+
+

सम्झनामा रत्न समशेर थापा : बिछोडको पीडा नसकी खप्न

शिव मुखिया शिव मुखिया
२०७७ जेठ १५ गते २०:१५

‘सञ्चो-बिसञ्चो’, ‘हालखबर’ सुनाइसकेपछि उनी एकाएक जंगिए, ‘नारायण गोपालको कुरा गर्दै नगर्नुस् ।’

यसबीचमा हामीले प्रश्न घुसाएका थियौं, ‘नारायण गोपालले तयार गरेको धुनमा तपाईले गीत लेख्नुहुन्थ्यो रे ?’

यो प्रश्नले गीतकार रत्न शमसेर थापाको ‘रक्तचाप’ बढ्ने रहेछ । हालैको साँझ उनकै घरको बैठक कोठामा पाइजामा र सर्ट लगाएर सोफामा लमतन्न पल्टिरहेका उनले सुरुमा कुरा गर्न जाँगर देखाएनन् । ‘हाजिर जावफ’ शैलीमा औपचारिकता निर्वाह गरेपछि हामी सोझै बिषयवस्तुमा प्रवेश गरेका थियौ । त्यहीबेला उनी जंगिएका थिए ।

‘तपाईहरु जस्तो पत्रकारले यस्तै–यस्तै सोध्नुहुन्छ, लेख्नुहुन्छ’ उनले छेवैमा रहेको चुरोटको ठूटो टिपे तर, सल्काएनन् । भने, ‘यस्तो फटाई धेरै चलेको छ क्या, फ्याक्ट कुरो कसैलाई थाहै छैन ।’

‘फ्याक्ट के हो त ?’ हामीले जान्न खोज्यौ ।

जवाफमा उनले भने, ‘फ्याक्ट के भने, मैले लेखेर गीत दिन्थे, उनले गाउँथे ।’ त्यतीमै उनी रोकिएनन् । यसो भने, ‘मैले लेखेको गीतले ऊ (नारायण गोपाल) हिट भएको । ट्युनमा उसँग लेखिन, अरुसँग लेख्या छु । तर, उसँग लेखिन ।’

नारायण गोपालसँग उनको दोस्ती दुई बर्ष चल्यो । त्यो दुबैको करियरको पूर्वाद्धको समय थियो । दुबै राजधानीका रैथाने । हुनेखानेकै छोरो । त्रिचन्द्र क्याम्पस पढ्थे । त्यही ताका हो उनीहरु ‘क्लासमेट’ भएको । यो सन् १९६० ताकाको कुरा ।

त्यस अवधीमा रत्न समशेर थापाको नारायणगोपालसँग दोस्ती मात्र रहेन । त्यो भन्दा एक कदम अघि बढेर दुबै एकअर्काको टेको बने, करियरको सिंढी चढ्ने । थापा गीत लेख्न माहिर, नारयाण गोपालको आवाजमा शक्ति । यसरी संगीतले उनीहरुलाई एकाकार गरायो ।

‘अलिकति के भने, सब्जेट म्याटरमा डिस्कस हुन्थ्यो’ धेरैजसो अंग्रेजी शब्दावली प्रयोग गर्ने थापा अलि मत्थर भए, ‘कहिले माग्नेको गीत लेखौं भन्थ्यो, कहिले लाहुरेको गीत लेखौं भन्थ्यो ।’ यसरी नै जन्मिएका थिए, आधा दर्जन अजम्बरी गीत ।

दुई बर्षमा, दुई किनारा

नारायण गोपालको प्रसंगमा रत्न समशेर थापा छुटाउन सकिदैन । रत्न समशेर थापाको कथामा नारायण गोपाललाई अलग गर्न सकिदैन । दुबै एकअर्काको परिपुरक नहुँदो हो त, नेपाली संगीतको एउटा आयम अधुरो रहन्थ्यो ।

‘ए कान्छा ठट्टैमा’, ‘आँखाको भाका’, ‘बिछोडको पीडा’ जस्ता आधा दर्जन गीत भटाभट रत्न समशेर थापाले लेखे, नारायण गोपालले त्यसलाई स्वरवद्ध गरे । अक्सर उनीहरु भेटमा गीत–संगीतको चर्चा गर्थे । नातिकाजी पनि क्लासमेट । संगीतले उनीहरुलाई गोलवद्ध गरेको थियो ।

तर, नारयण गोपाल र रत्न समशेर थापाको संगत दुई बर्ष भन्दा बढी लम्बिएन । एउटा पूर्व, अर्को पश्चिम भए । नदीको दुई किनारा झै भए, जसको कुनै मिलनविन्दु रहेन ।

‘उनको (नारायण गोपाल) फादर चाहि फेमस सितार बादक हो, आशागोपाल’ थापाले सम्झिए, ‘छोरो क्लासिकल सिंगर बनोस् भन्ने ठूलो इच्छा थियो ।’ पछि नारायण गोपालले छात्रावृत्ति पाए, माहाराजा सायाजीवारव युनिभर्सिटी अफ बडोदा’मा

नारायण गोपाल बडोदा गए, रत्न शमसेर यहि बसे । यसरी उनीहरुको भौगोलिक दुरी बढ्दै गयो । बडोदाबाट  फर्केपछि नारायणको संगत दार्जिलिङे संगीतकर्मीहरुसँग भयो । ‘ऊ दार्जिलिङेहरुको संगतमा गयो, म आफ्नै सर्कलमा बसें’ थापाले भने, ‘न मैले उनलाई वास्ता गरे, न उनले मेरो चासो राखे ।’

नारायण गोपालको त्यो पत्र

कुरै कुराको सिलसिलामा थापाले खुलाए, नारायण गोपालले उनलाई लेखेको पत्रबारे । पिताको इच्छा शिरोधर गर्दै बडोदामा शास्त्रिय संगीत सिक्न गएका नारायण सुरुवाती दिनमा विरत्तिएछन् । त्यहीबेला नारायण गोपालले पत्र लेखे, हितैषी रत्न समशेरलाई ।

के भनेर लेखिएको थियो चिठी

‘मलाई यो क्लासिकल त्यती मन परेको छैन भनेर’ थापाले सुनाए, ‘अलि विरक्तिएका रहेछन् ।’ नभन्दै उनी बडोदाबाट अध्ययन पुरा नगरी फर्किए । बडोदा गएपनि उनले सम्झिएका साथी रहेछन्, रत्न समशेर थापा । हामीले यहि प्रसंग निकालेपछि थापा रौसिए, ‘हो, एक किसिमको अट्याचमेन्ट थियो । यहाँ आउथ्यो । भेट्थ्यौं । कुराकानी गथ्र्यौ । जमघट हुन्थ्यो ।’

पत्रकारले फेब्रिकेट गरिदिए

घुमाई–फिराई नारायण गोपालको प्रसंग आइहाल्ने । र, त्यही बिन्दुमा आइपुगेपछि उनको पारो बढ्ने । भनिहाले, ‘यो पत्रकार भन्नेसँग नि, मलाई एलर्जी हुन थालेको छ ।’

धेरैले लेखेछन्, ‘रत्न समेशर थापा र नारायण गोपाल दुबै घमन्डी भएकाले छुटे ।’ कसैले ‘दुबैबीच दुश्मनी बढेको’ भनेछन् । कसैले ‘यिनीहरुबीच केहि मनमुटाव भए होलान्’ भनेछन् ।

‘वास्तवमा फ्याक्ट जे हो, त्यो कसैले लेखेनन्’ थापा जंगिए, ‘यस्तो कुरालाई फूलबुट्टा भरे । मैले बोल्दै नबोलेको पनि लेखे । यिनीहरुमा केहि भएको होला रे, केहि भएकै होइन । गोपाल योञ्जनसँग संगत भएपछि ऊ तर्किएर हिँड्न थाल्यो ।’

खासमा नारायण गोपालको कारण आफु ‘गीतकार’ भएको भन्ने बुझाईप्रति उनको घोर आपत्ति रहेछ । हुनपनि, उनी नारायण गोपालको बुँई चढेर गीतकार भएका होइनन् । बरु, उनीहरुबीच मधुर सहकार्य रह्यो । त्यही धरातलमा उनीहरुले आ–आफ्नो खुट्टा टेके ।

‘मेरा गीतबाट धेरै गायक माथि उठेका छन्’ उनले भने, ‘प्रेमध्व प्रधान गोरेटो भन्ने गीतबाट, माणिकरत्न त्यो खोलाको साङ्लो पानीबाट । ऊ अहिलेपनि भन्छ, तिम्रो दुई वटा गीतले म यो ठाउँमा उभिएँ ।’ आफ्नो कलमको ताकत नहुँदो हो त, नारायण गोपालसँग संगत छुटेसँगै बिलाएर जाने उनको भनाई छ ।

फ्याक्ट के हो ?

उनले पटक पटक भने, ‘फ्याक्ट कुरो के हो, कसैलाई थाहै छैन ।’

हामीले पनि उतिनै पटक दोहो¥याएका थियौ, ‘के हो त फ्याक्ट ।’

उनले मुख खोले, ‘फ्याक्ट के भने, नारायण गोपाल मेरै गीतले हिट भएका हुन् ।’ करियरको पूर्वाद्धमा नारायण गोपालले केहि कालजायी गीत गाए । ‘ए कान्छा ठटटैमा’, ‘बिछोडको पीडा’, ‘आँखाको भाका’ । र, यी गीतका गीतकार उनै रत्न समशेर थापा ।

‘नारायण गोपालले मेरो दर्जन जति गीत गाए होलान् । तर, अरु सैयौंले गाएका छन् । हिट पनि भएको छ । योगेश बैंद्यजथीले गाएको मेरो गीत अहिले एमएको कोर्समा छ । यो हो तथ्य’ यति भनेर उनले चुरोटको ठुटो सल्काउन खोजे, ‘तर, यस्तो फ्याक्टलाई नि ओभरल्याप गरेर बीच बीचमा मनगढन्ते कुरा घुसाइन्छ क्या ।’

(प्रशिद्ध गीतकार रत्नशमशेर थापाको हालै निधन भएको छ । केही बर्षअघि अनलाइनखरले उनीसँग नारायाण गोपालसँगको सम्बन्धबारे कुराकानी गरेको थियो ।)

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?