
१८ कात्तिक, काठमाडौं । ललितपुरको सुनाकोठीवासीले आइतबार सडक अवरुद्ध गरेर अनिश्चितकालीन बन्द घोषणा गरेका छन् ।
विस्तारका लागि भनेर भत्काइएको सडक वर्षौं अलपत्र छाडेपछि स्थानीयले पटक–पटक यस्तो आन्दोलन गर्दै आएका छन् । चार महिनाअघि पनि उनीहरु यसैगरी आन्दोलित बनेका थिए । त्यति बेला तुरुन्तै सडक कालोपत्रे गर्ने सहमतिमा आन्दोलन रोकिएको ललितकृष्ण महर्जन बताउँछन् ।
स्थानीयले सडक भत्काएर अलपत्र छाड्ने ठेकदारविरुद्ध विभिन्न ठाउँमा ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !’ नारा लेखेर टाँसेका छन् ।
ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले सडकको एक खण्डको ठेक्का दिवा–शैलुङ जेभीले लिएको ६ वर्ष बित्यो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारी यो सडक खण्डको ठेकदार हुन् । प्रचण्ड बसेको अधिकारी निवास यही सडक खण्डको ढोलाहिटीमा छ । त्यहाँसम्म सडक बिस्तारको काम सकिएको पनि छ ।
आफू बसेको घरसम्म सडक चिल्लिएपछि दाहाललाई कुनै सास्ती छैन । त्योभन्दा पश्चिमका जनताको दिन भने मौसम अनुसार धुलो र हिलोमा गुम्सिएको छ । उनीहरु अधिकारी र उनको शैलुङ कन्स्ट्रक्सनसँग मात्र नभई नेता दाहालसँग पनि रुष्ट छन् ।
काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाएको यो सडक खण्ड रुग्ण अवस्थामा पुग्दा पनि शैलुङले काम सक्न पटक्कै चासो दिएको छैन ।
शैलुङको बदमासी यहाँ मात्रै छैन । शैलुङ ग्रुप अफ इन्डस्ट्रिज अन्तरगतको शैलुङ इन्टरप्राइजेजले २५ हजार टन युरिया मलको ठेक्का हत्याएर काम गरेन । मल ल्याउने अर्को ठेक्का पनि शैलुङकै हातमा छ ।
शैलुङको बदमासीका कारण नेपालका धेरै विकास आयोजनाहरु प्रभावित छन् । ठेक्का लिएर मोबिलाइजेसन रकम बुझेपछि आयोजनाहरु अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबभन्दा आजित त सडक विभाग नै छ ।
नगरकोट सडकको बेहाल
योजनाअनुसार दुई वर्षभित्र विस्तार भइसक्नुपर्ने हो, भत्केकोपाटी–नगरकोट सडकखण्ड । तर ठेक्का लागेको साढे ६ वर्षमा पनि बनेन ।
काम हुँदै नभएपछि २०७६ कात्तिकमा ठेकदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध भयो, तर अझै पनि यो खण्डमा कालोपत्रे गर्ने काम सकिएको छैन ।
भत्केकोपाटी–खरिपाटी–तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सक्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको छ । तर, काम कहिले सकिने भन्ने टुंगो छैन । अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासी हैरान छन् ।
सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयहरु सबैभन्दा बढी पीडित छन् । यो सडक समयमै नबन्दा नगरकोट जाने पर्यटक पनि प्रभावित हुँदै आएका छन् ।
पाँच पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीय आक्रोशित छन् । २०७१ जेठबाट निर्माण सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नुपर्ने हो । तर, शैलुङ कन्सट्रक्सनको ताल हेर्दा यो खण्डको काम कहिले सकिन्छ, यसै भन्न नसकिने बताउँछन् सडक विभागका महानिर्देशक केशवकुमार शर्मा ।
यो सडक बिस्तारमा भारतीय एक्जिम बैंकको ३० करोड लगानी छ ।
कलंकी–नागढुंगामा अपुरो काम
नागढुंगा–कलंकी सडक खण्डको ठेकदार पनि शैलुङ नै हो । यो खण्डको मुख्य काम निकै ढिला गरेर गत वर्ष सकिए पनि मेडियन र ढलको व्यवस्थापनको काम बाँकी छ । त्यसैकारण यो सडक अझै शैलुङले सडक विभागलाई हस्तान्तरण गरेको छैन ।
विभागका महानिर्देशक शर्माका अनुसार शैलुङले बाँकी काम सकेर सडक हस्तान्तरण गर्न चासो दिएको छैन । यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापरवाहीले स्थानीयलाई चार वर्षसम्म धुलो खुवायो, यात्रुलाई पनि त्यतिकै सास्ती दियो ।
नुवाकोट जाने सडकमा मनलाग्दी
सडक विभागका अनुसार बालाजु–रानीपौवा सडकको जिम्मा पनि शैलुङकै हातमा छ । यो ठेक्का पनि वर्षौंदेखि अल्झाएर राखिएको छ ।
यो खण्डमा पनि लामो समयदेखि भारतीय कम्पनीसँग जेभी (संयुक्त) गरेको शैलुङले काम नगर्दा समस्या भएको महानिर्देशक शर्माले बताए ।
नुवाकोट (ककनी) जाने सडकको हालत खराब भएको वर्षौँ बित्यो, तर शैलुङले अरु सडकलाईजस्तै बेहाल बनाएर छोडेको छ ।
साना सडकमा पनि शैलुङको त्यस्तै शैली छ । बालकुमारीबाट हनुमन्ते दोभानसम्मको सडकलाई पनि शैलुङले असरल्ल पारेर छाडेको छ । सडक डिभिजन कार्यालयका अनुसार त्यहाँ देखिएका केही समस्या समाधान गरेर काम सक्ने जाँगर शैलुङले देखाएको छैन ।
स्थानीयले सडक निर्माण छिटो गर्न पटक–पटक ध्यानाकर्षण गराए पनि काम भएको छैन ।
कपनका सडकको बिजोग
कपन क्षेत्रमा ३ वटा सडकका ठेक्का यही कम्पनीले पाएको छ । समयमै काम नभएर पटक–पटक म्याद थपिसकिएको छ । शैलुङले आकाशेधारा–राममन्दिर सहितका ३ वटा खण्डको ठेक्का लिएर वर्षौंदेखि काम अलपत्र पारेको छ । यो खण्डमा काम नभएपछि सांसद गगन थापा काठमाडौं सडक डिभिजन कार्यालयमा गत वर्ष धर्ना नै बसेका थिए । शैलुङले भने कानमा तेल हालेरै जित्यो ।
मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउँदा भत्काइएका सडक बनाउने ठेक्का पनि शैलुङले नै पाएको छ । कुनै सडक समयमै पिच भने भएका छैनन् ।
निरीह सडक विभाग
सडक विभागका महानिर्देशक शर्मा सरकारले सार्वजनिक खरिद नियमावलीमार्फत म्याद थपको प्रावधान ल्याएकाले ठेक्का तोडेर अघि बढ्न नसकिएको बताउँछन् ।
कतिपय खण्डमा काम अन्तिममा पुगेर अलपत्र परेकाले ठेक्का तोड्न असहज भएको उनले बताए । केही खण्डमा भने काम नै नभएकाले ठेक्का तोड्नैपर्ने अवस्था देखिएको शर्माको भनाइ छ ।
शैलुङले प्रायः आयोजनाहरुको लागत अनुमानभन्दा निकै कम मूल्य राखेर टेन्डरमा सहभागी हुने गरेको छ । यसले गर्दा शैलुङले एकपछि अर्को ठेक्का पाउने गरेको छ ।
त्यसरी फटाफट ठेक्का हत्याएर काम नगर्ने शैलुङ कम्पनी कहिल्यै कालोसूचीको सिफारिसमा पर्दैन । थुप्रै सडक आयोजनाहरु रुग्ण बनाउँदा पनि सडक विभागका हाकिमहरु शारदाप्रसाद अधिकारीप्रति नतमस्तक नै देखिएका छन् ।
मोबिलाइजेसनबाट धन्दा
ठेक्का हत्याएर मोबिलाइजेसन रकम लिएर गुमनाम हुनु शैलुङ शैली भैसकेको छ । उसले ठेक्काहरुबाट लिएको मोबिलाइजेसन रकम अन्यत्र लगानी गर्ने गरेको छ ।
‘शैलुङ ग्रुप अफ कम्पनिज’ अन्तरगत चार कम्पनी– शैलुङ कन्स्ट्रक्सन, शैलुङ इन्टरप्राइजेज, शैलुङ इन्भेष्टमेन्ट ग्रुप र शैलुङ पावर कम्पनी छन् ।
निर्माणबाहेकका मालसामान खरिदको ठेक्कापट्टा र ब्यापारसम्ममा अधिकारीले यिनै कम्पनीमार्फत लगानी गर्छन् । एक व्यवसायको उधारो र तिरोतारो टार्न अर्को कम्पनीको रकम सोझै प्रयोग गर्ने गर्दा शैलुङको व्यवसाय धरापमा परिसकेको अधिकारीका निकटस्थहरु बताउँछन् ।
‘एउटा ठेक्काको मोबिलाइजेसन लिएर अर्कोको भ्वाङ टाल्न लैजान्छन्,’ एक व्यवसायी भन्छन्, ‘कम रकम कबोल गरेर ठेक्का लिँदा त्यसै पनि समस्या भइरहेको हुन्छ । त्यसमाथि कम्पनीको व्यवस्थापकीय क्षमता पनि कमजोर छ । राजनीतिक पहुँच–प्रभावले मात्र कम्पनी चल्दैन ।’
प्रतिक्रिया 4