Comments Add Comment

भात भान्सामा अड्किएको लेखन

देशमात्रै होइन, विश्वलाई नै कोरोनाको त्रासले आक्रान्त पारेको छ । संसारका प्राय मान्छे घरभित्र बन्दी बनेका छन् । कुनै राष्ट्रले कोही एकजनालाई मात्र यसरी नजरबन्दमा राख्दो हो त विश्व, मानवअधिकारवादी र सञ्चारमा माध्यमले कति खोइरो खन्दा हुन् । वकिलहरूले कस्तो कस्तो वकालत गर्दा हुन्, सम्झँदा पनि अत्यास लाग्छ ।

तर, अहिले सानो अदृश्य भाइरसका कारण मृत्युसँग जुध्न टाउकामा कफन बाँधेर हिँडेका मान्छेहरूको समेत हुर्मत लिएको छ । सबै मान्छे घरभित्रै छन् । बुझ्दै छन्, मान्छेको सबैभन्दा ठूलो शत्रु मान्छे नै हो भन्ने कुरा ।

आ–आफ्ना गच्छेअनुसारका साधन साइकलदेखि हेलिकप्टर चढेर भ्याई नभ्याई कुद्ने मान्छे, घरभित्र के गर्दै छन् होला त ? कसरी बिताउँदै छन् होला त घरभित्रको जीवन ?

अनि महिला नि महिला ?

सोफाले विजाउन थालेपछि विस्तरा, विस्ताराले पोल्न थालेपछि, गलैंचा । चियापानीपछि ब्रेकफास्ट, खाना, फलफूल, चिया खाजा खायो गर्दै दाजुभाइका सामाजिक सञ्जालमा स्टाटस आइरहँदा मनोरञ्जनका लागि भन्दै महिलामाथिका अनेक छेडछाडका भिडियो टिकटक अपलोड भैरहेछन् ।

मानौं महिला भनेका मनोरञ्जनका साधन मात्र हुन् । तिनलाई छेडछाड गर्ने र होच्याउने पनि पास वितरण भएको छ कि ? मनमा यस्ता वहियात तर्कले पनि स्थान पाउँछ ।

कतै सामाजिक सञ्जालमा छेडछाड गरेरै भए पनि सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने मान्यता स्थापित हुँदै त छैन ? डर लाग्छ ।

यस्तो देख्दा महिलाहरू अक्रान्त हुन्छन् । केही लेख्छन् । यत्तिकै सामाजिक सञ्जालमा नानाथरी पोख्नु भन्दा घरधन्दामा यसो सघाए हुन्थ्यो । घर कस्तो रहेछ ? आफ्नी जीवनसाथीका सुन्न नभ्याएका कुराहरू कति होलान् ? सँगै घरमा दिन बिताउन नपाएको कति भयो ? केटाकेटी सँगसँगै बसेर नखेलेको कति भयो ? तरकारी बारी र फूलबारीतिर यसो नजर दिँदा पनि हुन्छ नि ।

दाजुभाइ फेरि उफ्रिन सुरु ‘भात भान्साबाट खै महिला माथि उठेका ? लेखन डाडु र पन्युँमै घुमिरहेछ ।’

अफ्कोर्ष महासय !

हामी यहाँबाट कहिल्यै माथि उठ्न सक्दैनौं जहिलेसम्म तपाईं आफ्ना लागि आफैं चिया पकाएर खान सक्नुहुन्न । खाना पकाउन होइन, पकाएको खानेकुरा आफै झिकेर खान सक्षम हुनुहुन्न ।

हो, तबसम्म हाम्रो लेखन भात र भान्साभन्दा पर पुग्नै सक्दैन । कुचोबाट सुरु हुने हाम्रो दैनिकी डाडु पन्युँ र मस्को हुँदै भान्सामा पुगेर टुङ्गिन्छ ।

लेख्ने र उठान गर्नुपर्ने विषयहरू बग्रेल्ती छन् ।

क. कोरोनाले पारेको मानविय क्षति ।

ख. मानसिक स्वास्थ्यमा परेको असर ।

ग. समाजिक विखण्डन ।

घ. बदलिन सक्ने विश्व राजनैतिक मानचित्र ।

ङ. अर्थतन्त्रमा आउने कहालीलाग्दो अवस्थाको आँकलन ।

च. वित्तीय संकट, बैंक, सहकारी, सेयर मार्केट ।

छ. पर्यटन र होटल व्यवसायले व्यहोर्ने संकट ।

ज. चुलिएको भ्रष्टाचार आदि आदि ।

तर, लेख्नका लागि अध्यन गर्नुपर्छ । दिमागमा विषयवस्तु अंकुराउनुपर्छ । भातजस्तै छड्कनु पर्छ ।

सोच्नुस् त, लेख्दै गर्दा तपाईंको चियाको मागले विषय श्रृङ्खला टुट्नु भनेको भात छड्कँदै गर्दा ग्यास सिद्धिनुजस्तै होइन र ? या अंकुराउँदै गरेको बिजमा पानी खन्याउनु जस्तै हो ?

तपाईंहरू मस्ती गरिरहँदा मेरी जागिरे साथी लकडाउनपछि दुई केजी घटिन् रे ।

बुढाबुढी केटाकेटी र आफू भन्दा ठूलाको सेवा गर्दागर्दै उनी हत्तु परेको सुनाइरहँदा एकजना मान्छेले भनेको सम्झिएँ ‘मेरी श्रीमती नेपाल फर्कन्न, मेरी श्रीमती मात्र होइन, कोही महिला फर्कंदैनन् । उहाँ काम गरेर आएपछि जसरी मन लाग्छ, जे मन लाग्छ, त्यही खाए हुन्छ, यहाँ सासू ससुरा र घर परिवारको स्याहार गर्न को आउँछ ? बुहारीलाई यहाँ न त कसैले सघाउँछन्, न त ऊ पनि थाक्छे भनेर नै सोच्दछन् ।’

अहिलेका (लेख पढ गर्न सक्ने) महिला टीनएजमा हिँड्दै गरेका अल्लारेजस्ता पनि भएका छन् । केही गर्न खोज्यो भने सानै छस् भन्ने । सोचेको कुरा गरेन भने यत्रो हुदाँसम्म केही गर्न नआउने भन्ने ।

हामीले केही नजान्न या गल्ती गर्न पाइँदैन । किनकि, हामी त पढेका हौं । पढेको मानिसले सानातिना कुरा गर्न मिल्दैन । केही जान्न वा थाहा पाउन पनि पाउँदैनौं । किनकि हामी आइमाई, केटाकेटी, कमजोर वर्गमा पर्छौं ।

अर्थशास्त्र पढेका नाताले कोरोना भाइरसले पार्ने मानवीय सँगसँगै आर्थिक संकटले मन भतभत पोलेको छ । एकपटक देखापरेको आर्थिक मन्दीबाट एउटा देश बाहिर आउन १० वर्ष लाग्ने इतिहास छ ।

एउटा देशमा परेको आर्थिक संकटले विश्वलाई असर गर्छ भने विश्व नै ठप्प परेको यो अवस्थाको आँकलन गर्न कसरी सक्नु र ? तर, पनि मन त्यता पुग्छ । कत्ति न अर्थविदजस्तो भएर ।

तलब सरकारले काटेको छ, बोल्न भएन, किनकि देशमा संकट आइपरेको छ । महंगी बढ्दो छ, सरकारले नै सामान पाउनु ठूलो कुरो हो भनेको छ । सीमामा आफ्नै देशका दाजुभाइ दिदीबहिनी रोहिरहेछन्, निरीह भएर हेर्नुबाहेक केही गर्न सकेको होइन ।

विदेशिएका मात्र होइन, स्वदेशमै काम गर्नेहरू दिन प्रतिदिन बेरोजगार हुँदैछन् । शासकहरू भ्रष्टाचार गरिरहने र युवा बेरोजगारको संख्या दिन प्रतिदिन थपिँदै जानुले कस्तो राजनैतिक दिशानिर्देश गर्ला, सोचमग्न हुन्छु । मानौं सबैथोकको यवस्थापन गर्ने जिम्मेवारी मेरै टाउकोमा छ ।

सहकारीकर्मी भएका कारण अबको सहकारी आन्दोलन कतातिर जाला ? लगानीमा रहेको ऋण कसरी उठाउन सकिएला ? सदस्यहरूको निक्षेपको सुरक्षा कसरी गर्ने ? सहकारीहरूले सरकारलाई सहयोग गरिरहँदा आफ्ना संस्था र सदस्यहरूको समस्या झेल्न सक्षम होलान् त ?

भुट्भुटिएको मन झल्यास्स हुन्छ, जब दूध उम्लिएर डढेको बास्ना ह्वास्स नाकमा ठोकिन्छ । कुकरको सिठ्ठी सिँ सिँ गरेर बज्छ ।

अनि म सोच्दै गरेको सहकारीका ऋणी, बचतकर्ताको ब्याज र सेयरमा दिनुपर्ने बोनसको हिसाब–किताब गर्न छाडेर ग्यास बन्द गर्नतिर लाग्छु ।

खान पकाउँदा सानो मात्र असावधानी भयो भने परिवारका सदस्यको सुगर, प्रेसर र कोलस्टोर बढ्न सक्छ । भ्रष्टाचारका मुद्दामा लेख्न, सोच्न अगाडि परिवारको ख्याल आउँछ । यहाँ अवसर नपाएर परदेशिएका आफन्तजन, साथीसंगी सम्झँदै म पहिलाभन्दा खानपानमा बढी ख्याल गर्न पुग्छु । किनभने कोरोना भाइरससँग लड्नका लागि योद्धा तयार गर्दैछु नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment