Comments Add Comment

गोल्डस्टारले थाल्यो एन ९५ मास्क र पीपीई उत्पादन

२८ असार, काठमाडौं । जुत्ताको परिचित ब्रान्ड गोल्डस्टार उत्पादन गर्ने कम्पनीले पीपीई तथा एन९५ मास्क समेत उत्पादन सुरु गरेको छ । कोरोना महामारीका बेला जथाभावी मास्कहरु उत्पादन भए पनि गुणस्तरीय मास्क उत्पादन कम भएको भन्दै कम्पनीले मास्क उत्पादन शुरु गरेको छ ।

गोल्डस्टारले हालको विश्वव्यापि महामारी कोभिड-१९ले सिर्जना गरेको विषम परिस्थितिसँग लड्नका लागि पीपीईको उत्पादन पनि सुरु गरेको हो । यसमा विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुरूपको शीरदेखि पाउसम्म ढाक्ने सुरक्षात्मक कवच (पीपीई)तथा नाक-मुख छोप्ने एन-९५ मास्क छन् । हाल यो बजारमा मल्टिगार्ड टेक कम्पनी अन्तर्गत् बिक्री गरिने जानकारी गोल्डस्टारले दिएको छ ।

यो पनि पढ्नुहोस गोल्डस्टार : राज्य र बिद्रोहीको चेपुवाबाट निस्किएको उद्योग

मल्टिगार्डले यी पीपीई उत्पादनका लागि त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)बाट प्रमाणीकरण गरी उत्पादन फेरि सुरु गरेको छ । कारखानाभित्र पनि सामाजिक दूरी र सुरक्षाको मापदण्ड पूरा गरी उत्पादन गरिएका यी सामग्रीहरूको निर्माणमा करिब ५ दर्जन महिला कर्मचारी खटेर काम गरिरहेकी छन् ।

गुणस्तरीय मापदण्डहरु पालना गरेर मास्क उत्पादन सुरु गरेको कम्पनीले अन्य मास्कको तुलनामा सस्तोमा समेत उपलब्ध गराउन थालेको छ । मास्कको हाहाकार भइरहेको बेला एन ९५ मास्कलाई ५ सय रुपैयाँ भन्दामाथि तिरेर खरिद गर्नु पर्ने थियो ।

अहिले सय रुपैयाँ हाराहारीमा मास्कको मूल्य पर्छ । तर त्यो भन्दा पनि कम मूल्यमा मास्क सर्वसाधारणलाई उपलब्ध गराउने कम्पनीकी सञ्चालक विदुषी राणाले बताइन् । ‘यस्तो महामारीका बेला सुलभ र गुणस्तीय मास्क उत्पादन एकदमै कम भइरहेको छ, हामीले आईएसओ र सीईबाट गुणस्तर स्वीकृत गराएर मास्क उत्पादन गरिररहेका छौँ’ राणाले भनिन्, ‘हामीले धेरै नाफामा कमाउने भन्ने सोचेका पनि छैनौं, यसकारण पनि हामीले वितरण मूल्य एकदमै सस्तो राखेका छौं ।’

उनका अनुसार एन९५ मास्कको खुद्रा मूल्य ६५ रुपैयाँ छ । ‘मेरो मास्क’ ब्रान्ड नाम दिइएको यस मास्क आईएसओबाट प्रमाणित भएको नेपाली पहिलो मास्क भएको राणाले दावी गरिन् । कम्पनीले मास्कसँगै पीपीईसमेतको उत्पादन गरिरहेको छ ।

कम्पनीले विभिन्न प्रकारका मास्कहरु उत्पादन गर्न थालेको छ । एन९५ मास्कमा पनि कुनैमा बल्क फिल्टर लगाइएको छ भने कुनैमा नलगाइएको उपलब्ध हुनेछ । पछिल्लो समय कम्पनीले रातो, निलो, हरियो, कालो लगायतका विभिन्न रंगका मास्कहरु समेत उत्पादन शुरु गरिसकेको छ ।यसरी बन्यो मास्क बनाउने योजना 

गोल्डस्टार एउटा आफैंमा चर्चित ब्रान्ड हो । हात्तिछाप चप्पल जस्ता चर्चित ब्रान्डले कहलिएको कम्पनीले मास्क तथा स्यानिटाइजरमा किन हात हाल्यो त ? लकडाउन सुरु हुनुभन्दा अगाडि कम्पनीको मास्क बनाउने योजना थिएन । तर जब नेपालमा मास्क तथा पीपीईको हाहाकार हुन लाग्यो तब कम्पनीले तयारी शुरु गर्‍यो ।

जुत्ता बनाउने प्रसस्त मेसिनहरु थिए । कम्पनीमा कार्यरत विज्ञ इन्जिनियरहरु पनि भएका कारण उनीहरुलाई मेसिनको समस्या भएन् । महामारीका बेला उत्पादन गर्न सके सामाजिक उत्तरदायित्व पनि हुन्छ भन्ने सोचेर मास्क र पीपीई उत्पादन सुरु गरिएको सञ्चालक राणा बताउँछिन् ।

श्रमिकहरु पर्याप्त भएका कारण पनि मास्क बनाउने योजना सफल हुन राहत मिल्यो । मुलुकमा पूर्ण लकडाउन शुरु भएपछि गोल्डस्टार जुत्ता तथा चप्पलको उत्पादन ठप्प भयो । त्यसपछि मास्क उत्पादन गर्ने योजना बन्यो ।

‘उद्योग ठप्प भएपछि श्रमिकहरु काम विहिन हुनुभयो, मास्क उत्पादन गरे वहाँहरुलाई पारिश्रमिक दिन पनि सहज हुन्छ भन्ने लाग्यो’ सञ्चालक राणा भन्छिन्, ‘त्यहिँ भएर पनि हामीले पीपीई तथा मास्क उत्पादन गर्यौ ।’‘नाफा होइन सेवा प्राथमिकतामा’

महामारीका बेला नाफा कमाउनेभन्दा पनि सेवाको भावले कम्पनीले मास्क र पीपीईको उत्पादन शुरु गरेको जनाएको छ । उत्पादित मास्कहरु अहिले विभिन्न क्षेत्रमा निःशुल्क वितरण भइरहेको राणाले बताइन् ।

उनका अनुसार विभन्न क्षेत्रका अस्पतालहरुमा पुर्‍याउनका लागि डा. भगवान कोइरालालाई ५ हजार पिस मास्क हस्तान्तरण गरिएको छ । यि मास्कहरु मनमोहन अस्पताल, तहनहूँको आँबुखैरेनी अस्पताल लगायतका आइसोलेसनमा पुग्नेछन् ।यसकासँगै राणा आफै समेत विभिन्न अस्पतालहरुमा गएरु मास्कहरु हस्तान्तरण गरिरहेकी छिन् । काठमाडौंको एम्बुलेन्स सेवा, पाटन अस्पताल, नेसनल क्यान्सर अस्पताल लगायतका ठाउँहरुमा पनि निःशुल्क मास्क वितरण गरिएको उनले बताइन् ।

जतिबेला पीपीईको मास्क उत्पादन शुरु भयो त्यतिबेला गोल्डस्टारले उत्पादन गरेको पीपीईले राम्रो बजार पायो । चीनबाट आएको पीपीईको मूल्य त्यसबेला निकै महंगो पर्न जान्थ्यो ।

तर अहिले अवस्था फेरियो, चीनबाट सस्तो मूल्यको पीपीई आउदा आफ्नो उत्पादन कम खपत हुने गरेको कम्पनीको गुनासो छ ।

गुणस्तरीय मापदण्डहरु सबै पुरा गरेर बनाइएको भए पनि प्रयोगकर्ताहरुले गुणस्तर भन्दा मूल्य सस्तो खोज्दा समस्या परेको कम्पनीको भनाइ छ ।
तस्वीर तथा भिडियोः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment