Comments Add Comment

गुल्मीमा अलपत्र चार सय मजदुरको उद्धार

९ वैशाख, गुल्मी । लकडाउनका कारण गुल्मीमा अलपत्र चार सय भन्दा बढी मजदुरको उद्धार गरिएको छ ।

जिल्लामा सञ्चालित विकास आयोजनामा काम गर्दै आएका मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा उनीहरुको घरतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

जोहाङ, कालिगण्डकी करिडोर, पुल, रुद्रबेणी, वामीटक्सारलगायतका स्थानमा काम गर्दै आएका रुकुम, प्युठान, बाग्लुङ, रोल्पा, बाँके, बर्दिया, धादिङ, नुवाकोट, दाङलगायतका जिल्लाका मजदुर लकडाउनको समय थपिदै गएपछि समस्यामा परेका थिए ।

त्यस्तै जिल्लामा पैदलै हिँडेर आएका ५३ जनाको पनि विभिन्न स्थानीय तहको सक्रियतामा उद्धार भएको छ । शनिबारसम्म जिल्ला भित्रिएका ५३ जना मजदुरलाई एक रात स्थानीय क्वारेन्टाइनमा राखेर खानपिनको व्यवस्था गरेर सम्बन्धित जिल्ला र नाकाहरुमा पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

मुसिकोट नगरपालिकाले पर्वतको कुश्माबाट पैदल हिँडेर प्यूठान जाँदै गरेका ११ जना मजदुर उद्धार गरी जीप मार्फत प्यूठान पुर्‍याइदिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

धुर्कोट गाउँपालिकाले पनि पर्वतबाट हिँडेर प्यूठान जाँदै गरेका १६ जनालाई सवारी साधनको व्यवस्था गरिदिएको छ । बाँके कोहलपुर नगरपालिका घर भई वाग्लुुङमा खानेपानी र पुलको काम गर्दै आएका २४ जना मजदुरहरुलाई रेसुङ्गा नगरपालिकाले उद्धार गरेको छ । केही पुरुष, महिला र ससाना वालबच्चासहित चारदिन पैदल हिँडेर सदरमुकाम तम्घास आइपुगेका थिए ।

पोखरामा मजदुरी गर्दै आएका प्यूठान गौमुखी गाउँपालिकाका ६ जना मजदुरको पनि उद्धार गरिएको छ । पैदल हिँडेर आएका मजदुरलाई छत्रकोट गाउँपालिकाले सवारी साधनमार्फत सम्बधित स्थानमा पुर्‍याएको छ ।

बाग्लुङको गल्कोट नगरपालिका अन्र्तगत दरमखोलामा पुल निर्माणको काम गर्दै आएका सल्यानका १० जना मजदुरहरुलाई मालिका गाउँपालिकाले उद्धार गरेको छ । पैदलै हिंडेर मालिका पुगेका उनीहरुलाई जिप खोजेर सल्यान पठाएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

सुर्खेतबाट एघार दिनको पैदलयात्रा गर्दै वाग्लुङको ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेका नौं जना मजदुरलाई रुरुक्षेत्र गाउँपालिकाको रिडीमा उद्धार गरिएको छ । स्थानीय रुरु फ्रेण्ड्स क्लबले रिडीले खानाको व्यवस्था गरी बुर्तिवाङ पठाएको क्लबका अध्यक्ष रामलाल विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment