Comments Add Comment

जीर्ण बन्यो विश्वविख्यात टाइगर टप्स

२४ जेठ, चितवन । नेपालको पर्यटन क्षेत्रको पायोनियर मानिने चितवनस्थित टाइगर टप्स होटल अहिले जीर्ण बनेको छ ।

विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सिकार पारखी, जंगल पारखी, सेलिब्रेटीहरू आउने टाइगर टप्स होटल अहिले सुनसान छ । रिसोर्टका संरचना भत्किँदै, बिग्रिँदै गइरहेका छन् ।

‘अहिले साधारण काम गरिहेका छौं खास केही छैन, उराठ र उदास लाग्छ,’ टाइगर टप्स होटलका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङ भन्छन्, ‘टाइगर टप्सको त्यो चार्म सकियो, मुलुकलाई घाटा भयो, अन्तर्राष्ट्रिय बजारमा नेपालको वाइल्ड टुरिज्मबारे नकारात्मक धारणा गयो, यो दुःखद छ ।’

कुनै बेला विश्वस्तरमा नै चर्चामा रहेको टाइगर टप्स अहिले संग्रहालय बन्दै गएको छ । नेपालको पहिलो जंगल सफारी होटल हेर्नका लागि भन्दै निकुञ्ज घुम्नेहरु आउने गरेको होटलका प्रवन्धक गुरूङ बताउँछन् । सौराहा, कसरा लगायतका क्षेत्रबाट जीप सफारीमा आउनेहरू टाइगर टप्स होटल हेर्न भनेर आउने गरेको उनी बताउँछन् । ‘निकुञ्ज भित्रको एउटा पर्यटकीय गन्तव्य जस्तो बनेको छ टाइगर टप्स,’ गुरूङ भन्छन्, ‘हामीले कसैलाई पनि रोकतोक गरेका छैनौं, आउनुहुन्छ, फोटो खिच्नुहुन्छ, त्यस्तो चर्चित होटल बन्द भएको देखेर दुःख मानेर फर्किनुहुन्छ ।’

किन बन्द भयो ?

जंगली जनावरको सुरक्षामा गम्भिर असर परेको निष्कर्षसहित सर्वोच्च अदालतको २०६९ को आदेशअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सन्चालित टाइगर टप्ससहितका होटलहरु बन्द भए । होटल बन्द भएको ८ वर्ष भइसक्यो, तर अझै पनि चलाउन पाइन्छ की भन्ने आशमा होटल सन्चालक ।

फेरि चल्ने झिनो अपेक्षासहित टाइगर टप्स होटल व्यवस्थापन पक्षले जीर्ण संरचना कुर्न आफ्ना कर्मचारीहरुलाई तलब दिएर खटाइरहेको छ । टाइगर टप्स होटलका मुख्य दुई संरचनाहरु जीर्ण बनेका छन् । टिनमाथि राखिएको खर कुहिएको छ । काठहरु धमिराले खान थालेको छ । धमिराबाट जोगाउन मालाथिन पाउडर र मट्टितेलले छर्किने गरेको एक कामदारले बताए । अहिले होटल कुरेर बसेका कर्मचारीहरुले कतै पानी चुहिए त्रिपाल वा प्लास्टिकले ढाक्ने गरिरहेका छन् । होटल अगाडि झाडि फैलिएको छ ।

सञ्चालन हुँदा तीन सय जना कामदारले जागिर पाएको यस होटलमा अहिले १६ जना मात्रै छन् । २० कोठाको टाइगर टप्समा ६० बेड थियो । क्षमता ६० जनाको भए पनि ४० जना भन्दा बढी कहिल्यै नराखेको होटल प्रवन्धक गुरूङ बताउँछन् । निकुञ्जभित्र १०० विघामा फैलिएको टाइगर टप्स होटलमा वार्षिक ६ हजारदेखि ८ हजारसम्म पर्यटक यहाँ आउने गर्दथे । ती सबै भीआईपी र महंगा पर्यटक हुने गरेको गुरूङ स्मरण गर्दछन् ।

सरकारले होटल खोल्न आदेश दिए फेरी पनि सञ्चालन गर्न सकिनेमा आशावादी छन् गुरुङ । होटल चलाउन व्यवस्थापन पक्ष पनि तयार नै छ । ‘त्यही आशा र मायामा होटल कुरेका छौं,’ विगत १५ वर्षदेखि हातीको स्याहारसुसार र रेखदेख गर्दै आएका कामदार दिलिप महतो भन्छन्, ‘साहुजीले अझै एक–दुई वर्ष हेरौं भन्नुभएको छ, चल्छ की भन्ने आशा छ ।’

सन् १९६९ अक्टोवरदेखि अविच्छिन्न रूपमा टाइगर टप्समा काम गर्दै आएका धनबहादुर तामाङ ‘ड्यानी’लाई टाइगर टप्स बन्द हुँदा निकै दुःख लागेको छ । गएको अप्रिलमा पछिल्लोपटक टाइगर टप्स पुगेका उनलाई त्यहाँको भत्किन लागेको संरचना देखेर मन खिन्न भयो । उनले अनलाइनखबरसँग भने, ‘त्यो चमकधमक भएको टाइगर टप्स देख्ने पनि यिनै आँखा हुन्, आज यो हविगतको टाइगर टप्स देख्ने पनि यिनै आँखा भए, असाध्यै नरमाइलो लाग्यो ।’

होटलको संरचना कुहिन लागेको, कतै भत्किएको देख्दा आफू निकै दुःखी भएको ड्यानीले बताए । लगातार ५१ वर्षसम्म टाइगर टप्सको सेवा गरिरहेका ड्यानी हाल टाइगर टप्सकै टाइगर थारु लजमा काम गर्छन् । टाइगर टप्स चलेको हेरेर मर्ने धोको रहेको उनले सुनाए । असाधारण अनुभवका एक नेचरलिस्ट ड्यानीको जीवन नै जंगल, वन्यजन्तु, प्रकृति र पर्यावरणमा बितेको छ ।

टाइगर टप्स बन्द भएपछि अमलटारीमा होटल व्यवस्थापनले टाइगर थारु लज खोलेको छ, तर टाइगर टप्स जतिको चार्म त्यसको छैन । निकुञ्जभित्रको टेम्पल टाइगर, मचान र आइल्यान्ड जंगल मध्यवर्ती क्षेत्रमा सरेका छन् । ‘टाइगर टप्स बन्द हुँदा राज्यको गहना र चितवनको चिनारी नै नामेट भयो, ब्राण्ड भ्यालु नै सकियो,’ होटल प्रवन्धक गुरूङले भने ।

दुई पोस्टको सुरक्षा जिम्मा टाइगरटप्स कै !

चितवनमा पर्यटन व्यवसाय सुरु गर्ने टाइगर टप्स होटल विश्वस्तरमा कहलिएको थियो । विदेशसम्मै पुगेर आक्रामक मार्केटिङ गरेर महंगा पर्यटक भित्राउँथ्यो ।

निकुञ्ज भित्रका होटलले गर्दा जंगली जनावरको सुरक्षामा गम्भिर असर गरेको आरोप लगाएर होटल बन्द गराइयो । तर, अहिले पनि होटलले निकुञ्जको सानो क्षेत्रको सुरक्षामा सघाइरहेको टाइगर टप्सका प्रशासनिक प्रवन्धक रामसिंह गुरूङ बताउँछन् ।

भिमली पोस्ट र सुरुङ पोस्टमा हात्ती उपलब्ध गराएर सुरक्षामा सघाउने काम गरिरहेको गुरुङले बताए । निकुञ्जका सुरक्षाका लागि भन्दै होटलले दुई हाती स्टाण्डबाई राख्ने गरिएकोमा बर्खामा बढाएर छ वटा राख्ने गरिन्छ । ‘अब बर्खा लाग्यो रिउँ बढ्ने भएकाले निकुञ्जकै अनुरोधमा ८ वटा हात्ती परिचालन गरेर निकुञ्ज सुरक्षा गर्छौं, सूचनाहरु दिन्छौं,’ प्रवन्धक गुरूङ भन्छन्, ‘होटल हुँदा नै निकुञ्जलाई सघाउ पुगेको छ, हामी त वाच डगका रुपमा नै बसेका छौं, हाम्रो धर्म छाडेका छैनौं ।’

निकुञ्जभित्र रिसोर्ट सञ्चालन गर्न दिँदा वन्यजन्तु खतरामा परेको, वातावरण बिगारेको आरोप लाग्यो । प्रतिस्पर्धी होटल व्यववसायीका साथै गैरसरकारी संस्था पनि सक्रिय भए र होटल बन्द भए । टाइगर टप्सको प्रतिस्पर्धा स्थानीय व्यवसायीसँग थिएन । अफ्रिकन सफारी रिसोर्ट सञ्चालकसँग थियो । निकुञ्जका होटल बन्द भएपछि नेपाल आउने महंगा पर्यटक अफ्रिका जान थालेको टाइगर टप्सका प्रशासकीय प्रवन्धक गुरूङ बताउँछन् ।

२०६९ सालसम्म चितवन निकुञ्जभित्र टाइगर टप्स, मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट गरी पाँच होटल सञ्चालनमा थिए । गैंडा वाइल्ड लाइफ क्याम्प भने मजदुर विवादका कारण त्यसअघि नै बन्द भइसकेको थियो । बाहिरी संसारमा नाम कमाइसकेका निकुञ्जभित्रका होटलहरु बन्द भएसँगै चितवनले ठूलो संख्यामा महंगा पर्यटक ल्याउने सम्भावना गुमाएको छ ।

टाइगर टप्स एक होटलको नाम मात्रै थिएन । यो सबैतिर जोडिएको पनि थियो । यसको प्रगती एउटा व्यवसायमा सीमित थिएन । टाइगर टप्सका कतिपय कर्मचारी आफैंले व्यवसाय सुरू पनि गरे । टाइगर टप्स सुरू गर्दा सौराहा गुमनाम थियो । निकुञ्ज बाहिर धमाधम होटेल खुल्न थाले । सौराहा, मेघौली गुल्जार बन्दै गए । पछि पटिहानी थपियो । टाइगर टप्समा बस्न नसक्ने पर्यटक सौराहामा आउँथे । चितवन देशकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्य पनि बन्यो । अहिले यहाँका सबै होटेलको एउटै प्रोडक्ट छ, हात्ती र जीप सफारी, जसलाई टाइगर टप्सले नै सुरू गरेको थियो ।

दैनिक ९ वटासम्म हेलिकोप्टर आउने मेघौली विमानस्थल बन्द नै छ । यहाँका स्थानीयवासिन्दा जंगलभित्र होटल चलाउनुपर्ने माग गर्छन् । मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतो निकुञ्जभित्रका होटल चलाउनुपर्ने बताउँछन् ।

निकुञ्जभित्र होटलहरु चल्दा नेपाल आउने कुल पर्यटकको १० प्रतिशसम्म सफारी गर्न पुग्थे । तर, अहिले ४ प्रतिशत हाराहारीमा झरेको छ ।

टाइगर टप्सको इतिहास

टाइगर टप्सलाई जंगल पर्यटनको कोशेढुंगा मानिन्छ । होटल टाइगर टप्स, निकुञ्ज नबन्दै खुलेको होटल हो । पर्यटनका पायोनियर बेलायती नागरिक जिम एडर्वड्स, अमेरिकन नागरीक वान्ना र केलीनले टाइगर टप्स हन्टिङ नामको कम्पनी खोलेर सन् १९६४ मा चार कोठाबाट टाइगर टप्स सुरु गरे । सन् १९६५ मा निकुञ्ज स्थापना भयो । जिम एडर्वड्सको २०६५ सालमा निधन भइसकेको छ । जेठो छोरा क्रिस्टिन र कान्छो छोराले टाइगर टप्सको व्यवसाय हेर्छन् । माइलो छोराले श्रीलंकामा लक्जरी रिसोर्ट चलाइरहेका छन् ।

त्यसअघि अफ्रिकामा सफारी र हन्टिङ पर्यटन सुरू भइसकेको थियो । संसारका धनाढ्य महँगो प्याकेज किनेर अफ्रिका जान्थे । अफ्रिका जाने महँगा पर्यटकको सानो हिस्सा भए पनि नेपाल भित्राउन सकिने विश्वास बढ्यो । नेपाल, अफ्रिकाका तुलनामा हिमालय पर्वत श्रृंखलासमेत भएको भर्जिन ठाउँ थियो । हावापानी पनि अफ्रिकाको भन्दा राम्रो भएकाले नेपाल भित्राउन सकिने सम्भावना देखेर चितवनमा टाइगर टप्स हन्टिङ कम्पनी खोलियो । सन् १९६० को दशकमै हन्टिङ, सफारी र पदयात्रा पर्यटन सुरू भएको थियो ।

सन् १९७२ बाट जिम एडर्वड्स एक्लैले टाइगर टप्स किनेपछि नेपाली पर्यटनले नयाँ मोड लियो । टाइगर टप्स किनेपछि सफारी टुरिजमको प्रचार प्रसार र प्रवद्र्धनमा जिम जुटे । टाइगर टप्सले बाघ सिकार गर्ने पर्यटन सुरू गरेको थियो । त्यतिबेला बाघ मार्न विश्वमा कतै रोकतोक थिएन । पछि संरक्षणको अभियान सुरु भयो । बन्यजन्तु मार्न नपाइने भएपछि जिमले सफारी टुरिजम सुरू गरे । नेपालमा सफारी टुरिजम सुरू गर्ने जस उनैलाई जान्छ । उनै जिमले हात्ती, डुंगा र जीप सफारी गराएर पर्यटकको क्षेत्रमा नयाँ प्रोडक्ट थपे र प्रचार गरे ।

अफ्रिकामा सफारी गर्न जाने पर्यटकको ध्यान बिस्तारै नेपालतर्फ खिचिन थाल्यो ।  संसारभर टाइगर टप्सको नाम चर्चामा आउन लाग्यो ।

जिमले ब्रिटिस रोयल फेमिलीसँग राम्रो सम्बन्ध बनाएका थिए । यसैले रोयल फेमिलीका धेरैजना टाइगर टप्स आउँथे । वन्यजन्तुमा रुचि भएका पर्यटक टाइगर टप्समा आउँथे । टाइगर टप्सले मेघौली एयरपोर्टमा हात्तीपोलो खेल सुरू गराएर सफारी पर्यटनमा नयाँ आयाम थप्यो । हात्ती पोलो खेल्न विश्वका धनाढ्यहरु यहीँ भेला हुन्थे । जिमले एडभेञ्चर ट्राभलहरु पनि खोलेका थिए । बुकिङ लिन भ्याइनभ्याइ हुन्थ्यो । टाइगर टप्समा दुई वर्ष अगावै बुकिङ गर्नुपर्ने अवस्था समेत थियो ।

टाइगर टप्सले सन् १९७४ देखि निकुञ्जभित्र टाइगर टप्स टेन्टेड क्याम्प पनि खोल्यो । एउटा क्याम्पमा १२ वटासम्म टेन्ट टाँगेर २४ जना सुत्न सकिन्थ्यो । निकुन्जभित्र होटेल र टेन्टेड क्याम्प खुल्ने क्रम बढ्दै गयो । निकुञ्जभित्र आइल्यान्ड जंगल लज, टेम्पल टाइगर्स लज, सफारी नारायणी, चितवन जंगल लज, मचान वाइल्ड लाइफ रिसोर्ट र गैंडा वाइल्डलाइफ क्याम्प खोलिएका थिए । अधिकांशले विभिन्न ठाउँमा टेन्टेड क्याम्पसमेत खोलेका थिए । निकुञ्जभित्रका होटेलमा खर्चालु पर्यटक आउँथे ।

वन्यजन्तु पारखी पर्यटकका लागि विख्यात टाइगर टप्समा उच्च ओहोदाका व्यक्ति र थुप्रै सेलेब्रिटी पाहुना बास बस्थे । अफ्रिकाको सफारीमा निस्कने पर्यटक यहाँ आउँथे । विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्र तथा सरकार प्रमुख, राजनीतिज्ञ, चर्चित लेखक, चिन्तक, गायक, नायक, निर्देशकसम्म टाइगर टप्स लजको पाहुना बनिसकेका छन् ।

अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन (१९८५), ब्रिटिस प्रिन्सेस अन्ना (१९८१) प्रिन्स ह्यारी, पूर्व पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो, अभिनेता जेरमी आइरन (२००१), अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर (१९८७), अमेरिकन अभिनेत्री पामेला बेलवुड (१९८४), प्रिन्स चाल्र्स, बेलायती राजकुमार फिलिप, लन टेनिसकी स्टार खेलाडी मार्टिना हिंगिज, भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी, उनका छोरा तथा पूर्वप्रधानमन्त्री राजीव गान्धी, सोनिया गान्धी टाइगर टप्स आएका थिए । बलिउड नायिका पामेला र निक ह्विलरले टाइगर टप्समा नेपाली परम्पराअनुसार बिहे नै गरेका थिए ।

पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी (१९८७) र तेन्जिङ नोर्गे शेर्पा, थाई प्रिन्सेस (१९९९), टोनी हेगन लगायतका अतिविशिष्ट पाहुना टाइगर टप्स आइपुगेका थिए । नेपालका पूर्व राजा वीरेन्द्र, ज्ञानेन्द्र परिवारसहित शाही परिवारका पनि थुप्रै टाइगर टप्स पुगेका थिए । सम्भ्रान्त परिवारको अखडा नै टाइगर टप्स थियो । सफारी पर्यटनको विश्व प्रख्यात ब्रान्ड थियो । अब ती दिन फर्किन सम्भव छ त भन्ने प्रश्नमा होटलका प्रशासकीय प्रमुख रामसिंह गुरूङ भन्छन्, ‘सायद सबैले यो दशकमा रियलाइज गरे होलान्, खोल्नुपर्दछ भन्ने आम धारणा पनि छ, संरक्षणको शर्तसहित राज्यले चलाउँदा दिँदा सबैलाई राम्रो होला भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment