Comments Add Comment
सुदूरपश्चिमको जोखिम :

जुन भाग कमजोर, त्यहीँ कोरोनाको दोस्रो हमला

जनस्वास्थ्यको दृष्टिले सुदूरपश्चिम संवेदनशील : विज्ञ

२३ चैत, काठमाडौं । आइतबारदेखि नेपाल कोरोना (कोभिड–१९) भाइरस महामारीको दोस्रो स्टेजमा प्रवेश गरेको छ । कैलालीकी ३४ वर्षीय एक महिलामा संक्रमण देखिएसँगै नेपाल यो महामारीको दोस्रो स्टेजमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् ।

विदेशबाट आएर कोरोना संक्रमण पुष्टि भएका युवककी भाउजू कोरोना भाइरस देखिएको हो । नेपालमा संक्रमण पुष्टि भएका बाँकी आठै जना भने विदेशबाट आएका थिए । दोस्रो स्टेज सुरु भएको सुदूरपश्चिम क्षेत्र जनस्वास्थ्यको दृष्टिले निकै कमजोर मानिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसअघि महामारी घोषणा गरिसकेको एचआईभी/एड्सका धेरै संक्रमित भएको क्षेत्रबाट नेपाल कोरोनाको दोस्रो स्टेजमा प्रवेश गरेको छ ।

एचआईभी/एड्स बाहुल्य जिल्ला

विश्वका चार करोड मानिसलाई प्रभावित पारेको एचआईभी/एड्सको संक्रमण नेपालमा पहिलो पटक सन् १९८८ मा देखिएको थियो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत मदनकुमार श्रेष्ठ अहिले नेपालमा २७ हजार ९५५ एचआईभी पोजेटिभ छन् ।

जिल्लागत हिसाबले काठमाडौंपछि कैलालीमा सबैभन्दा बढी अर्थात् दुई हजार ९५ एचआईभी संक्रमित छन् । जनसंख्याको अनुपातमा काठमाडौं भन्दा कैलाली बढी एचआईभी संक्रमित छ । काठमाडौं जिल्लामा प्रति एक लाखमा १९५ एचआईभी पोजिटिभ छन् भने कैलालीमा प्रतिएक लाखमा २९९ जना ।

कैलालीको एचआईभी संक्रमित संख्या सिंगो कर्णाली प्रदेशको भन्दा तेब्बर छ । कर्णाली प्रदेशमा कूल ६९७ एचआईभी संक्रमित छन् ।

प्रदेश पनि अग्रस्थानमा !

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमितको संख्या चार हजार ८११ पुगेको छ । यो संख्या बागमती प्रदेश र प्रदेश– ५ पछिको सबभन्दा बढी हो ।

जनसंख्याको अनुपातमा भने सुदूरपश्चिमले बागमती र प्रदेश– ५ लाई पनि पछि पारेको छ । सुदूरपश्चिम प्रदेशमा प्रति एक लाखमा १९२ जना एचआईभी पोजेटीभ छन् । जबकी बागमती र प्रदेश– ५ मा यो दर ११७–११७ छ ।

प्रदेश १ मा तीन हजार ३०५, प्रदेश २ मा चार हजार ५६, गण्डकीमा तीन हजार ६२३ र कर्णाली प्रदेशमा ६९७ जना एचआईभी संक्रमित छन् ।

एचआईभी संक्रमितलाई थप जोखिम

कोेभिड–१९ जस्तै एचआईभी/एड्सको पनि औषधी पत्ता लागेको छैन । चिकित्सकहरूका अनुसार एचआईभी संक्रमणमा पनि भाइरसको फैलावट रोक्न एन्टी–रेट्रेभाइरल दिने गरिन्छ ।

संक्रमितमध्ये ज्येष्ठ नागरिकमा मृत्युदर अधिक रहेको कोभिड–१९ महामारीका लागि एचआईभी पोजेटिभ भएकाहरू उच्च जोखिम समूहमा रहेको जानकारहरू बताउँछन् ।

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानको एचआईभी युनिट अध्यक्ष प्रा.डा. शशी शर्मा एचआईभी संक्रमितहरूमा कोरोना संक्रमणको संभावना बढी हुने र लक्षण पनि चाँडो देखिन सक्ने बताउँछन् ।

सुदूरपश्चिमका जिल्लाहरुमा एचाईभी/एड्स नियन्त्रणको काम गरेका शर्मा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू बढी सतर्क हुनपर्ने बताउँछन् । ‘एचआईभी संक्रमितलाई औषधिले बलियो बनाउने काम मात्र गरेको हुन्छ, जसले गर्दा संक्रमणको जोखिम बढी हुन्छ,’ प्रा. डा. शर्मा भन्छन्, ‘एचआईभीको औषधि खाइरहनु भएको छ भने स्वस्थ मान्छेभन्दा बढी सतर्क हुनुहोस् ।’

सुदूरको चुनौती

सुदूरपश्चिमले सबभन्दा बढी एचआईभी संक्रमित रहेको प्रदेश भएकोले मात्र कोरोनाबिरुद्ध बढी सावधानी अपनाउनुपर्ने नभई भारतबाट सबभन्दा धेरै नेपाली प्रवेश गरेको क्षेत्र भएकाले पनि हो ।

सरकारको तथ्यांक अनुसार साना–ठूला १९ नाकाबाट एक लाख ४३ हजारभन्दा बढी नेपाली यो प्रदेशमा प्रवेश गरेका छन् । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह ‘अनधिकृत रुपमा प्रवेश गरेका व्यक्तिहरू समेत जोड्दा यो संख्या अझ बढी हुने’ बताउँछन् ।

‘कतिपय मान्छे तुइनबाट, ट्युबमा बसेर, महाकालीमा हामफालेर पनि आएका छन्,’ मन्त्री शाह भन्छन्, ‘लकडाउन आसपासमा डेढ लाख मान्छे हाम्रो प्रदेशको नाकाहरुबाट प्रवेश गरेका छन् ।’

उत्तराखण्ड र मुम्बईबाट आएका दुई जनामा संक्रमण पुष्टी भएको शनिबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

काठमाडौं उपत्यका बाहिर पहिलो संक्रमित पनि सुदूरपश्चिमकै धनगढीमा भेटिएको थियो । दुबईबाट आएका ३४ वर्षीय पुरुषमा १४ चैतमा संक्रमण पुष्टी भएको थियो ।

सात प्रदेशमध्ये सुदूरपश्चिम प्रतिव्यक्ति आय सबभन्दा न्यून भएको प्रदेश हो । नेपालीको सरदर प्रतिव्यक्ति आय १००४ डलर रहेकोमा सुदूरपश्चिमको ६६० र प्रदेश ३ को एक हजार ५३४ डलर छ ।

स्वास्थ्य संस्थामा पहुँच, कुपोषण, स्वच्छ खानेपानीको अभाव, औसत आयु, बाल तथा मातृ मृत्युदर आदिका हिसाबले पनि सुदूरपश्चिम सबभन्दा पछि छ । यी कारणहरुले गर्दा पनि कोभिड– १९ ले सुदूर पश्चिमबाट महामारीको रुप लिने खतरा रहेको जनस्वास्थका जानकारहरुको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment