+
+

दुना-टपरी उद्योगबाटै टुक कुमारीले जोडिन् दुई बिघा खेत

सुरेश बिडारी सुरेश बिडारी
२०७७ मंसिर ९ गते १९:०३

९ मंसिर, वीरगञ्ज । ‘पातको काम गर्नु अगाडि एक जोर चप्पल किन्न, बालबच्चाको कापी कलम जुटाउन समस्या थियो, दुना टपरी बनाएर बेच्न थालेपछि दुई बिघा खेत जोडेको छु । ’ महिला उद्यमी टुक कुमारी कार्कीले वीरगञ्जमा आयोजित एक कार्यक्रममा आफ्नो अनुभव सुनाइन् । ‘५ वटा छोराछोरी थिए, उनीहरुलाई पढाएँ, तीन वटाको विवाह समेत गरिसकेको छु,’ उनले भनिन्, ‘५ गाउँका २ सय ५० जना जति महिलालाई दुई चार पैसा कमाउने बाटो दिएको छु ।’

कार्कीले पर्साको पर्सागढी नगरपालिका–२ बागवानामा केही वर्षदेखि लक्ष्मी दुना-टपरी उद्योग सञ्चालन गर्दै आइरहेकी छन् । राम्रो चल्दा वार्षिक ५ लाखसम्म आम्दानी भएको सुनाउने उनी भूकम्प पछि कमजोर बनेको व्यवसाय लकडाउनले गर्दा झनै खस्केको सुनाउँछिन् । तर उनले आफूलाई दुना-टपरीमा मात्रै सीमित राखेकी छैनन् । दुना टपरीको बजार खस्कँदै गएपछि २०७५ सालमा उनले शिव पशुपालन फर्म खोलेकी छन् । फर्ममा पाँच वटा गाई छन् ।

उद्योग र फर्म सञ्चालनका लागि आफूलाई कुनैपनि निकायले अनुदान वा ऋण सुविधा नदिएको उनको भनाइ छ । महिला उद्यमी कार्कीले सहुलियत ब्याजमा ऋण पाईन्छ भन्ने सुनेर विभिन्न बैंक धाउँदा समेत ऋण नपाएको गुनासो गरिन् ।

‘वाणिज्य बैंकको वीरगञ्ज शाखामा जाँदा सिमरा जान भने, सिमरा शाखाबाट फरक जिल्लामा ऋण दिन सकिदैन भनेर फर्काए, कृषि विकास बैंक लगायत अन्य बैंकले पनि पत्याएनन,’ उनले भनिन् ‘व्यवसाय नगरी कागजपत्र मिलाउनेले बैंकबाट ऋण पाएको देख्छु, तर मैले मेहनत गरेर काम गरिरहेको छु, ऋण पाउन सकिन । बरु गाउँघरबाटै तीनदेखि पाँच रुपैयाँसम्म ब्याजमा रकम लिएर काम चलाएँ । ’

छैठौं उद्योग दिवसको अवसरमा वीरगञ्जमा उनलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको छ । घरेलु उद्योग सञ्चालन गरेर उदाहरणीय कार्य गरेकोले उनलाई सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय पर्साकी प्रमुख रिमा साहले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले नेपालीको आर्थिक अवस्था, प्रविधिमा पहुँच, जनशक्तिका हिसाबले पनि घरेलु उद्योग नै प्रभावकारी हुने बताए ।
‘आवश्यकता, रहर र बाध्यताले सहरतिर आकर्षण बढेकोले गाउँ रित्तिदै गएको अवस्था छ ।’ उनले भने ‘ ऋण लगानी गरेर होस वा अनुदान दिएर, सीप प्रविधि हस्तान्तर गरेर स–साना उत्पादनमुलक उद्योगतर्फ मानिसलाई आकर्षण गर्न सक्दा लाभदायक हुन सक्छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?