
१९ भदौ, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि दुईवटा टोल सिल गरिएको छ ।
कोरोना संक्रमितहरुको उचित व्यवस्थापन हुन नसक्दा समुदायमा संक्रमण फैलिएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमितमध्ये ४० प्रतिशत आन्तरिक ट्राभल हिस्ट्री भएका र कोही ट्राभल हिस्ट्रीनै नभएका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएपछि समुदायका संक्रमण फैलिएको पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । ‘समुदायमा संक्रमण फैलिएको छ’ उनले भने, ‘यसले थप जोखिम नहोस् भनेर हामी गम्भीर भएका छौँ ।’
हालसम्म धनगढी उपमहानगरपालिका भित्र २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११४ जना स्थानीय हुन् । ‘उनीहरु मध्ये अधिकांशको ट्राभल हिस्ट्री छैन,’ उनले भने, ‘उनीहरूमा समुदायबाटै संक्रमण भयो ।’
धनगढीमा अहिले १०२ जना एक्टिभ केस छ । तीमध्ये ७० प्रतिशत बढीमा स्थानीय संक्रमण रहेको उनले जानकारी दिए ।
दुईवटा टोल सिल
समुदायमा संक्रमण फैलिएपछि उपमहानगरपालिकाले वडानम्बर ५ को दुईवटा टोल सिल गरेको छ । वडानम्बर ५ को ज्ञान निकेतन क्षेत्र र जाइमा रहेको शैलेश्वरी टोल सिल गरिएको उपाध्यायले जानकारी दिए । पछिल्लो ४ दिनमा त्यहाँ थप २९ जना संक्रमित फेला परेका छन् । उनीहरु सबै स्थानीय हुन् ।
यो अवधिमा तारानगरका १७ जना, जाइका ५ जना र हसनपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको हो ।
विद्यालयमा स्थापना भएका क्वारेन्टिनहरु हटाएर परीक्षणविनै संक्रमितहरूलाई घर पठाउँन थालेपछि समुदायमा संक्रमण फैलिन सुरु भएको उनले बताए ।
समुदायमा कोरोना संक्रमण बढेको भन्दै परीक्षणको दायरा समेत बढाइएको छ । ‘आज मात्रै हामीले ती स्थानबाट ९७ जनाको स्वाब लिएका छौँ । यसको रिपोर्ट आएपछि अवस्था कस्तो हुँदै छ भन्ने बिषयमा थप जानकारी हुन्छ,’ उनले भने ।
प्रतिक्रिया 4