
५ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिक उड्डयनमाथि यूरोपेली यूनियनले लगाएको प्रतिवन्ध फुकुवा गर्न आग्रह गरेका छन् । सोमबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडीसँगको भेटमा अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् । कोडी आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स र्फकन लागेको अवसरमा सोमबार अर्थमन्त्रीसँग विदाई भेट गरेकी हुन् ।
भेटमा अर्थमन्त्री खतिवडाले युरोपमा नेपाली जहाज उड्न पाउने गरी प्रतिवन्ध फुकुवाको माग गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिसहित हवाई सुरक्षासम्बन्धी काममा सरकारले उच्च प्राथमिकता दिएको भन्दै नेपाल यूरोपेली यूनियनको प्रतिबन्धबाट फुकुवा हुनुपर्ने माग गरेका हुन् ।
युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा पनि युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिनुपर्ने उनको भनाइ छ ।
अर्थमन्त्रीले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद दिदैं निरन्तर सहयोगका लागि अनुरोध गरे ।
उनले युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुर्नउत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गरे । नेपालले युनियनबाट पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्वित गरेको समेत उनको भनाइ छ ।
आर्थिक/वित्तीय/श्रम लगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिवद्धता सुदृढ गरेको उनले जानकारी गराए ।
भेटमा राजदूत कोडीले नेपालमा आफूले ३ बर्षको सफल कार्यकाल समापन पछि केन्द्रीय कार्यालयमा र्फकन लागेको जानकारी गराइन् ।
नेपालले युरोपियन युनियनसँगको सहकार्यमा राम्रो कार्य गरिरहेको आफ्नो धारणा व्यक्त गर्दै युनियनले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताइन् । उनले आगामी दिनमा सहयोग निरन्तर रहने आश्वासन समेत दिएकी छिन् ।
प्रतिक्रिया 4