
१२ वैशाख, डोटी । ‘म सुदूरपश्चिमको पहिलो कोरोना भाइरस संक्रमितको ‘ट्राभल हिस्ट्री’ लिइरहेकी थिएँ । विवरणहरू फाराममा भर्दै गर्दा उहाँको रिपोर्ट पोजेटिभ भएको खबर आयो । त्यो सुन्दा आफू उभिएको भुइँ सरेजस्तो लाग्यो ।’ यो अनुभव हो सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्सिङ्ग इन्चार्ज सीमा शर्माको ।
आफूले हेर्दै आएको बिरामीमा कोरोना संक्रमण भएको थाहा भएपछि उनी एकछिन त्रसित बनिन् । के गर्ने, के नगर्ने अलमलमा परिन् । ‘अनायासै छोरी र घरपरिवार सम्झेँ’, उनी भन्छिन्, ‘हामी सबै स्टाफ डरायौँ तर सम्हालिएर अघि बढ्नुको विकल्प थिएन ।’
त्यसलगत्तै, स्टाफ मिटिङ्ग बस्यो र सुरक्षाको लागि उपलब्ध सबै विधि अपनाएर बिरामीको सेवा गर्न थालेको उनी बताउँछिन् । अलग वार्डको बन्दोबस्त मिलाएर काम गर्दै जाँदा बिस्तारै डर पनि हराउँदै गएको उनले सुनाइन् ।
११ चैतदेखि सेती अस्पतालको आइसोलेसनमा बसेका कैलालीका एक युवकमा १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । २८ दिन लामो अस्पताल बसाइँपछि उनी निको भएर मंगलबार (९ वैशाख) घर फर्किएका छन् ।
तर, सीमा शर्मा र स्वास्थ्यकर्मीहरूको टोलीलाई भने अस्पताल बाहिर निस्कने फुर्सद छैन ।
अस्पतालका सबै स्वास्थ्यकर्मीहरूको सीमाको जस्तै अनुभव छ, उनीहरू भन्छन्, ‘आइसोलेसन वार्डमा रहेका बिरामीको कोरोना पोजेटिभ आउँदा झसंग भइयो ।’

कोरोना भाइरस संक्रमितको जाँच र उपचारको अग्रपङ्क्तिमा खटिएका डा. शेरबहादुर कमर पहिलो ‘केस कन्फर्म’ हुँदा झसंग भएको बताउँछन् । ‘तर, त्यसभन्दा पहिले काठमाडौंमा कोरोनाको संक्रमण देखापरिसकेको र त्यसअघि मैले कोरोनासम्बन्धी गोष्ठीहरूमा भाग लिइसकेकाले सम्हालिन धेरै समय लागेन,’ उनी भन्छन् ।
घरपरिवारमा डर
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डे पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत स्वास्थ्य सुरक्षाका सामग्री नहुँदा पनि सुरुमा खास गरी नर्सिङ स्टाफ तनावमा परेको बताउँछन् । तर, क्रमशः सम्हालिएका उनीहरू अहिले पालैपालो एक साता अस्पताल र दुई साता क्वारेन्टाइनमा बसेर काम गरिरहेका छन् ।
अस्पतालको महामारी व्यवस्थापन समितिका संयोजक समेत रहेका विशेषज्ञ चिकित्सक डा. जगदीश जोशीको धनगढीमै घर छ । तर, उनी २१ दिनदेखि घर नगई बिरामीको सेवामा जुटेका छन् । उनले दुई पटक आफ्नै परीक्षण पनि गराएका छन् । डा. जोशी भन्छन्, ‘जोखिम मोलेर बिरामीको सेवा गर्न पाएकोमा विशेष सन्तुष्टि मिलिरहेको छ ।’
डा. कमरका अनुसार, स्वास्थ्यकर्मीहरूको घरपरिवार र आफन्तजन भने अझै पनि डराइरहेका छन् । तारन्तार फोन गरेर चिन्ता व्यक्त गर्ने परिवार, आफन्त, साथीभाइ सबैलाई सम्झाउँदै अस्पतालमा काम गरिरहेको डा. कमर बताउँछन् । संक्रमितहरू निको हुँदै घर फर्किन थाल्दा भने तनाव घट्ने गरेको उनले बताए ।
‘नयाँ संक्रमण नदेखिँदा भारतबाट ठूलो हुलमा आएका व्यक्तिहरूमा संक्रमण छैन भन्ने बुझिन्छ’, डा. कमर भन्छन्, ‘तर, सामान्यतः सातदेखि १० दिनभित्र देखिसक्नु पर्ने लक्षण नदेखिएर भित्रभित्रै फैलिरहेको पनि हुन सक्छ । त्यसो भयो भने अवस्था भयावह हुन्छ ।’
अस्पतालमा भने सुरुको जस्तो व्यवस्थापन र सामग्रीहरूको समस्या नभएको उनले बताए । ठूलो संख्यामा संक्रमण देखियो भने अहिलेको प्रवन्धले नथेग्ने उनी बताउँछन् ।
पहिलो संक्रमितको स्वाब संकलन गरेका प्रयोगशालाका प्राविधिक हरिकृष्ण रानालाई आफ्नै अस्पतालमा कोरोना भेटिएला जस्तो लागेको थिएन । तर, रिपोर्ट पोजेटिभ आएपछि मन दह्रो बनाएर काम गर्नुको विकल्प नरहेको उनी बताउँछन् । अहिले सेतीलाई कोरोना भाइरस संक्रमितको उपचार गर्ने ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ । सुदूरपश्चिमका संक्रमितहरूलाई यही अस्पताल पठाइन्छ ।
अस्पतालका विशेषज्ञ डाक्टरसहित सबै स्वास्थ्यकर्मी र कर्मचारी आलोपालो ड्युटीमा जुटेका छन् । एक साता ड्युटी गरेको समूह १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्ने थिति बसालिएको छ ।
प्रतिक्रिया 4