परिवारमा बाहेक महिलालाई हेर्ने दृष्टिकोण दोस्रो तहको छ । त्यो सहरमा होस् या पिछडिएको दुर्गम क्षेत्रमा । महिलालाई प्रथम स्थान दिनुपर्दा पुरूष अहंकारमा बडो ठूलो चोट पर्छ ।

आफ्नै सृष्टिलाई कसले विभेद गर्छ ? आफ्नै नारीलाई कसले दोस्रो दर्जामा थन्क्याउन चाहन्छ ? कसले हिंसा गर्न सक्छ ? अहँ सक्दैन । तर, यहाँ महिलामाथि हुने हिंसा, अत्याचार, बलात्कार, बोक्सीको आरोप, दाइजो नल्याएको निहुँमा हत्या, घरेलु हिंसा र यातना दिने जस्ता घटनाले गर्दा सारा पुरूषहरूप्रति नकारात्मक धारणा बनेको छ ।

महिलामाथि अत्याचार उसले गर्छ, जसमा विवेक छैन, प्रेम छैन, प्रज्ञा छैन अनि आवश्यक मात्रामा हुनुपर्ने चेतनायुक्त शिक्षा छैन । अरूलाई कष्ट पुर्‍याएर आफू मस्ती लिउँ भन्ने नकारात्मक भावनाले भरिएकाहरूले मात्र महिलामाथि हिंसात्मक कार्य गरिरहेका हुन्छन् । समस्या परिस्थितिमा होइन, ती हिंस्रक व्यक्तिको मनस्थितिबाट उब्जेको हुन्छ । त्यसैले चेतनाहीन व्यक्तिहरूलाई चेतना जागृत शिक्षा दिएर मानव बनाउन सके जहाँ र जहिले पनि नारी जातिको सम्मान हुनेछ ।

जहाँ मातृत्वको कदर गरिन्छ, त्यहाँ अत्याचारले स्थान लिन सक्दैन । जब अत्याचार समाप्त भएर जान्छ, चेतनाले काम गर्न थाल्छ, तब यो विश्वमा शान्ति र प्रेम फैलिनेछ । अन्यथा यो युद्ध, हिंसा, अराजकता रोकिने छैन । किनकि अत्याचार, हिंसा, अराजकता भनेको प्रेमको अभाव हो । माधुर्य र सौन्दर्यको अभाव हो । र, त्यो अभावलाई निर्मूल गर्ने शक्ति नारीसँग छ ।

सहनशीलता, प्रेम, माधुर्य, प्रज्ञा, करूणा सबै आमामा छ, ती शिक्षित हुन् या अशिक्षित । त्यसै भनिएको छैन, नारी पृथ्वी (सहनशील, धैर्यता ) हुन् भनेर । त्यसै भनिएको छैन, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् भनेर ।

त्यसैले नारी हृदयलाई स्थान दिएर व्यवस्थापनका पहलहरु गरिएमात्र राष्ट्रमा विकास, समृद्धि र शान्ति सम्भव छ । तर, विडम्बना, आज तिनै सृष्टिकर्ता, जननी, आमा अर्थात् महिला आफ्नै सृष्टिद्वारा हिंसामा परेकी छन् । अनि, भिख मागिरहेकी छन् महिलाहरुका लागि एक हिंसा मुक्त संसारको सिर्जना गरिदेऊ भनेर ।

तिनै सृष्टिकर्ताको आवाज लिएर आज ‘महिला हिंसा अन्त्य गरौँ ‘ भन्ने आवाज चर्काउँदै लाखौँ महिला तथा पुरुष एकसाथ सडकमा उत्रिनु परेको छ ।

महिला हिंसाविरुद्धको अभियानमार्फत अधिकारकर्मी लगायत विभिन्न क्षेत्रका महिला तथा पुरुष समाजबाट महिला हिंसा अन्त्य हुनुपर्ने प्लेकार्ड बोकेर प्रधानमन्त्री निवासदेखि, माइतीघर मण्डला र सडक सडकमा र्‍यालीको आयोजना गरी सहभागी हुनुपरेको छ । महिला हिंसा अन्त्य गर्न कानुन ल्याउनुपर्ने माग गर्नुपरेको छ ।

हिंसामा संलग्न हुने ती सन्तानहरुलाई पनि कुनै आमाले जन्म दिएकी हन् । कुन संस्कारले ती सन्तानहरुलाई आफ्नै जननीमाथि हिंसा गर्न प्रेरित गर्छ ? कुन आचरण र व्यवहारले त्यो कुकार्य उसले गर्न सक्छ ?

कुनै आमाको सन्तानले आफ्नी आमा, दिदीबहिनीमाथि हिंसा पुर्‍याउँदा उसको मन मस्तिस्कले कसरी सहयोग गर्न सक्छ ? यसको एकमात्र कारण हो, जब मानिसलाई होस हँुदैन, पूर्ण बेहोसीको अवस्थामा पुग्छ, स्वविवेकले काम गर्न छोड्छ, असहज हुन्छ, अनि हिंसाजस्ता अराजक कार्यमा ऊ फस्छ ।

एक होसपूर्ण, प्रज्ञापूर्ण व्यक्ति, प्रेमपूर्ण व्यक्तिले हिंसा गर्नै सक्दैन । आफ्नो स्वभावमा रहने सहज व्यक्ति सधैं प्रेमपूर्ण र करूणावान हुन्छ । त्यसैले मानिसमा जबसम्म व्यवहारिक शिक्षाको ज्ञान हुँदैन, तबसम्म बाहिरको आन्दोलनले, बाहिरको प्रयासले हिंसा र अराजकता निर्मूल हुने देखिएन ।

मानिसमा भित्रबाट ज्ञान नखुल्दासम्म उसको आचरण, बानी व्यववहारमा परिवर्तन आउँदैन । त्यसैले प्रेमपूर्ण घर, प्रेमपूर्ण समाजको निर्माण हुनसके मात्र राष्ट्रले शान्ति पाउँछ, समृद्धिको अनुभूति हुन्छ ।

मानिस स्वयं शान्त प्राणी हो । शान्ति उसको स्वाभाव हो । शान्ति मानिसभित्रै छ । मानिस बाहिर भडि्करहेको छ । बाहिर खोजिरहेको छ । शान्ति कसैमा खोज्दैछ । प्रेम, प्रतिष्ठा कसैबाट पाउन चाहन्छ । आनन्द खुसी अरुबाट मिल्ने कुरा हो भन्ने सोचेको छ । त्यसैको परिणाम आज समाजले र राष्ट्रले भोग्नुपरेको छ । यो कुराको ज्ञान हामी व्यक्ति-व्यक्तिमा, हाम्रो घर-घरमा नआउँदासम्म हिंसा कायमै रहिरहनेछ ।

आज हाम्री घरकी आमामात्र हिंसामा परेकी छैनन्, हाम्री जननी जन्मभूमिमाथि पनि हिंसा भैरहेको छ । आज राष्ट्रको अराजकता देख्दा, केही वर्ग राजकीय ठाँटमा र अरू सामान्य जनताले मानवीय हीनतावोध गर्नुपर्ने अवस्था रहँदा विभेद त यहीँ छुट्टएिको आभाष हुन्छ ।

निम्नवर्गीय जनतामा गरिवी, अशिक्षा र भौतिक पूर्वाधारका निम्नतम आवश्यकतासमेत नपुग्दा महिलाहरुका लागि एक हिंसामुक्त संसारको सिर्जना गरिदेऊ, नारीलाई सम्मान देऊ भन्ने आवाजमात्र होइन, हाम्री जननी जन्मभूमिलाई पनि अस्थिरताबाट मुक्त गरिदेऊ भन्ने आवाज उठाउनुपरेको छ ।

नारी अस्य समाजस्य कुशलवास्तुकारा अस्ति । अर्थात् नारी नै शक्ति हुन् । नारी नै मुक्ति हुन् । यो भक्तिभाव जब सबै मानिसमा जाग्न सक्छ, तब नारी शक्तिको पहिचान र ममता अनि सम्मान बढ्छ । जसको परिणाम घर, समाज र राष्ट्रमा सकारात्मक, प्रेमपूर्ण, पूर्णताको समृद्धि मिल्नेछ ।

नारी अस्य समाजस्य कुशलवास्तुकारा अस्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment