Comments Add Comment

‘संयन्त्र परिचालन यसरी नै हुने हो भने अवस्था जटिल बन्न सक्छ’

वीरगञ्ज महानगरपालिकामा आइतबार ३ जना कोरोना भाइरस संक्रमित भेटियो । संक्रमण भेटिएसँगै यो क्षेत्रमा थप सतर्कता अपनाउनु पर्ने देखिएको छ । आफ्नो क्षेत्रमा कोरोना संक्रमण देखिएपछि वीरगञ्ज महामहानगरपालिका  के गर्दैछ ? केन्द्र सरकार र प्रदेश सरकारसँग  वीरगञ्ज महानगरपालिकाले गरिरहेकाे समन्वयलगायत विषयमा केन्द्रित रहेर मेयर विजय कुमार सरावगीसँग गरिएको संक्षिप्त कुराकानीः

वीरगञ्जमा तीन जना कोरोना भाइरस संक्रमित भेटिए, महानगरपालिका के गर्दै छ ?

संक्रमित भेटिएको ठाउँलाई सिल गरिएको छ । संक्रमितहरु कता–कता गएका थिए, खोजबिन सुरू गरेका छौं । परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका आवश्यक सुविधाको व्यवस्था गरेका छौं । नेपाली सेनासँगको सहकार्यमा क्वारेन्टाइनको व्यवस्थापन पनि गरिरहेका छौं ।

लकडाउनमा थप कडाइ गर्नुपर्ने देखिएकाले दैनिक उपभोग्य वस्तु आपूर्ति कसरी गर्ने भन्नेबारे छलफल गरिरहेका छौं । अहिलेको अवस्थामा नगरबासीलाई जति घरमा राख्न सक्यो, त्यति संक्रमणको जोखिम कम हुने हो । त्यसका लागि रणनीति बनाउँदै छौं । उपभोग्य वस्तुहरु घर–घर पुर्‍याउन सके मानिसहरु बाहिर आउँदैनन् । यो सोच राखेर रणनीति बनाउँदै छौं ।

संक्रमितहरुको ‘ट्राभल हिष्ट्री’ आएको छैन । यसले वीरगञ्जमा खतराको घण्टी बजाइरहेको छ नि हैन ?

संक्रमितले सही कुरा बताइदिए ट्रेसिङ गर्न सकिन्छ । उनीहरुको सम्पर्कमा आएका सबैको परीक्षण गर्न सकिन्छ । तर, उनीहरुले सही ‘ट्राभल हिष्ट्री’ बताइरहेका छैनन् । सत्य लुकाउने प्रवृत्ति समस्या भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुले प्रयास गरिरहनुभएको छ । सबकुरा सही आएर सबैको परीक्षण गर्न पाए ढुक्क हुन सकिन थियो ।

संक्रमित भेटिएको ठाउँ सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङका काम सुस्त भएन र ?

यसमा ढिलाइ, गल्ती भएको छ भने संघीय सरकारको परिक्षण गर्ने ठाउँबाट भएको छ । पठाउँछौं, पठाउँदैछौं भन्दै रिपोर्ट लुकाएर राख्ने, ढिलो सार्वजनिक गर्ने काम भएको छ । हामीले त स्वास्थ मन्त्रालयले फेसबुकमा रिपोर्ट हालेको एकघण्टाभित्र सिल गर्यौं ।

परीक्षणको रिपोर्ट ‘पोजेटिभ’ छ भने काठमाण्डौंबाटै भन्ने गरिएको छ । हामीले बोल्न मिल्दैन भनिएको छ । संयन्त्र परिचालनको तरिका यहि हो भने त अवस्था निकै जटिल बन्न सक्छ ।
म धेरै दिनदेखि भनिरहेको छु– वीरगञ्ज अन्तर्राष्ट्रिय नाका हो, जोखिम बढी छ । तर, संघ र प्रदेश सरकारले एउटा पीसीआर मेसिनसमेत दिएको छैन । कोरोना संक्रमितको उपचार गर्ने अस्पताल स्थापनामा कुनै सहयोग गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment