Comments Add Comment

यो वर्ष छापिएन नेपालको पहिलो भित्तेपात्रो, जगदम्बाले भन्यो– आफैं प्रिन्ट गर्नुहोला

३० चैत, कोरोना भाइरस महामारीले ल्याएको लकडाउन कारण २०७७ सालको ‘जगदम्बा भित्तेपात्रो’ नछापिने भएको छ । यो पात्रो ६१ वर्षदेखि लगातार छापिँदै आएको थियो ।

लकडाउनका कारण छाप्न समस्या भएकाले चैत ३० गतेदेखि ‘पीडीएफ’ बाटै सार्वजनिक गरिएको जगदम्बा प्रेस प्रालिका प्रमुख कार्यकारी प्रबन्धक लोचन जोशीले बताए ।

जोशीले आइतबार विज्ञप्तिमार्फत भनेका छन्, ‘पीडीएफ फाइलमा उपलब्ध यो पात्रोलाई सके रङ्गीन प्रिन्टर, नभए साधारण प्रिन्टर मार्फत् निकाली स्टेपल गरी भित्तामा टाँग्न अनुरोध छ ।’

जगदम्बा भित्तेपात्रो ६१ वर्षदेखि निरन्तर छापिँदै आएको थियो । यसै वर्ष पहिलोपल्ट २०७७ सालको पात्रोको छपाइ स्थगित गर्नु परेको बरिष्ठ पत्रकार कनकमणि दीक्षितले अनलाइनखबरलाई बताए ।

जगदम्बा भित्तेपात्रोका जन्मदाता लेखक, अनुसन्धानकर्ता कमल दीक्षित हुन् । राणाकालको अन्त्यतिर नेपालमा हातेपात्रो मात्र प्रयोग हुने गर्थ्यो र त्यो विशेष गरी पुरेत र पण्डितको पहुँचमा थियो ।

पढाइका सिलसिलामा दीक्षित विसं २००५ सालतिर कोलकाता पुग्दा उनले घर, बजार र कार्यालयका भित्तामा झुन्ड्याइएका ‘वाल क्यालेन्डर’ देखे । उनले त्यहीबेला नै ‘भित्तेपात्रो’ शब्द रचे र नेपालमा पनि तिथि, मिति ठम्याउन सजिलो हुने ‘भित्तेपात्रो’ निकाल्ने निधो गरे ।

देश फर्केर विसं. २०१२ मा दीक्षितले सर्जक बालकृष्ण समसँग कला, अक्षरकला र शब्दावलीमा मद्दत लिए । समको सुझावमा केही ‘स्थानीय’ शब्दहरु राखियो । जस्तै– ‘ज्येष्ठ’ लाई ‘जेठ’, ‘आषाढ’ लाई ‘असार’ । बारमा ‘आइतबार’ र ‘बिहीबार’ चलाइयो ।

‘जगदम्बा भित्तेपात्रो’ त्योबेलाको ‘लेटरप्रेस’ मुद्रण प्रविधि मार्फत् २०१५ मा पहिलोपल्ट छापियो । त्यसयता यो पात्रो निरन्तर छापिँदै आएको थियो । तर, यसवर्ष कोरोनोको असर यसमा देखियो ।

भित्तेपात्रो डाउनलोडका लागि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment