Comments Add Comment

एन्ड्रोइडलाई चुनौती दिँदै हुवावे मोबाइल सर्भिस, प्रयोगकर्ता ४० करोड पुगे

चिनिया स्मार्टफोन कम्पनी हुवावेले हालै आफ्नो पि ४० सिरिजको नयाँ स्मार्टफोन सार्वजनि गर्‍यो । आफ्नै अपरेटिङ सिस्टम अर्थात् हुवावे मोबाइल सर्भिस सहितको उक्त स्मार्टफोन लञ्चिका बेला हुवावेको कन्जुमर बिजनेस विभागका सिइओ रिचार्ड यु ले एउटा तथ्यांक पनि सार्वजनिक गरे ।

जसअनुसार हुवावेको मोबाइल सर्भिसका सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड पुगेको छ । यो तथ्यांक वास्तवमा इन्टरनेट जाएन्ट गुगलका लागि टाउको दुखाइको विषय बन्न सक्दछ ।

हुवावे मोबाइल सर्भिका बारेमा बोल्दै सीईओ यु ले हुवावेसँगको सहकार्यबाट गुगलले ठूलो धनराशी आम्दानी गरेको बताए । तथापि गत वर्ष हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएसँगै हुवावेका नयाँ फोनहरुमा गुगलको मोबाइल सर्भिस प्रयोग हुन पाएन । तत्पश्चात् कम्पनीले आफ्नै हुवावे मोबाइल सर्भिस विकल्पका रुपमा ल्याएको थियो ।

युका अनुसार अहिले हुवावेको उक्त प्लाटफर्मका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड पुगेको छ भने यो विभिन्न १ सय ७० वटा देश तथा भाषाहरुमा उपलब्ध छ ।

हुवावे मोबाइल सर्भिसमा रहेको एप ग्यालरी गुगलको प्ले स्टोरको प्रतिस्पर्धी रहेको छ । जसमा नर्मल र क्विक एप गरी दुई श्रेणीका एपहरु रहेका छन् । क्विक एपहरु वेबमा आधारित एचटिएमएल फाइलहरु हुन् जुन प्रयोगका लागि सजिलो तथा छिटो हुने उनले बताए ।

हुवावेको एप ग्यालरीमा धेरै भन्दा धेरै एप डेभलपर्सलाई आकर्षित गर्नका लागि कम्पनीले नयाँ सौविध्य नीतिको घोषणा गरेको छ । रिपोर्ट अनुसार हुवावेले एपबाट हुने कमाइको ९० प्रतिशत हिस्सा एप डेभलपर्सलाई दिन्छ र जम्मा १० प्रतिशत मात्र आफुले राख्दछ । जबकी गुगलले एप डेभलपर्सलाई ७० प्रतिशत र आफुलाई ३० प्रतिशत राख्ने गरेको छ ।

स्मरण रहोस् गत महिनामात्रै चिनिया स्मार्टफोन ब्राण्डहरु हुवावे, भिभो, ओप्पो र शाओमीले एक गठबन्धनको निर्माण गरेका थिए । ग्लोबल डेभलपर सर्भिस अलाइन्स नामक उक्त गठबन्धन वास्तवमा एउटा साझा प्लाटफर्मको विकास गर्नका लागि थियो जहाँ चीन बाहिरका एप डेभलपर्सहरुले आफ्ना एपहरु अपलोड गर्न सक्नेछन् । गुगलको प्लेस्टोरको प्रभुत्वलाई चुनौति दिनुका साथै गुगल प्रणालीमाथिको अत्यधिक निर्भरता घटाउने प्रयोजनका लागि चिनिया स्मार्टफोन कम्पनीहरु एकजुट भएका विश्लेषकहरुको ठम्याइ छ ।

उक्त प्लाटफर्म यहीँ मार्चमा लञ्च हुने बताइएको भएपनि पछिल्लो विश्वव्यापी अवस्थाका कारण तत्कालै हुने नहुने अनिश्चित बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment