Comments Add Comment

चुँदी रम्घामा कर्मकाण्डी भानुजयन्ती

२९ असार, चितवन । २०७ औं भानुजयन्ती । भानुभक्त आचार्यको जन्मथलो चुँदीमा सोमबार बिहानै मुसलधारे पानी बर्सियो । चुँदी खोला उर्लियो ।

भर्खरै धान रोपिएको चुँदीफाँट दहजस्तै देखियो । सोमबार भानुभक्तको जन्मदिन कसरी मनाउनेभन्दा पनि बाढीले के कस्तो क्षति गर्छ भन्ने चिन्तामा थिए, स्थानीय ।

दिउँसोपख पानी पर्न केही कम भयो । वरपरका केही मानिस भानुभक्त जन्मस्थल विकास समितिको कार्यालयमा जम्मा भएर जयन्ती मनाए । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउने उत्साह पछिल्ला बर्षहरूमा हराउँदै गएको छ । यो पटक पनि नगरपालिकाले सामान्य रूपमा भानुलाई सम्झने एउटा कार्यक्रम गरिएको मेयर उदय गौलीले फोनमा बताए ।

यसलाई उनी भानुभक्तको ‘श्राद्ध’ गर्न जम्मा भएको भन्छन् । ‘अरुले त भानुलाई बिर्सिए नै’, नगर प्रमुख गौलीले भने, ‘हामी यहीँका बासिन्दाले चाहिँ आफ्ना पितृको बार्षिक श्राद्ध गर्ने धर्म नछाडौं भनेर सानो भेटघाट कार्यक्रम राख्यौं ।’

नगरप्रमुख गौंलीले नेपाल सरकारबाट भानुभक्तको सबभन्दा बढी अपमान भएको भन्दै आक्रोश पोखे । ‘सरकारले आदिकविको नाममा खुलेको भानु जन्मस्थल विकास समितिलाई नगरपालिका मातहतमा राखेर राष्ट्रिय विभूतिको अपमान गरेकोमा खेद प्रकट गर्छु’, उनले भने, ‘सरकारले भानुभक्तको महत्व घटाउन यो काम गरेको छ ।’

उनका अनुसार, अहिले असार २९ गतेको भानुजयन्ती कर्मकाण्डीमा सीमित हुन पुगेको छ । भानु जन्मस्थल चुँदीरम्घामै नेपाली भाषा–साहित्यमा उनको योगदानको चर्चा हुन छाडेको छ । आदिकविको नाम राखिएको भानु नगरपालिका नै मणि हराएको नाग जस्तो बनेको बताउँदै मेयर गौलीले भने, ‘आदिकविलाई सम्झन सानो भेटघाट र सोमबार एकदिन सार्बजनिक विदा गरियो, त्यत्ति हो ।’

भानुको जन्मघर रहेको ४ नम्बर वडाअध्यक्ष पूर्णबहादुर लौडारीले पनि भानु जन्मस्थल विकास समिति नगरपालिका मातहतमा राखेर सरकारले बाख्राको टाउकोमा भैंसी सिङ हालिदिएको भन्दै आक्रोश पोखे ।

२०५२ सालमा गठन गरिएको जन्मस्थल विकास समिति साढे दुई बर्षयता नेतृत्वविहीन छ । आदिकविको जन्मघर विकास समितिको कार्यलयबाट करिब चार किलोमिटर माथि शिखर कटेरी भन्ने ठाउँमा छ । कच्ची सडक भएर त्यहाँ पुग्दा घरको भग्नावषेश भेटिन्छ ।

यादव खरेलले २०५७ सालमा ‘आदिकवि भानुभक्त’ चलचित्र बनाउने भएपछि गरेको एकलाख रुपैयाँ सहयोगले पुनर्निर्माण भएको भानुको जन्मघर २०६१ जेठमा आगलागी भएर भग्नावशेष मात्र बाँकी छ ।

त्यो भग्नावषेशको छेउमा तीन करोड लागतमा निर्मित रामायण भवनको काम पनि सकिएको छैन । ठेकेदारले भवन हस्तान्तरण गर्न सकेका छैनन् । जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाट आफूले छाडेपछि सब काम अलपत्र परेको बताउँछन् ।

समितिले चुँदीमा बनाउन थालेको भानु स्मृति उद्यान भताभुंग छ । उद्यान बनाउन थालिएको १४ रोपनीमध्ये ११ रोपनी समितिले किनेको हो भने तीन रोपनी दानमा मिलेको हो ।
रानाभाटकै पालामा शिखर कटेरीभन्दा माथि भानुको शालीक बनाउन १० रोपनी जग्गा किनिएको छ । तर, योजनाहरु अगाडी बढ्नुको साटो नियमित साहित्यिक कार्यक्रमसमेत हुन छाडेको छ ।

भानुजयन्तीमा साहित्यका अनुरागीहरु आउने, रामायण सुन्ने–सुनाउने कार्यक्रम पनि रोकिएको छ ।

केन्द्र सरकार मातहत हुँदा जन्मस्थल विकास समितिमा बार्षिक २० लाख हाराहारी बजेट आउँथ्यो । नगरपालिका मातहत भएपछि १८ लाख आउने गरेको छ । बजेटको अधिकांश हिस्सा चालु खर्चमा जान्छ । बचेको रकमले ठूला काम गर्न नसकिने निवर्तमान कार्यकारी निर्देशक रानाभाट बताउँछन् ।

अहिले त झन् समिति नै नभएजस्तो भएको छ । समितिमा एक खरिदार र दुई कार्यालय सहयोगीले जागी मात्र खाइरहेका छन् । उनीहरुको पनि तलब भुक्तानी हुन नसकेको निकै भइसक्यो ।

पश्चिमाञ्चल विकास मञ्चले शिखर कटेरीमा भानुगृह बनाउन भन्दै २०७३ चैत २२ गते गरेको शिलान्यास पनि त्यसै सेलाएको छ ।

मञ्चमा पूर्वमुख्य सचिव, सचिव र न्यायाधीशदेखि उद्योगी–व्यवसायीसम्म छन् । अहिले मञ्चको अध्यक्षता ग्लोवल आइएमी बैंकका अध्यक्ष चन्द्र ढकालले गरेका छन् ।

‘शिलान्यास भएको बर्षौंमा पनि विविध समस्याका कारण काम अघि बढेन’, अध्यक्ष ढकाल भन्छन्, ‘अब चाडैं नै भानुगृह र पोखरी बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment