Comments Add Comment

विवेकशीलको उल्टो बाटो, अत्तालिएको साझा

नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले दुईवटा हास्यास्पद नाटक मञ्चन भइरहेका छन् । एउटा- सत्तामा झन्डै दुईतिहाई बहुमतसहित बसेको नेकपा डबलको आन्तरिक सङ्घर्षको नाटक । अर्को- देशको राजनीतिक वृत्तमा आफूलाई वैकल्पिक शक्ति मान्ने विवेकशील र साझाको १८ महिने ब्रेकअपपछि प्याच अप उर्फ पुनः एकीकरणको नाटक।

दुवै नाटकको “क्लाइमेक्समा” के हुन्छ भन्नेबारे छलफल हुन थालेको छ। मेरो बिचारमा आफूलाई वैकल्पिक भन्न रुचाउने “विवेकशील र साझा” वीचको एकीकरणबारे थप छलफल र बहस हुन आवश्यक छ।

वैकल्पिक शक्तिको उदय, एकीकरण र विभाजन

संविधानसभाको दोस्रो निर्वाचनको सेरोफेरोमा काठमाण्डौंका चार स्थानमा स्वतन्त्र उम्मेदवारी दिए पश्चात् विवेकशील नेपाली दलको राजनीतिक यात्राको श्रीगणेश भएको थियो। युवाहरूको बाहुल्य भएको यस दलले सुरुका दिनदेखि नै आफूलाई अन्य राजनैतिक सङ्गठनभन्दा भिन्न रहेको दाबी गर्न थाल्यो। महाभूकम्प र त्यसपछिको राहत वितरण र उद्धार कार्यमा प्रशंसनीय काम गरेपछि दलले काठमाण्डौं उपत्यका र देशका केही सहरी क्षेत्रका राजनीतिमा चासो लिनेहरूको ध्यान पनि खिच्यो।

माइतीघर मण्डलामा भेला भएर शान्तिपूर्ण प्रदर्शन, नेपाल बन्दको विरोध, सत्याग्रहीको साथलगायतका कामबाट केही हौसिएको यस समूहले स्थानीय निर्वाचनमा काठमाण्डौं उपत्यकामा २१ वर्षकी “रन्जु दर्शना” लाई उम्मेदवार उठाएर चर्चा र आङ्कलन गरे अनुसारकै सम्मानजनक मत पाउन सफल भयो।

विवेकशील नेपालीले सडकमा सङ्घर्ष गरिरहेको समयमा बीबीसी नेपाली सेवाका पूर्वपत्रकार रवीन्द्र मिश्र र नेपाली समाजका केही प्रतिष्ठित बुद्धिजीवीहरू मिलेर ‘साझा पार्टी’ नामको अर्को राजनैतिक सङ्गठन दर्ता गराए। मिश्रको संयोजकत्वमा स्थापित उक्त समूहले आफूहरू पनि वैकल्पिक शक्ति भएको दाबी गरे।

मिश्रको समूहले पनि स्थानीय चुनावमा पूर्वसरकारी सेवामा रहेका किशोर थापाको उम्मेदवारीबाट आशा गरेअनुरूपकै चर्चा र मत बटुल्न सफल भए। देशको सहरिया मध्यम वर्गीय शिक्षितहरूको सानो जमातको सक्रियतापश्चात् आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने दुवै समूहहरूको एकीकरण हुने कार्य अघि बढ्यो। सङ्घीय चुनाव अघि पार्टी एकीकरण सफल भयो। तर, एकीकृत समूह सङ्घीय चुनावमा प्रत्यक्ष सिट जित्न असफल भयो। समानुपातिकमा भने बागमती प्रदेशमा तीन सिटमा चित्त बुझाउनुपर्यो।

एकीकृत यस समूहको वैकल्पिक राजनीतिलाई जनमानसले नपत्याएको चुनावको नतिजाले प्रमाणित गर्‍यो। अन्योलका बीच रहेको एकीकृत समूहको एउटा हिस्साको अध्यक्षले लिखित असन्तुष्टि जनाएपछि पार्टी विभाजनतर्फ मोडियो। विवेकशीलको हिस्सा पुरानै साथीभाइ बटुलेर विभाजित भयो। देशकै सर्वश्रेष्ठ वैकल्पिक शक्तिको हो ? भनेर दाबी गर्ने होडबाजी दुवै समूहहरूको सुरु भयो। जुन सिलसिला आजसम्म जारी छ।

समस्या एकातिर, नेतृत्व अर्कैतिर

विवेकशील र साझा पार्टी औपचारिक विभाजन हुनुभन्दा केही समयअगाडि विवेकशील नेपालीका युवा सदस्यहरूले पार्टीको एउटा औपचारिक कार्यक्रम हस्तक्षेप गर्दै कार्यक्रम नै अवरुद्ध गरेका थिए।यस घटनालाई विवेकशीलका सदस्यहरूले ‘बानेश्वर विद्रोह’ नामकरण गरे।पार्टीले पद्धति, विधि र विधान मिचेर अगाडि बढ्न खोज्यो भनेर विवेकशीलका युवाहरूले उक्त विद्रोह गरेका थिए। तर, तत्कालीन एकीकृत समूहका सदस्यले उठाएको समस्यालाई समस्या नै ठानेन। अन्ततः त्यही विद्रोहको जगमा पार्टी विभाजन भयो।

विगतमा हेर्ने हो भने साझाका ६ जना प्रभुत्वशाली केन्द्रीय सदस्यहरूले स्थापनाको छोटो समयमै राजीनामा गरेर राजनीतिको बाटोबाट अलग भएका थिए। उक्त समयमा साझा पार्टीले यी विषयमा गम्भीर आत्मालोचना गर्दै आफ्ना कमजोरीलाई सुधार्ने प्रयत्न गरेको देखिँदैन।विवेकशील नेपालीमा पनि विभाजन पछि भएको पहिलो महाधिवेशनले दिएको नयाँ नेतृत्वको क्षमताको जाँच नै गर्न नपाउँदै उही पुरानो गल्ती दोहर्‍याउन लालायित देखिन्छ।

नेतृत्व विगतको विभाजनको जवाफ सदस्यहरूलाई दिन बाँकी नै छ।दुई पार्टी भित्र धेरै आन्तरिक समस्या हल हुनै बाँकी छ।नेतृत्व भने समस्यालाई एकातिर बिसाएर अर्कोतिर मुन्टो फर्काएर पुनः एकीकरणको नाटक मञ्चनमा व्यस्त बनेर वैकल्पिक शक्तिको बहसलाई अस्तव्यस्त बनाउन उद्धत देखिन्छ।

अत्तालिएको साझा

विवेकशील नेपाली साझाभन्दा केही पहिले स्थापना भएको दल हो। तर, वैकल्पिक राजनीति हाँक्न विवेकशील तयार छैन भनेर साझा पार्टी स्थापना भयो। साझाका नेतृत्वहरूको बहिर्गमनले आफ्नै जीवनकालमा समृद्धि हेरेर मर्ने उत्कण्ठ चाहना राख्ने संयोजक र त्यही नारामा गोलबन्द सदस्यहरू अत्तालिएर पार्टी पुन: एकीकरणको कार्ड फालेर नागरिकहरूको आक्रोशबाट तत्कालीन रूपमा बच्न खोजेको स्पष्ट देखिन्छ।

विभाजनपछि साझाले विवेकशीललाई निर्वाचन आयोगमा पार्टी दर्ता गर्न अवरोध गर्ने, विवेकशीलका दुईजना प्रदेश सांसदलाई कारवाही भन्दै अदालतमा मुद्दा लगाउने, सम्पत्ति बाँडफाँडका लागि पठाएको पत्रको जवाफ नदिने जस्ता गतिविधिले विगतमा यी दलवीचको सम्बन्ध कस्तो थियो भनेर सजिलै आकलन गर्न सकिन्छ।मेरो बिचारमा विभाजन पछि कहिल्यै पनि साझाले विवेकशीलसँग सुमधुर सम्बन्धको प्रयास गरेन।

तर, अहिले साझा अचानक आफ्ना दुईजना प्रमुख नेता बाहिरिने बित्तिकै हतार-हतार संवाद समिति बनाउँदै पार्टी एकीकरणको नाटक रचिरहेको छ। साझाका यी गतिविधि आकलन गर्दा यो हताश मानसिकताको उपज हो भनेर बुझ्न गाह्रो कुरा होइन।

विवेकशीलको उल्टो बाटो

५० को दशकको माओवादी आन्दोलनले दोस्रो संविधान सभाको निर्वाचनसम्मको २० वर्षमा खासै उपलब्धि हासिल गर्न सकेन। माओवादी पनि पुरानै राजनीतिक शक्तिसँग साँठगाँठ गर्दै राज्य दोहन गर्न उद्धत देखियो। त्यसका विरुद्ध तेस्रो शक्ति वा वैकल्पिक शक्तिका रूपमा आफूलाई स्थापित गराउन स्थापना भएको विवेकशील नेपाली दलको इतिहास जम्मा सात वर्षको मात्रै हो। साझासँग एकीकरण गरेर अगाडि बढ्ने सल्लाहलाई धेरै सोचविचार नगरी मानिदिँदा सत्र महिनामै एकीकृत दलहरू विभाजन हुनुपरेको थियो।

विभाजनपछि विवेकशीलको महाधिवेशनले दिएको नयाँ नेतृत्वहरू पार्टीको एजेन्डा बनाउने कार्यमा लागिपरेको देखिन्छ।त्यसलाई केन्द्रीय समितिबाट पास गराएर अभ्यासमा लग्दै एजेन्डा र नेतृत्व दुवैको परीक्षण हुन बाँकी नै छ। तर, विवेकशीलका केही ‘आत्मसमर्पणवादी’ मानसिकताका नेतृत्वकर्ताहरु भने पुरानै लुतो कन्याउन समय खर्च गर्दै छन्। ।मेरो बिचारमा विवेकशीलको यो उल्टो बाटो हो।

हिजो एकीकरणमा समस्या भएरै विभाजन भएको हो।विभाजन पछि राम्रो सम्बन्धको प्रयास विवेकशीलबाट भएता पनि साझाबाट नभएको देखिन्छ।आफ्नो पार्टीको नयाँ नेतृत्व र एजेन्डाको परीक्षण गर्नै बाँकी नै छ।यी तमाम विषयहरूलाई एउटा कुनामा थन्को लाएर त्यही एकीकरणको पछि लाग्नु भनेको पुरानै गल्ती दोहोर्‍याउनु हो।

वैकल्पिक शक्तिहरूको विकल्प

विवेकशील र साझावीच तात्त्विक भिन्नता भएता पनि उनीहरूले बोल्ने बोली एउटै छ ‘हामी विकल्प दिन आएका हौँ, त्यसैले हामी वैकल्पिक शक्ति हौँ’।मेरो विचारमा आजसम्म आइपुग्दा यी दुवै वैकल्पिक शक्तिहरूका उपलब्धि नेपाली राजनीतिको रेसमा ‘वैकल्पिक शक्ति’ शब्द स्थापित गराउनु मात्रै हो।त्यो भन्दा अरू त्यस्तो खास उपलब्धि देखिँदैन! भएको पनि छैन।

आफूलाई वैकल्पिक शक्ति भन्न रुचाउने यी दुवै समूह स्थापनादेखि आजसम्म यो देशको गलत राजनैतिक व्यवस्थाको विकल्प यो हो भनेर नागरिकसामु जान सकेका छैनन्।त्यसको सट्टा विगत र वर्तमानमा सत्तासीन पार्टीहरूले गर्ने गरेको गल्तीलाई देखाएर नै आफूहरू वैकल्पिक शक्ति भएको दाबी गरिरहेका छन्।यसरी त नेकपा डबल नाम मात्रको कम्युनिस्ट पार्टी भएजस्तै यी पार्टीहरू पनि नाम मात्रको वैकल्पिक शक्ति बन्नतर्फ अग्रसर भइरहेको स्पष्ट देखिन्छ।

मेरो विचारमा आफ्नो पार्टीभित्रको समस्याहरूलाई हल गर्दै, वैकल्पिक शक्तिको महा बहस चलाएर, देशको गलत अर्थ-राजनैतिक व्यवस्थाको विकल्पको स्पष्ट मार्गचित्र ल्याउन आवश्यक छ। त्यसपछि एजेन्डा मिल्ने सङ्गठनहरूसँग निश्चित समयपछि मात्र पार्टी एकता कार्य अगाडि बढाउनुपर्छ। तर, दलहरूको आफैं विकल्पको खोजी गरिरहने कार्यले अन्ततः पछि विकसित हुन सक्ने वैकल्पिक शक्ति बहसलाई समेत बदनाम गराउने काम मात्र हुन जान्छ।

त्यसैले यी दुवै दलले पुनः एकीकरणको हास्यास्पद नाटक तत्काल बन्द गरेर ऐना अगाडि उभिएर आफ्नो छोटो राजनैतिक जीवनमा भएका गम्भीर गल्तीहरूको आत्मालोचना गर्न आवश्यक छ। त्यसपश्चात् आफ्नो सङ्गठनलाई वैचारिक, साङ्गठनिक, आर्थिक सबै हिसाबले बलियो बनाएर मात्र अन्य कुरामा मन डुलाउन सही कदम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment