+
+

लकडाउनका अथक यात्री !

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०७७ वैशाख ४ गते १३:२३

४ वैशाख, काठमाडौं । सुखको खोजीमा दुःखको भारी बोक्न राजधानी छिर्नेहरुको संख्या ठूलो छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीकाबीच सयौं‌ किलोमिटर परको घर सम्झेर पैदलै काठमाडौं खाल्डोबाट बाहिरिनेहरुको लस्करले यही बताउँछ ।

सरकारले गत १० चैतदेखि लकडाउन अर्थात् बन्दाबन्दी लागु गर्‍यो । सहरमा घर हुनेहरु ग्यास, दाल-चामल, फ्रोजन मिट र नुडलदेखि ड्राई फ्रुटसम्मका आवश्यक सामग्री जम्मा गरेर सरकारको कदममा दृढ समर्थन जनाउँदै बसे ।

भाडाको कोठा/फ्ल्याटवालाहरु पनि आ-आफ्नो बन्दोबस्ती बाँधेर बसे । यी सब नभएकाहरु पनि जसरी त्यसरी बसे । जब सरकारले बन्दाबन्दीको अवधि एक हप्ता बढायो, खास गरी मजदुर वर्गलाई भारी पर्‍यो । काठमाडौं बसौँ, बाँच्नलाई केही छैन । गाउँ फर्कौँ, देशभर सार्वजनिक सवारी ठप्प छ । गरौँ के ?

उनीहरुले विपदमा निर्विकल्प आँट गरे । काठमाडौंमा थुनिएका हजारौं मजदुर एकाध माना चिउराको भरमा मन बाँधेर सयौँ किलोमिटर टाढाको पैदल यात्रामा निस्किए । दिउँसो सडकमा निस्कँदा प्रहरीको डण्डा बर्सिँने अनि आ-आफ्नो जोहो गरेर घरभित्र सुरक्षित बसेकाहरुले ‘लकडाउन नटेर्नेहरुलाई ठोक्नैपर्छ’ भन्दै सामाजिक सञ्जालमा सरकारलाई उक्साउने अवस्थामा निरीहहरु रात पर्खेर लम्कन थाले ।

घण्टैपिच्छे साबुन पानीले हात धुनुपर्ने सरकारको उर्दीको देशभर खुसीसाथ पालना भइरहेको समयमा रातका ती हजारौं यात्रीसँग सुक्दो घाँटी भिजाउने पानीसम्म थिएन । सुन्निएर थोत्रो चप्पलको फिताले थेग्न छाडेका हजारौं जोर खुट्टाहरु काठमाडौंबाट सिराहा, सप्तरी, सुनसरी मात्र नभई सोलुदेखि पश्चिमको कैलालीतिर सोझिए । कोही धुलिखेल हुँदै त कोही थानकोट नाकाबाट ।

बन्दाबन्दीको तेस्रो हप्ता चलिरहँदा ३० चैतमा वीपी कोइराला राजमार्गमा फाट्टफुट्ट मोटरसाइकल र निजी गाडी चलिरहेका थिए । बीचबीचमा भेटिन्थे, पिठ्युँमा झोला वा काँधमा बोरा बोकेर हिँडिरहेका मैलाधैला मानव झुण्ड ।

राजमार्गको सुरुवातीबिन्दु धुलिखेल चोकबाट ओरालो लागेपछि एकाध ठाउँमा स्थानीय क्लबहरुले पुराना जुत्ता–चप्पल, पानी, बिस्कुट, चाउचाउ आदि राखिदिएको देखियो । ती चिजबिजसँगैका सूचनामा लेखिएका थिए– यात्रुका लागि निःशुल्क । सहरमा चलेको सरकारी सुरक्षा प्रवन्धले हुत्याएकाहरूका लागि गाउँमा जोगिएको मानवताको बिउजस्ता लाग्थे, यी सूचना ।

हामी दम्साइलो ओरालोमा अगाडि बढ्दै गयौँ। भकुण्डेबेसीमा राजमार्ग छेउका सटरहरु बन्द थिए । रोसी तरेपछि फाट्टफुट्ट पसल खुला रहेको देखिए । चेकपोस्टमा प्रहरीहरु कडिकडाउ गरिरहेका थिए ।

मुलकोटमा एउटा होटेल खुल्ला देखियो । गाडी रोकेर हामी त्यहाँ पस्यौँ । होटल सञ्चालक माइली श्रेष्ठले हिजोको तुलनामा आज यात्रुको लस्कर कम देखिएको बताइन् ।

उनले भनिन्, ‘हिजो बिहान त पाँचै बजे हुलका हुल मानिस खुट्टा खोच्याउँदै यहाँ आइपुगेका थिए । कोही त रुँदै हिँडिरहेका थिए ।’

लाग्यो, हिजै आएको भए बन्दाबन्दीमा धेरैले पाएको ढुंगे युगको दुःख रेकर्ड गरेर पाठकलाई देखाउन सक्थ्यौँ, तर ढिलो भएर चुक्यौँ। हामीले त्यहीबाट फर्कने निर्णय गर्‍यौँ।

मुलकोटबाट फर्केर १५ मिनेट के गुडेका थियौँ, नयाँ–नयाँ साइकलको पाइडल पेलिरहेका असिनापसिना भएका तीन युवक भेटिए । काभ्रेबाट बिहान १० बजे हिँडेका उनीहरुको गन्तव्य घुर्मी रहेछ ।

हामीले सोधखोजको मेसो निकालेपछि तीमध्ये २४ वर्षका अर्जुन मगरले हतारिँदै भने, ‘घर बनाउने काम गर्थ्यौँ । ११ गते सब कुरा बन्द भयो । खुल्छ कि भनेर पर्खिँदा झन् अप्ठ्यारो पर्न थालेपछि साइकल किनेर घर हिँडेका… ।’

उही उमेरका अरु दुईजना केशव बुढाथोकी र दीपक पोखरेल रहेछन् । साइकलको क्यारियरमा बाँधिएका झोलामा कपडा, चाउचाउ, बिस्कुट कोचिएका थिए । उनीहरु हामीभन्दा हतारमा थिए । ‘नयाँ साइकल भए पनि बाटो उकालो पनि छ’, केशवले भने, ‘जहाँ थाकिन्छ, एक झप्को त्यही सुतिन्छ । भोलि त घरै पुगिन्छ ।’

हामीले दिएको मास्क लगाएर उनीहरु हुइँकिइ पनि हाले । हामीलाई लाग्यो, बन्दीबन्दीको मारमा परेको यो खास टोली हो, जसको खल्तीमा नयाँ साइकल किन्ने नगद थियो, घर पनि अरुको तुलनामा नजिकै थियो ।

साँझको पाँच बजिसकेको छ । सडक छेउका टोलहरुमा मान्छेहरुको चहलपहल सुरु हुँदैछ । नेपालथोक छेउको चेक पोस्टमा रोकिएको एउटा मालबाहक ट्रकको इञ्जिन चालु नै थियो । बन्दाबन्दीमा खाद्यान्न ढुवानी छुट छ । तर, काठमाडौंमा खाद्यान्न पुर्‍याएर फर्केको यो ट्रकमा २५ जना मानिस कोचिएका रहेछन् । प्रहरीहरु केरकार गर्दै थिए ।

ट्रकभित्र फलामे पातामा बसेका मानिसहरु धुलोले छोपिएका थिए । एकाधको मुखमा मास्क देखिन्थ्यो । केहीले कपडाले मुख ढाकेका थिए । तीमध्येका एक दिनेश चौधरी तीन वर्षकी छोरी र पत्नीलाई समातेर डालामा अडेस लागेका थिए ।

‘हाम्रो काम र सडकमा गाडी एकैपटक बन्द भयो, खाने चिजबिज किन्न पैसा भएन’, उनले भने, ‘अनि जसोतसो घर पुलिएला भनेर हिँडेको चार घण्टामा यो ट्रक भेटेर चढ्यौँ ।’

ट्रकमा अधिकांश मजदुर थिए । कोही फर्निचरमा काम गर्ने, कोही गाह्रो लगाउने त कोही इँटा बोक्ने । ‘म घरमा पेन्टिङ गर्ने काम गर्छु । ठेकेदारले बैङ्क बन्द छ भनेर पैसा दिएनन्’, एक वर्षकी छोरी र पत्नीसहित रहेका सुबोध सिंहले भने, ‘खानै नपाउने अवस्था भएपछि सर्लाही घर हिँडेको, धन्न यो ट्रक भेटियो ।’

कुनामा कुक्रुक्क परिरहेका थिए, ५० वर्षीय रामलखन चौधरी । काठमाडौंमा वेल्डिङ पेशा गर्ने उनी बन्दाबन्दीले सबथोक बन्द गरेपछि जहान छोराछोरी सम्झेर सर्लाही हिँडेका रहेछन् ।

ड्युटीमा रहेका प्रहरी जवान निरञ्जन साहलाई हामीले सोध्यौँ, ‘यसरी आउनेहरुलाई प्रहरीले के गर्छ ?’

उनका आँखा टिलपिल हुन थाले । सकसका साथ सम्हालिँदै उनले भने, ‘बिजोग छ, फोका उठेर थिलथिलो भएको खुट्टा टेक्न सकीनसकी आउँछन् । खानेकुरा नभएर काठमाडौंबाट हिँडेर आएको भन्छन् । साथमा न पैसा छ, न खानेकुरा । हामी पनि मान्छे हौँ, सकेसम्म विभिन्न निकायसँग समन्वय गरेर, सहज बनाएर पठाउँछौँ। अरु के गर्न सक्छौँ र !’

त्यहाँबाट हिँड्दा झमक्क साँझ परिसकेको थियो । मंगलटारमा एक पुरुष चप्पल लगाएको खुट्टा खोच्याउँदै हिँडिरहेका थिए । उनी काठमाडौंमा ज्यामी काम गर्ने चन्द्रबहादुर तामाङ रहेछन् । बिहान सात बजे काठमाडौंबाट बाटो लागेका उनको गन्तव्य रामपुर रहेछ । ‘यहाँसम्म आइपुग्दा खुट्टा सुन्निएर, दुखेर हिँड्नै नसक्ने भइसकेँ, कसरी घर पुग्न सकुँला…’, पसिनाले भिजेका चन्द्रबहादुरले आत्तिएको लवजमा भने, ‘बाटैमा मरिन्छ कि क्या हो !’

हामीले पानीको बोतल दियौँ । उनले एकै सासमा आधा पानी घुट्क्याए अनि श्वासप्रश्वास नियन्त्रणमा आएपछि हामीतिर हेर्दै भने, ‘यो पानी सबै मलाई दिने कि… ।’

त्यसपछि हामीले अर्को बोतल पानी र दुई प्याकेट चाउचाउ पनि उनलाई दियौँ अनि भन्यौँ, ‘रात परिसक्यो, आज यतै, कतै बास बसेर भोली बिहान बाटो लाग्नुस् ।’

उनले टाउको हल्लाए । हामी एउटा विवश मजदुरलाई उनकै हालतमा छाडेर आफ्नो बाटो लाग्यौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?