
१६ कात्तिक, काठमाडौं । ललितपुरको सुनाकोठीका स्थानीयले सुनाकोठीको सडक बन्द गराएका छन् । उनीहरुले आइतबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेर सडकमा सवारी चल्न रोक लगाएका छन् ।
वर्षैदेखि विस्तारका लागि भनेर भत्काइएको सडक नबनाई अलपत्र छाडेपछि स्थानीयहरु ४ महिनाअघि पनि आन्दोलित बनेका थिए । तुरुन्तै सडक कालोपत्रे हुने भनेर सहमति भएपनि काम नभएपछि फेरि आन्दोलित भएको स्थानीय ललितकृष्ण महर्जनले बताए ।
उनले अब लिखित सहमति नगर्ने र तुरुन्तै काम सुरु गरेको अवस्थामा मात्रै सडक खोलिने बताए ।
स्थानीयले काम नगर्ने ठेकदारविरूद्ध विभिन्न स्थानमा ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !’ नारा लेखेर पनि टाँसेका छन् ।
ढोलाहिटी-सुनाकोठी-चापागाउँ-लेले सडकको एक खण्डमा दिवा-शैलुङ जेभीले विस्तार गर्ने जिम्मा पाएको ६ वर्ष भयो ।
यो सडक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं बसको घर हुँदै जाने सडक हो । उनी बसेको घर शैलुङ कन्स्ट्रक्सनका मालिक सारदाप्रसाद अधिकारीको स्वामित्वमा छ ।
तर, यही खण्डको ठेक्का लागेको ६ वर्ष बित्दा पनि सडकको विस्तार सकेर कालोपत्रे हुन सकेको छैन ।
प्रचण्ड सो घरमा बस्न गएपछि शैलुङले प्रचण्डको घरसम्म बाटो बनायो । तर ढोलाहिटीतर्फको सडक त्यतिकै छोडिदियो ।
आफू बसेको घरसम्म बाटो चिल्लिएपछि प्रचण्ड मख्ख छन्, तर प्रचण्डको घरभन्दा पछिल्लो भेगका जनता शैलुङसँग मात्रै हैन, प्रचण्डसँग पनि रुष्ट छन् ।
काठमाडौं सडक विस्तार आयोजनाले ठेक्का लगाएको यो सडक खण्ड रुग्ण अवस्थामा पुग्दा पनि शैलुङले काम सक्न पटक्कै चासो दिएको छैन ।
तस्वीर : नेवाज्
प्रतिक्रिया 4