Comments Add Comment
स्वास्थ्यमन्त्रीको प्रेस ब्रिफिङ :

‘उहाँ १९ वर्षे महिला हुनुहुन्छ, सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्छौं’

'प्लेनमा कति मान्छे आउनुभएको थियो, त्यसलाई पनि खोजेर व्यवस्थित गर्छौं'

१० चैत, काठमाडौं । ‘उहाँ महिला हुनुहुन्छ । विद्यार्थी हो । १९ वर्षको हुनुहुन्छ’ सोमबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित दोस्रो नेपाली नागरिकबारे आधिकारिक सूचना दिँदै भने,’उहाँ होम क्वारेन्टाइनमै हुनुहुन्थ्यो, रिपोर्ट पोजेटिभ आएपछि हामीले अस्पताल पुर्‍याएका छौं ।’

फ्रान्सबाट १९ वर्षे नेपाली विद्यार्थी कतार हुँदै चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आएकी र त्यसको ७ दिनपछि आइतबार उनमा कोरोना भाइरसको पोजेटिभ लक्षण देखिएको जनकारी दिँदै मन्त्री ढकालले पत्रकार सम्मलेनमा भने, ‘उहाँसँगको सम्पर्कमा रहेका साथीहरु, प्लेनमा आउँदाखेरि कति मान्छेहरु कहाँ -कहाँको आउनुभएको थियो, त्यसलाई पनि हामीले खोजेर व्यवस्थित गर्छौं ।’

कोरोना संक्रमित नेपालीबारे जानकारी दिन विश्व स्वास्थ्य संगठनका अधिकारीहरु समेतको गहावीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालभन्दा पहिले बोलेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता सहसचिव विकास देवकोटाले सूचना ‘ब्रेक’ गरे ।

कोरोना संक्रमित नेपाली नागरिक फेला परेको सूचना प्रवक्ता देवकोटाले यसरी सुनाए-

‘एउटा खबर भन्न चाहन्छौं, हालसम्म शंकास्पद लक्षण देखिएका र क्वारेन्टाइनमा राखिएका करिब ६ सय नमूनाको परीक्षण गरिएकोमा सबै नतिजा नेगेटिभ भेटिएको अवस्थामा गत मंगलबार चैत्र ४ गते फ्रान्स र कतारको दोहा हुँदै काठमाडौं आएर लक्षणविहीन अवस्थामा होम क्वारेन्टाइनमा बसेका नेपाली नागरिकको हिजो -आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दाखेरि कोभिड १९ पोजेटिभ देखिएको छ ।

हाल निज शुक्रराज सरुवा रोग अस्पतालमा आइसोलेसनमा भएर उपचारको क्रममा हुनुहुन्छ । उहाँसँग सम्पर्क भएका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ र अब उहाँको उपचार र यससम्बन्धी सबै व्यवस्थापनहरु हामीले तोकिएको मापदण्ड बमोजिम मन्त्रालयबाट भइरहेको छ । र, आगामी दिनमा पनि हामीले अझै सक्रिय निगरानी गरेर नेपाललाई संक्रमणमुक्त गर्नलाई यदि संक्रमण भेटिएको खण्डमा उहाँहरुलाई उपचार गर्नलाई हाम्रो मन्त्रालय तदरुकताका साथ लाग्ने छ, यसमा सबैको सहयोग चाहिन्छ ।

प्रवक्ता देवकोटापछि स्वास्थ्यमन्त्री ढकालले गरेको संक्षिप्त सम्वोधन र पत्रकारसँग भएको प्रश्नोत्तरको सम्पादित अंश यस्तो छ-

उहाँसँग सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्छौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकाल

हाम्रो प्रवक्ताज्यूले तपाईहरुलाई धेरै कुरा बताइसक्नुभएको छ ।

पोजेटिभ देखियो । पोजेटिभ देखिएपछि हिजो (आइतबार) बेलुकाबाट हामीले अस्पतालमा लगेका छौं । उहाँ होम क्वारेन्टाइनमै हुनुहुन्थ्यो । त्यो होम क्वारेन्टाइनबाट रिपोर्ट पोजेटिभ आएपछि हामीले अस्पताल पुर्‍याएका छौं । उहाँ महिला हुनुहुन्छ । विद्यार्थी हो । १९ वर्षको हुनुहुन्छ । यति भनियो भने व्यक्तिको अरु गोपनीयता र अरु सबै कुरा नराख्ने विगतको परम्परालाई यहाँहरुले पनि बुझिदिनुहुन्छ भन्ने म सबैभन्दा पहिले आग्रह गर्न चाहन्छु ।

उहाँहरुको परिवार र त्यहाँ होम क्वारेन्टाइनमा रहँदाखेरि सम्पर्कमा रहनुभएका व्यक्तिहरुलाई परीक्षण गर्ने र उहाँहरुलाई पनि आइसोलेसनमा राख्नेखालको कुरा हामीले हिजोबाट नै त्यो व्यवस्थालाई अगाडि बढाएका छौं । र, सँगै आएको र उहाँसँग सम्पर्कमा रहेका व्यक्तिहरुको बारेमा पनि खोजी गरेर हामी त्यही दायराभित्र ल्याउनेखालको व्यहोरा पनि म सूचित गर्न चाहन्छु ।

पहिले पनि हाम्रो आह्वान के थियो भने विदेशबाट आउनुभएको व्यक्तिहरु सेल्फ क्वारेन्टाइनमा र नेपालीहरु आउनुभयो भने होम क्वारेन्टाइनमा बसेर सहयोग गर्ने, वीचमा बिरामीहरुको आफूलाई शंका लाग्यो भने उहाँहरुले सूचना गर्ने, परीक्षण गरेपछि पोजेटिभ देखियो भने त्यसको उपचारको जिम्मा सरकारले लिन्छ र लाने व्यवस्था सरकारले गर्छ भनेका थियौं ।

प्रश्न- बिरामी कुन एयरलाइन्सबाट आएको…. ?

त्यो कुरा वक्तव्यमा पनि आएको छ , तपाईको जिज्ञासामा उमेर कति हो, के हो भन्ने मैले यहाँहरुलाई बताएँ ।

फेरि प्रश्न- कुन एयरलाइन्सबाट आएको हो, त्यो बताइदिनुपर्‍यो …

यो सप्पै कुरा हामी तपाईहरुलाई बताइहाल्छौं । अहिले तपाईहरुलाई ताजै दिइहालौं भन्ने हिसाबले हामीले यति सूचना ल्याएका छौं । अरु कुरामा पनि हामी जान्छौं । उहाँसँगको सम्पर्कमा रहेका साथीहरु, प्लेनमा आउँदाखेरि कति मान्छेहरु कहाँ कहाँको आउनुभएको थियो, त्यसलाई पनि हामीले खोजेर नै व्यवस्थित गर्छौं ।

हिजोसम्म हामीले एउटा ग्रीन जोनको कुरा गरेका थियौं र प्रदेश निशेधको कुरा गरेका थियौं । अहिले यो प्रकट हुने कुराबाट पनि म पत्रकार साथीहरुमार्फत आम नेपाली जनतासँग के आग्रह गर्न चाहन्छु भने सबैले धैर्य नगुमाउने कुरा, यस्तो कुराबाट पाठ सिक्ने र थप सावधानी अपनाएर यसलाई विस्तारित हुन नदिने कुरामा सबैको योगदान हुन्छ ।

स्वास्थ्य मन्त्रालय र हाम्रा मिडियाका साथीहरुदेखि राज्यका सबै संयन्त्रहरुले अलग रहेर यो कोरोना भाइसरलाई परास्त गर्नका लागि जुनखालको अभियान चलेको छ, त्यसलाई अझ सावधानीपूर्वक हामीले पालना गरौं । विगतमा पनि एउटा पोजेटिभ देखिएको थियो, १० दिनपछि त्यो नेगेटिभमा परिणत भयो । म अहिले पनि व्यक्तिगतरुपमा यो विश्वास गर्छु कि यसलाई पनि हामी सहज ढंगले नै सामना गर्न सक्छौं भन्ने लाग्छ ।

‘कतिपय अपवादका घटनाहरु घटे’

तल (स्थल) सीमाबाट जुन नागरिकहरु प्रवेश गर्नुभएको छ, त्यसलाई समेत मध्यनजर राखेर हिजोबाटै हामीले एक हप्तासम्म दुबै देशका नाकाहरुलाई बन्द गर्नेखालको निर्णय क्याबिनेटको बैठकबाट गरिसकेका छौं । आउनुभएको साथीहरुलाई होम क्वारेन्टाइनमा बस्ने, अप्ठ्यारो स्थिति भयो भने तोकिएका मापदण्डभित्रबाट फलोअप गर्नुभयो भने राज्यको जुनसुकै ठाउँमा पनि पोजेटिभ लक्षण देखिएको व्यक्ति भयो भने स्थल यातायात, हवाइ यायायात, जुनसुकै माध्यमबाट पनि राज्यले त्यसको प्रोटेक्टन गर्छ । म यति विश्वास यहाँहरुलाई दिलाउन चाहन्छु ।

अरु ठाउँबाट आउनुभएको साथीहरुमध्ये कतिलाई क्वारेन्टाइनमा पठाइयो, कतिलाई छोडियो भन्नेखालको जुन जिज्ञासा छ, हामीले पछिल्लोपटक मुलभूतरुमा अति प्रभावित भनेर जुन देशबाट आउने नागरिकहरुलाई प्रतिबन्ध लगाएका थियौं, पछिल्लोपटक हामीले गरेको निर्णयमा ५५ देशका नागरिक थिए । अति प्रभावित देशहरुबाट ट्रान्जिट भएर आएका देशहरु आएका प्यासेन्जरहरुलाई नलिने भनेर हामीले निर्णय गरेपछि कतिपय अपवादका घटनाहरु घटे । चाहेर होस् अथवा नचाहेर होस् ।

यहाँ नेपाली नागरिकहरु उत्रिनुभो । जो, हामीले निर्णय गरेको अवधि र परिधिभन्दा पछाडि भयो । तर, उत्रिइसकेपछि के गर्नेभन्दा पहिले पनि हामीले भनेका थियौं कि होम क्वारेन्टाइनमा व्यक्तिगत जानुपर्छ । जो आएर तत्काल घर पुग्ने पनि स्थिति रहेन, इमर्जेन्सी कुनै घटना भयो भने प्रोटेक्सनका लागि राख्नुपर्छ भनेर हामीले खरीपाटीलाई त्यही कामका लागि व्यवस्थापन गरेका छौं ।

कतिपय नागरिकहरु यता आउनुपर्ने, प्लेन छुट्यो । दिल्ली गयो । दिल्लीबाट त्यहाँको प्लेनले यहाँ ल्याएर छाडिदियो भनेपछि अब उहाँहरुलाई बसिहाल्नका लागि व्यवस्थापनको योजना पनि छैन, छुट्टै छोड्दा झन् संक्रमित हुने खालको खतरा हुने भएको हुनाले उहाँहरुलाई क्वारेन्टाइनमा राख्ने काम गर्‍यौं ।

पछि पनि केही एयरलाइन्सहरुबाट आएका तत्काल आफ्नो बस्ने व्यवस्थापन नभएकालाई हामीले यहाँनेर (खरीपाटीमा) गरेका छौं । र, अरु नागरिकहरुचाहिँ सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनको व्यवस्थाभित्र पर्नेहरुलाई हामीले रिर्पोट लिएर गरेका छौं ।

सामग्रीहरुको तयारीबारे

जहाँसम्म यहाँ राजधानीमा रहेका केही सामग्रीहरु तल प्रदेशसम्म पनि पुर्‍याउने खालको विषयमा पनि मित्रहरुले जिज्ञासा राख्नुभएको छ ।

हामीले अहिले सातवटै प्रदेशमा केन्द्रमा रहेको टेकु स्तरको ल्याब विस्तार गर्नेखालको अभियानमा हामी जुटेका छौं । प्रत्येक प्रदेश सरकारसँग हामीले प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीसहितको बैठकबाट हामीले त्यो सामुहिक निर्णय पनि गरेका छौं । उहाँहरु पनि त्यो काममा लाग्नुभएको छ ।

सम्बिन्धित प्रदेशमा एउटा, अनिवार्य, यो रोगसँग सम्बिन्धत मात्रै उपचार गर्ने अस्पतालका रुपमा परिभाषित गरेर त्यहाँ काम गर्ने कुराका लागि र यहाँ माथि (केन्द्रमा) पनि हामीले केही अस्पतालहरुलाई त्यो विषयमा तोकेका छौं । त्यही उपचारका विषयमा हामीले प्रदेशलाई पनि केन्दि्रत गरेका छौं ।

यही कोरोना भाइरससँग सम्बिन्धत औषधि उपचारलाई व्यवस्थित गर्नका लागि सरकारको हिजै मात्रैको निर्णयले हामीले ५० करोडको एउटा कोष स्थापना गरेका छौं । मन्त्रीहरुले एक महिनाको तलब त्यसमा राख्ने निर्णय गरेका छौं र अरुलाई आह्वान गर्ने कुरा पनि गरेका छौं ।

र, अहिले औषधिहरु, औजारहरु र अन्य विषयहरुलाई व्यवस्थित गर्ने सन्दर्भमा देशभित्र भएका सामग्रीहरुको उपलब्धताको पक्षमा हामी माथिल्लो तहबाट नै लागेका छौं र अन्तरराष्ट्रिय क्षेत्रमा हाम्रो कूटनीतिक नियोगहरुलाई परिचालन गरेर हाम्रो अत्यावश्यक सामाग्रीहरु परिचालन गर्ने र त्यसलाई हवाई यातायातहरु बन्द भएका कारणले अहिले ल्याउन कठिनाई हुन्छ कि भनेर हामीले हाम्रो प्लेनहरुलाई पनि स्ट्याण्डबाई राखेका छौं । र, ती सामग्रीहरु प्राप्त गर्ने कुराको सुनिश्चितता हुनेवित्तिकै हामी आफैं गएर वा त्यहाँबाट प्राप्त गर्नेमा सरकारको यथेष्ट ध्यान गएको छ ।

आलोचनाले सहयोगै पुग्छ तर…..

म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने कतिपय सूचना, आलोचनाहरुले हामीलाई ठीक बाटो पक्डिनका लागि सहयोगै पुर्‍याउँछ । त्यो सदा सर्वदा तपाईहरुका तर्फबाट गरिने कुरा स्वागतयोग्य हुन् भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।

तर, यो आलोचनाको एउटा सीमा र परिधि जसले समाजलाई अलि प्रोभोक गर्ने… । र, अहिले हामी यहाँ जुनसुकै आस्था, विश्वास, क्षेत्र, लिंग धर्म, वर्ण, जात, सबैभन्दा, यी सबैको एकमुष्ठ राज्य चाहिँ एकतावद्ध भएर यो विश्वलाई तहल्का मच्चाइराखेको कोरोना भाइरसको विरुद्ध हामीले लडिराखेका छौं । यो लडाइँलाई कमजोर हुने गरी यहाँहरुका सूचनाहरु सम्प्रेषण भएनन् भने जनतालाई सहज ढंगले अगाडि बढ्ने खालको कुराका लागि नै प्रेरित गरौं ।

राज्यको तर्फबाट ध्यान नपुगेका, सरकारको तर्फबाट अझै यो गर्नुपर्छ भन्ने तपाईहरुलाई लागेका विषयहरु विषयकेन्दि्रत भएर भन्दैखेरि पनि हामीले त्यसलाई करेक्सन गर्छौं ।

कोरोनाको किटाणु लुकाएर राज्यलाई फाइदा छैन

यो रोगसँग सम्बिन्धत हामी सूचनाहरु पनि अपडेट गर्छौं । मन्त्रालयका तर्फबाट म यहाँहरुलाई एकदमै के आश्वस्त हुन आग्रह गर्छु भने यो भाइरसले आक्रमण गर्‍यो, कुनै बिरामीहरु प्रकट भए अथवा पोजेटिभ रिपोर्ट देखियो भने उपचार गर्ने लगायतका सबै कुराहरु यी बुहत पारदर्शीरुपमा तपाईहरुको वीचमा आउने माध्यम बनाइन्छ ।

यो रोगको किटाणुलाई लुकाएर राज्यले कुनै बहादुरी पनि प्रकट गर्दैन र त्यसबाट कुनै राज्यको हित पनि हुँदैन । हामीले यसलाई बहुतै सहजताका साथ तपाईहरुको वीचमा ल्याउँछौं ।

प्रतिकुल अवस्था भएको हुनाले अहिलेसम्म त्यति व्यवस्तित नभएको सूचना प्रणालीलाई पनि अपडेट गर्ने र भोलिदेखि अलि व्यवस्थित ढंगले आउने सोचमा छौं ।

‘योपटक चाहिँ साथीहरुको वीचबाट गरियो’

विभिन्नखालका सूचनाहरु सम्प्रेषण भइराखेको सन्दर्भमा विगतको एउटा घटना हुँदाखेरि पनि हामीले सामुहिक ढंगले यसरी बसेर नै सूचना गरेका थियौं ।

यसपटक चाहिँ प्रेस वक्तव्य मात्रै गर्ने कि ? अथवा एउटा मिडियाबाट लाइभ गर्ने कि ? भन्नेखालको कुरा पनि हामीले छलफल गरेका थियौं । तर, यो पटकलाई चाहिँ सबै साथीहरुको वीचबाट गरौं । र, यसैचोटि सूचना सूचित गरेर योभन्दा पछाडिचाहिँ हामीले त्योखालको व्यवस्थापन गरौं भन्ने सोच राखेका छौं ।

डब्ल्युएचओका प्रतिनिधिहरुलाई पनि यो सूचनाचाहिँ सार्वजनिक सँगै बसेर गरौं, यसपछिका अरु सूचनाहरुलाई चाहिँ अब घरघरमै बसेर अत्यावश्यक नहुँदाखेरि बाहिर ननिस्कने अनुशासनभित्र धेरैलाई बस्नका लागि सहयोग पनि होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment