
भारतमा लकडाउन लम्बिन थालेपछि निर्माण भएका चलचित्रहरूलाई धमाधम डिजिटल माध्यमबाट रिलिज गर्न थालिएको छ । बलिउडका स्टार कलाकारको चलचित्रहरू नै डिजिटल माध्यमबाट रिलिज हुन थालेपछि प्रदर्शकलाई भने तनाव थपिएको छ ।
हलमा सय करोडभन्दा धेरै कमाइ गर्न सक्ने चलचित्रहरूलाई पनि डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी थालिएको छ ।
सोमबार बलिउडका कलाकारहरूले भिडियोमार्फत आफ्ना चलचित्रको पोस्ट सार्वजनिक गरेका छन् । नायक बरुण धवनको संयोजकत्वमा नायकहरू अक्षय कुमार, अजय देवगण, अभिषेक बच्चन, नायिका आलिया भट्टले आफ्नो चलचित्रको पोस्टर सार्वजनिक गरे ।
नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम्ब, अजय देवगण र नायक सञ्जयदत्त अभिनित चलचित्र ‘भुज’, नायिका आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’, नायक अभिषेक बच्चन अभिनित चलचित्र ‘दि बिग बुल’ डिजिटल रिलिज हुने भएका छन् । यस्तै, चलचित्र ‘लुटकेस, खुदा हाफिज, दिल बेचरा’ पनि डिजिटल रिलिज हुने भएको छ । यी सातै वटा चलचित्र डिज्ने र हटस्टारबाट रिलिज हुने भएका छन् ।
जुलाइको २४ तारिखमा चलचित्र ‘दिल बेचरा’ रिलिज हुँदैछ । भिडियो कुराकानीमा नायक अक्षय कुमारले दुई दशक लामो करिअरमा आफू पहिलो पटक यति लामो समय घर बसेको बताए ।
प्रतिक्रिया 4