+
+

औषधीय गुणले भरिपूर्ण छन् भान्साका यी मरमसला

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते ९:११

भान्सामा पाइने विभिन्न मरमसलामा औषधीय गुण हुन्छ । यसले हाम्रो शरीरमा प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउँछ । यसका लागि गुर्जो, दालचिनी, जीरा, धनियाँ, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि उपयोग गर्न सकिन्छ ।

यी जडीबुटीहरूको उपयोग कसरी गर्ने ?

क. गुर्जोको उपयोग गर्दा आफ्नो हातको भित्ताले एक भित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठलाई राति सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोलिपल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडुची चूर्ण)प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडुची चूर्णलाई एक गिलास तातो पानीमा हालेर छोपिदिनुहोस् । छोपेको पाँच मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिँदै पिउनुहोस् ।

ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउँदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्यापसुल राति सुत्ने बेलामा खादाँ पनि रोग प्रतिरोधक क्षमता बढ्छ ।

ग. जिरा, धनियाँ, बेसार, लसुन, ज्वानो जस्ता जडीबुटीहरूलाई खानामा समावेश गरौँ ।

घ. जडीबुटी काँडाको प्रयोग : आधा लिटर पानीमा एक ग्राम (एक चुट्की) मरिच, एक ग्राम सुठो, एक ग्राम दालचिनी, एवं एक कप चिया चम्चा सख्खर हालेर उमाल्नुहोस । सबै जडीबुटीहरू मजाले पाकिसकेपछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस् । यसरी बनेको काँडालाई पाँच मिनेट पश्चात तात्तातौ पिउनुस् । यो काँडाले प्रतिरक्षा प्रणालीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला बसेको, घाँटी दुखेको, निको पार्छ ।

ङ. अचानक रुघामर्कीले सताई हाल्यो भने मरिच, सुठो र सख्खरलाई एकसाथ उमालेर चुलोबाट निकालिसकेपछि तातो पानीको घोलमा एउटा असुरोको पातलाई राम्रोसँग धोएर स-साना टुक्रा बनाएर उक्त घोलमा हालेर छोपिदिनुपर्छ। यसरी बनेको काँडालाई ५ मिनेट पश्चात तातो अवस्थामा नै पिउनुपर्छ।

च. ५ ग्राम अमलाको चूर्णलाई वा त्रिफला चूर्णलाई एक गिलास तातोपानीमा हालेर छोपिदिनुहोस । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिँदै पिउनुहोस् । यसरी बनाएको औषधि दैनिक दुईदेखि तीन चोटी पिउनुहोस्।

छ. एक गिलास दूधमा एकदेखि दुई ग्राम शुद्ध बेसार हालेर राति सुत्ने बेलामा पिउनुहोस् । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्छ ।

ज. आधा-आधा घण्टामा एक-एक गिलास मनतातो पानी पिउँदै रहनुहोला ।

व्यक्तिगत  स्वच्छताको कति महत्व

संक्रामक रोगहरूको सम्बन्ध  व्यक्तिगत स्वच्छतासँग छ।  हात र खुट्टाको सरसफाइका लागि नियमित साबुन पानीले हात गोडा धोइरहनुपर्छ भने नाक, मुख एवं गलाको सफाइका लागि भने जलनेती, कुञ्जल, वाष्प ग्रहण, नाक एवं मुखमा घिउ वा तेल स्नेहन जस्ता विशेष चिकित्सकीय विधिहरू अपनाउन सकिन्छ ।

क. जलनेतिः उमालेर सेलाउदै गरेको एक लिटर मनतातो पानीमा १५ ग्राम नुन हालेर नुनलाई पूरै घुल्न दिनुहोस्।अब यो मनतातो पानीलाई जलनेती पात्र वा पानीखाने करूवामा हालेर एउटा नाकको प्वालबाट हालेर अर्को नाकबाट निस्कन दिनुपर्छ र एउटा नाकबाट हाली सकेपछि अर्को नाकबाट पनि गर्नुपर्छ। यसो गर्दा नाक पूरै सफा हुन्छ। यो विधि नित्तान्त प्राविधिक भएकाले दक्ष प्रविधिकसँग सिकेर मात्र अपनाउनु होला ।

ख. कुञ्जलः कुञ्जल पेट एवं गला सफा गर्ने विधि हो । यसका लागि डेढदेखि दुई लिटर उमालेर सेलाउँदै गरेको मनतातो पानीको आवश्यकता पर्छ । मनतातो पानीमा ठिक्क नुन हालेर घोल्नु पर्छ । नुन पूरै घुलिसकेपछि टुक्रुक्क बसेर सबै पानी छिटोछिटो  पिउनुपर्छ । पिउने बित्तिकै उभिएर मुखमा हातको औँला हालेर पूरै पानी छानिदिनुपर्छ। यो पनि नित्तान्त प्राविधिक विधि भएकाले दक्ष प्रविधिकसँग सिकेर मात्र अपनाउनु होला ।

ग. वाष्प ग्रहणः उम्लिएको पानीमा सञ्चो वा पुदिनाको पात वा तुलसीको पात हालेर सो पानीको वाष्प ग्रहण गर्नुपर्छ। वाष्प ग्रहण गर्दा वाफलाई एकत्रित गर्न कम्बलले मुख छोप्नुपर्छ। आजकाल बजारमा फेसियल सोनाको नामले वाष्पयन्त्रहरू पनि पाइन्छन्।

घ. नाकमा घिउ वा तेल हाल्ने : दैनिक दुईपल्ट दुवै नाकमा दुई-दुई थोपा तिलको तेल वा नरिवलको तेल वा तोरीको तेल वा गाईको घिउ हाल्ने गर्नुस् । यसले नाकमा संक्रमण हुन दिँदैन।

ङ. तेल वा घिउले कुल्ला गर्ने : ठूलो चम्चाको एक चम्चा तोरी, तिल वा नरिवलको तेल वा गाईको घिउलाई मुखमा हालेर तीन मिनेटसम्म कुलुकुलु गरिरहनुहोला। तीन मिनेटपछि यो तेल वा घिउलाई ननिलिकन सबै थुकिदिनुहोला । एकछिनपछि मनतातो पानीले मुख कुल्ला गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?