+
+
Shares
सिनेमा :

पेन्सन पट्टा : कथा बलियो, प्राविधिक रूपमा कमजोर

आञ्चलिक र सामाजिक यथार्थवादी सिनेमाको धरातलमा उभिएर हेर्दा पेन्सन पट्टा एउटा इमानदार चलचित्र बनेको छ ।

सापेक्ष सापेक्ष
२०८३ भदौ २९ गते ८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले पूर्वभारतीय सैनिकको मृत्युपछि पेन्सन क्याम्पमा देखिएको कागजी त्रुटि र परिवारको खोजयात्रा देखाउँछ।
  • फिल्मले लाहुरे जीवन, गुरुङ संस्कृति र पारिवारिक वियोगको कथा उठाए पनि घटनाक्रम पूर्वानुमानयोग्य र रहस्य सिर्जनामा कमजोर देखिन्छ।

के एउटा कानुनी कागजले मान्छेहरूबीचको दशकौं लामो सम्बन्ध, प्रेम र समर्पणको नापजोख गर्न सक्छ ? के लाहुरे जीवनको सम्पूर्ण मूल्य महिना मरेपछि बुझिने पेन्सनमा सीमित हुन्छ वा त्यसभित्र नदेखिएका पर्खाइ, वियोग र नमेटिने पारिवारिक घाउहरू लुकेका हुन्छन् ? 

जब एउटा पेन्सन पट्टाले वर्षौंदेखि बिर्सिइएको इतिहास उघार्न थाल्छ, तब त्यो एउटा कानुनी सास्ती रहला कि आत्मखोजको यात्रा बन्ला ? 

माओत्से गुरुङ निर्देशित चलचित्र पेन्सन पट्टाले यस्तै केही गम्भीर र उत्तरविहीन प्रश्नहरूमार्फत दर्शकलाई दुई घण्टासम्म डोर्‍याउँछ ।

यो फिल्मले हामीलाई राजनको एउटा यात्रा देखाउँछ । पूर्वभारतीय सैनिक गङ्गाबहादुरको निधनपछि उनकी कान्छी श्रीमती छलमाया र छोरा राजन पोखरास्थित पेन्सन क्याम्प पुग्दा रेकर्ड फाइलमा छलमायाको सट्टा अर्कैको नाम भएको रहस्य खुल्छ । 

ती व्यक्तिबारे उनीहरूलाई केही पत्तो समेत हुँदैन । अब पेन्सनको अधिकारका लागि जेठी आमा खोज्न राजन यात्रामा निस्कन्छन् । त्यो यात्रामा के हुन्छ ? कस्ता समस्या आइपर्छन् ? यी यस्ता र विषय नै फिल्मको मुख्य कथानक हो ।

त्यो बीचमा लाहुरे इतिहास, रोधी परम्परा, विदेश जानका लागि गरिने नक्कली डिभोर्स लगायतका कुराहरू पनि आउँछन् । गुरुङ समाजको पछ्यौराले बाटो छेक्ने परम्परा, धागो बाँध्ने संस्कार, रोधी र लाहुरे संस्कृतिका कुराहरू पनि आउँछन् ।

यसरी यो फिल्म लाहुरेको कथा हो । गुरुङ संस्कृतिको कथा हो । जेलिएको सम्बन्धहरूको कथा हो । भनौं, दयारानीपछि दोस्रो निर्देशकीयको रूपमा माओत्सेले यो फिल्ममा एउटा फ्रेस कथा पस्केका छन् । जुन फिल्मको सबैभन्दा बलियो पाटो हो ।

उनले फिल्मको मूल कथामा सक्दो मेहनत गर्ने प्रयास गरेका छन् । तर, कथामा केही अभाव भने खड्किन्छ । फिल्ममा घटनाहरू जसरी अघि बढ्छन्, ती सजिलै पूर्वानुमान गर्न सकिन्छ । रहस्य सिर्जना गर्न नसक्नु यो फिल्मको सबैभन्दा ठूलो कमजोरी हो । 

सायद यो कुरामा केही काम गर्नु पर्ने थियो । 

अभिनयको कुरा गर्दा, फिल्ममा दयाहाङ राईले राजनको चरित्रलाई निकै स्वाभाविक र सूक्ष्म ढङ्गले प्रस्तुत गरेका छन् । उनमाथि लाग्ने एउटै शैली र लबजको आरोपलाई चिर्दै उनले यहाँ चरित्रको लेयरमा केही काम गरेको देखिन्छ । मालाको भूमिकामा रहेकी गौमाया गुरुङको अभिनय सालिन र सादगीपूर्ण देखिन्छ । 

पूर्वेली चालक लुङ्गाको भूमिकामा रहेका विल्सनविक्रम राईले पात्रलाई न्याय गर्न सकेका छन् । जेठी आमाको भूमिकामा रहेकी पशुपति राईले आफ्नो पात्रलाई सक्दो जीवन्त देखाउन कोसिस  गरेकी छिन् ।  बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, पुष्कर गुरुङ, सुरज गुरुङ, मनोज गुरुङ र प्रतीक्षा गुरुङ जस्ता कलाकारहरूको चरित्र निर्माणले गाउँले जीवनको आञ्चलिकतालाई पूर्णता दिएको छ ।

त्यस्तै, फिल्मको कथा रैथाने हुँदाहुँदै पनि यो फिल्म प्राविधिक रुपमा केही कमजोर बन्न पुगेको छ । कथा र अभिनयले त्यो कमजोरी ढाक्न सकेको छैन ।

क्यामेराले प्रकृति, भूगोल र केही अघिको ग्रामीण परिवेशका दृश्यहरूलाई सुन्दर ढङ्गले कैद गरिएको भएतापनि कलर ग्रेडिङमा राम्ररी काम नगर्दा फिल्म फुस्रो देखिन पुगेको छ । सिनेम्याटिक रूपमा यो फिल्म अब्बल बन्न चुकेको छ । फिल्मको सम्पादन कसिलो र सन्तुलित छ । यद्यपि केही दृश्यहरूमा लिपसिङको सामान्य प्राविधिक त्रुटि महसुस हुन्छ ।

यो फिल्मको अर्को राम्रो पक्ष भनेको यसको संगीत हो । 

संगीतले एउटा वातावरण निर्माण गर्नमा भूमिका खेलेको छ । ऐना हेरेर, कपाल कोरेरजुनी जाला जस्ता गीतले कथाको उचाइ र आञ्चलिक मर्मलाई अझ प्रगाढ बनाएका छन् । ब्याकग्राउन्ड स्कोरमा भने फिल्म त्यति उत्कृष्ट छैन । 

समग्रमा, आञ्चलिक र सामाजिक यथार्थवादी सिनेमाको धरातलमा उभिएर हेर्दा पेन्सन पट्टा एउटा इमानदार चलचित्र बनेको छ । यसले नेपाली सिनेमाको स्थापित बजारिया ट्रेन्डलाई पन्छाउँदै आफ्नै माटो, इतिहास र पारिवारिक संवेदनाको मूलबाटो समातेको छ ।

केही ठाउँमा उपकथाहरूको फैलावटले मूल कथाको गतिलाई केही ढिला बनाए जस्तो लागे पनि समग्रमा फिल्मले उठाएको विषयवस्तु, दृश्य भाषा र निर्देशकको निष्ठाले पेन्सन पट्टालाई हेर्नलायक बनाएको छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?