+
+

खानपानसँग जोडिएका यी उखान कति उपयोगी ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १४:२१

‘धेरै खाए मल, थोरै खाए बल ।’ हाम्रा समाजमा प्रचलित यस्ता थुप्रै उखान छन्, जसले खानपानको उचित शैली र मात्राबारे अवगत गराउँछ । आज पोषणविद्हरुले जुन कुरामा जोड दिन्छन्, त्यही कुरा उखानको माध्यामबाट हाम्रा पूर्खाहरुले सदियौंदेखि भन्दै आए ।

अन्त्यानुप्रास मिलेको, सुन्दा घतलाग्दो र झट्ट स्मरण गर्न सकिने यी उखान–टुक्काहरुमा गहिरो अर्थ र जीवनोपयोगी सन्देश पनि छन् । हामीकहाँ सदियौंदेखि जीवनशैली, खानपान आदिसँग सम्बन्धित यस्ता थुप्रै उखानहरु प्रचलनमा छन् ।

जस्तो कि, ‘अन्नमा भन्दा सन्नमा जोड ।’ सामान्य लाग्ने यो उखानले हाम्रो खानपानको सन्तुलनबारे बताउँछ । अहिले तपाईं÷हामीले तयार गर्ने सन्तुलित खानपानको तालिकाले पनि यही कुरामा जोड दिन्छ । अन्न अर्थात ठोस पदार्थ भन्दा बढी तरल र सागपात सेवन गर्नुपर्छ ।

अर्को उखान छ, ‘एक छाक खाने जोगी, दुई छाक खाने भोगी, तीन छाक खाने रोगी ।’ हाम्रो दैनिक खानपानको मात्रा कति हुनुपर्छ भन्ने बोध गराउँछ यो उखानले । यसले दिनमा एक छाक खानाबाट जे–जति पोषण प्राप्त हुन्छ, शरीरका लागि त्यती पर्याप्त छ भन्ने संकेत गर्छ । शरीरलाई आवश्यक भन्दा बढी खानेकुरा खानुलाई शौख वा भोगसँग जोडिएको छ । त्यसैगरी अधिक खानाले रोग निम्त्याउने भन्दै सर्तक गराइएको छ । अहिले यही कुरालाई जोडेर भन्न थालिएको छ, ‘खान जाने औषधि, खान नजाने विष ।’

प्राकृतिक चिकित्सामा भोजनलाई नै औषधिको रुपमा लिइएको छ । सही खानेकुरा, सही मात्रामा, सही ढंगले र सही समयमा सेवन गर्दा त्यसले शरीरमा औषधिको काम गर्छ । तर, त्यही खानेकुरा गलत मात्रा र गलत ढंगले प्रयोग गर्दा शरीरमा विकार पैदा हुन्छ । शरीर विष भण्डार बन्छ ।

पछिल्लो समय के पनि भन्न थालिएको छ भने, ‘जति खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।’ आज भोकमरीको कारण मर्ने मान्छेको संख्या भन्दा बढी अधिक र अनावश्यक खानाको कारण मर्नेहरुको संख्या बढी छ । अहिले विश्वमा बढ्दो रोगको कारण नै खराब खानपान हो भनेर चिकित्सकहरुले नै यसप्रति सजग गराउन थालेका छन् । जबकी हाम्रा पूर्खाहरुले बर्षौं–बर्ष अघि नै ‘अत्याधिक खानाले शरीरलाई पोषण दिने होइन, रोगी बनाउँछ’ भन्दै आए ।

‘काम गर्दा नोकरले जसरी, खाना खाँदा राजाले जसरी ।’ काम गर्दा भरपुर श्रम एवं मेहनत गर्नु, जसरी एउटा श्रमिकले गर्छ । तर, खानेकुरा सेवन गर्दा पूर्ण आनन्द र सन्तुष्टि लिएर आरमसाथ गर्नुपर्छ । आरमसाथ बसेर, हरेक गाँसमा स्वाद लिएर, राम्ररी चपाएर आनन्दपूर्वक खानुपर्ने सुझाइएको छ ।

मह काड्नेले हात चाट्छ, सधैभरी दुध र भात मिल्दैन, घिउ केमा पोखियो आफ्नै भागमा । यी उखानहरु खानपानसँग सम्बन्धित छैनन् । तर, यसले मह, घिउ, दुध र भातको महत्वलाई भने उजागर गर्छ ।

त्यसो खानपानसँगै जोडिएका अरु थुप्रै उखान–टुक्का प्रचलनमा छन्, जसले अरु नै अर्थ दिन्छ । जस्तो–आलु खाएर पेडाको धाक, जात फाल्नु गहतको झोलमा, बाहुनले च्याउ खाओस् न च्याउको स्वाद पाओस् । अरु नै कुरालाई अथ्र्याउन एवं बुझाउनका लागि प्रचलनमा ल्याएका यी उखानहरुले आलु, गहत, च्याउ जस्ता खानेकुरालाई भने सामान्य एवं निम्न भनि पेश गरिएको छ । जबकी पोषण र औषधिय गुणका हिसाबले आलु, च्याउ, गहत उच्च श्रेणीकै खानेकुरामा पर्छन् ।

खानेकुरासँगै जोडिएका अरु उखान यसप्रकार छन्–चौटा खान गएकी बुढी झोलमा डुबेर मरी, खाने मुखलाई जुँगाले छेक्दैन, चिचीको पनि लोभ पापाको पनि लोभ, काम गर्ने कालु मकै खाने भालु, घाटी हेरेर हाड निल्नु, जति भाँडो उति चुबुर्को, खान्न खान्न लोकाचार खाएपछि मानाचार, बोल्नेको पीठो विक्छ, नबोल्नेको चामल विक्दैन । यी उखानहरु चाहिँ खानपानको गुण, मात्रा, शैलीसँग सम्बन्धित छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?