+
+

हास्य र गाम्भीर्यको सिम्फोनी 

निर्भीकजंग रायमाझी  निर्भीकजंग रायमाझी 
२०७६ चैत २ गते १६:२५

‘अध्ययन गर्दा कहिल्यै मर्दिनँ भन्ने भावना राख, तर व्यवहार गर्दा भोलि मर्छु भन्ने सम्झ ।’

अब्राहम लिंकनको यो भनाइ डीपी भण्डारीको जीवनसँग निकै मिल्छ । पूरा ८४ वर्षको अध्ययनशील जीवन व्यतित गरेका यी प्राध्यापकले ‘कहिल्यै नमर्ने’ सम्झेर अध्ययन गरे ।

विद्यार्थीकालमा मात्र होइन प्राध्यापक भइसक्दा पनि निरन्तर अध्ययन गर्ने उनको बानी सबैका लागि अनुकरणीय बन्यो ।

गुरुकुलीय शिक्षा परम्पराबाट आधुनिक शिक्षा पद्वतिहुँदै बौद्धिक कर्मको उचाइमा पुगेका भण्डारीले शनिबार (१ चैत २०७६) मा नश्वर देह त्याग गरेका छन् ।

२०३६ सालदेखि चार वर्ष भण्डारीको विद्यार्थी रहेका प्राध्यापक श्रीधर गौतम भण्डारी सरले पढाउँदा भनेका कुरा आज पर्यन्त नबिर्सेको बताउँछन् । त्यतिबेला अंग्रेजी विभागमा बहुल कक्षा लिने प्रा. भण्डारी बीचबीचमा अनेक जोक्स–किस्सा सुनाउँदै विद्यार्थीलाई पश्चिमा साहित्यका बोझिला सिद्धान्त–दर्शनलाई वोधगम्य बनाइदिन्थे ।

‘एउटा दार्शनिकमा हुने गुणहरु भएका डीपी सरसंग नभएको कुरा भनेको ज्ञानको दम्भ थियो’, चार दशकअघिको कक्षाकोठा र त्यसपछिको संगत सम्झँदै गौतम भन्छन्, ‘उहाँमा रमाइला प्रसंग जोडेर गम्भीर बिषय बुझाउने अतुलनीय खुबी थियो ।’

शनिबार आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि श्रीधर लोहनी, अभि सुवेदी, श्रीधर गौतम, कपिल श्रेठलगायतका प्राध्यापकहरुबीच स्वर्गीय भण्डारी जोडिएका प्रसंगहरुको चर्चा भयो ।

२९ अक्टोबर १९३६ मा डोटीको निरोलीमा जन्मिएका दुर्गाप्रसाद भण्डारी शिक्षाराम्भ गाउँमै ब्राह्मण गुरुहरु सुरु भयो । पछि भारतको जवलपुर विश्वविद्यालयबाट विद्यावारिधी र त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका भण्डारी विद्यार्थीमाझ ‘डीपी सर’ र जनमानसमा ‘प्राध्यापक डीपी भण्डारी’ को रुपमा सम्मानित बने ।

साहित्यमा मुलतः निवन्धकारका रुपमा सुपरिचित भण्डारीका चारवटा चर्चित कीर्ति छन्– मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०), रोटी र फूल (२०६३) र यो धरती, त्यो आकाश (२०६८) ।

सन् १९६० देखि त्रिविमा पढाउन थालेका भण्डारी १९८९–९४ मा अंग्रेजी विभाग प्रमुख र २०४८ सालपछि एक कार्यकाल नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) को कार्यकारी निर्देशक रहे । यी जिम्मेवारीसहित उनले त्रिविमा ४० वर्ष प्राध्यापन गरे ।

त्रिविबाट अवकाशपछि उनले मीनाक्षी, उर्वशी, शिला, सुलेखा, अम्बालिका जस्ता स्त्री नामबाट आत्मपरक निबन्धहरु लेखे, विभिन्न अखबारमा नियमित स्तम्भका रुपमा । आत्मस्वीकृति र पाखण्डमाथि निर्मम प्रहार उनको मनोविनोदी लेखनको विशेषता थियो ।

विनोदप्रिय प्रा. डीपी भण्डारीको व्यवहार पनि विलक्षण थियो । प्रा. कपिल श्रेष्ठका अनुसार, २०४३ सालमा भण्डारीले त्यस्तै स्वभावगत व्यवहार गरेर दुनियाँलाई उडाएका थिए ।

पञ्चायतकालीन समयमा त्रिविमा प्रायः प्राध्यापक व्यवस्थाको इशारामा चल्थे । बिद्रोही व्यवहार देखाउनेहरु पनि शासकको सानोतिनो दबाव या प्रलोभनपछि थला परिहाल्थे । त्यस्तो माहोलमा भण्डारीले प्राध्यापक संघको चुनाव लड्ने चर्को जनाउ दिए ।

‘डीपी सरको तर्कशीलता र विनोदप्रिय वौद्धिक व्यक्तित्व प्राध्यापक संघको अध्यक्ष बन्न पर्याप्त बन्यो, म पनि महासचिवमा चुनिएँ’, प्रा. श्रेष्ठ सम्झन्छन्, ‘तर, चुनाव जितिसकेपछि ‘मलाई यी चोरहरूले चोरका अध्यक्ष बनाएका हुन्’ भन्दै आफूसहित सारालाई उडाउन थाल्नुभयो ।’

श्रेष्ठका अनुसार, भण्डारीले बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला कसैलाई उडाउन छाड्दैनथे । श्रोतालाई मन्त्रमुग्ध पार्ने उनको विलक्षण खुवी थियो । दर्शनको गहिराइबाट बग्ने उनको आलेखहरु पनि उत्तिनै प्रभावकारी मानिन्छन् ।

प्रा. अभि सुवेदीले लेखेका छन्– डीपी भण्डारीका निबन्धहरूमा हास्य र गाम्भीर्यको सिम्फोनी बज्छ । तिनी इतिहासमा अधिनायकहरूको चरित्रलाई प्रहार गर्छन् । सोझै हेर्दा तिनका निबन्धमा मोरिस ब्लाँसो र खगेन्द्र संग्रौला दुवैको संयोग भेटिन्छ । उनको चिन्तनमा दर्शनको गहिरो प्रभाव छ । ती जगत र जीवनलाई कुनै एक मापदण्डले हेर्दैनन् (अन्नपूर्ण पोस्ट : २०७५, जेठ २६) ।

अर्का प्राध्यापक श्रीधर लोहनीका अनुसार, ‘आइरिस कवि विलियम बट्लर यिट्स, बेलायती कवि डीएच लरेन्स र भारतीय दार्शनिक रजनिश ओशोबाट प्रभावित भण्डारी नचाहिँदो बौद्धिकताले थिचिएको मान्छे होइनन्, बरु स्वतस्फूर्त र अति–प्राकृतिक (प्रिमिटिभ) साधक हुन् ।

शक्ति र सत्ताबाट परै रहन रुचाउने भण्डारी साँचै ‘प्रिमिटिभ’ थिए । कथित बौद्धिकता देखाउन खोज्नेलाई सधैं व्यंग्यवाण प्रहार गरेका उनले आफैंलाई पनि छाडेनन् । ‘यो धर्ती, त्यो आकाश’को एउटा निबन्धमा उनले लेखेका छन्– ‘तिमी, शीला र पल्लो घरको ज्यापूको लाटो छोरासित म नरक जान तयार छु, यहाँका धेरैजसो राजनीतिज्ञ, बुद्धिजीवीहरूसित स्वर्ग जान पनि तयार छैनन् । तिमीहरू नर्कमा गए पनि स्वर्ग निर्माण गर्छौं, तिनीहरू स्वर्गमा गए पनि स्वर्गलाई नर्कमा रुपान्तरित गरिदिन्छन् ।’

विकृतिमाथि कटाक्ष गर्ने भण्डारीको शैली पाठकमाझ लोकप्रिय थियो । उनको तीब्र ‘सेन्स अफ ह्युमर’ले व्यंग्यलाई ओजपूर्ण बनाउन गरेको लेखक डा. सञ्जीव उप्रेती बताउँछन् ।

उप्रेती त्रिविमा भण्डारीका विद्यार्थी र पछि सहकर्मी बन्न पुगेका थिए । तीन दशकको सानिध्यमा डीपी सर आफूलाई सधैं नवीन, गतिशील र आकर्षक लागेको उप्रेती बताउँछन् ।

डीपी भण्डारी वौद्विकता संगै किस्सा र जोक्सका खानी थिए । उनी आफ्ना अनन्य प्रसंसक रहेका लेखक खगेन्द्र संग्रौलालाई ‘चाबेलको चाहुरे’ र कवि कोषराज न्यौपानेलाई ‘भुसतीघ्रे’ भनेर सम्बोधन गर्थे ।

‘हासपरिहास मानिसको जीवनलाई किन चाहिन्छ’ भन्नेबारे भण्डारीले ‘हाम्रो समाज र विनोदप्रियता’ भन्ने निबन्ध लेखेका छन् । नीरस जीवनबाट सृजनशीलताको प्रवाह नहुने उनको भनाई छ ।

डोटी र कैलालीका गाउँमा गोठालो हुँदा जीवनको सर्वाधिक उत्सवपूर्ण क्षण व्यतीत गरेको उनी बताउँथे । पाँच वर्षदेखि अल्जाइमर्स (विस्मृतिको समस्या) बाट पीडित प्रा. डीपी भण्डारीले वैधव्यको जीवन बिताएको पनि पाँचै वर्ष भएको थियो ।

भण्डारीका दुई छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?