
‘यदि तिमीले दुनियाँ बदल्ने आँट गरेका छौ भने, यातनाका प्रत्येक दस्तावेजमा हस्ताक्षर गर्नैपर्छ, चाहे तिम्रो भागमा मृत्यु नै किन नपरोस् !’
चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको यो उद्दरण नेपालमा संचालित दस वर्षे जनयुद्धमा निकै चर्चित थियोे । धेरै क्रान्तिकारी योद्धाहरु यही उदात्त भावनावाट अभिप्रेरित भएर जनयुद्धमा सामेल भएका थिए । पूर्वी नेपालको झापा जिल्लाका रमेश गुरागाईं तीनै मध्येका एक हुन् ।
दश वर्षे जनयुद्धको दौरान राज्य पक्षको गिरफ्तारीमा परेर बेपत्ता बनाइनु भनेको प्रकारान्तरले मारिनु नै थियोे । त्यसरी बेपत्ता बनाइएकाहरु विरलै मात्र बाँचेर फर्किएका छन् । अझ मानव वधशालाका रुपमा विख्यात तत्कालीन शाही सेनाको महाराजगञ्ज स्थित भैरवनाथ गणबाट फर्किनु त झण्डै असम्भव नै थियोे । तर गुरागाईं आफ्नो क्रान्तिकारी आस्थालाई समेत बचाउँदै त्यस मृत्युकुण्डबाट फर्किए ।
पटक–पटक मृत्युलाई नजिकबाट नियालेका गुरागाईंले आफ्नो नाफाको बाँकी जीवन पनि क्रान्तिकै सेवामा समर्पित गर्ने अठोट गरेका छन् । पार्टी र आन्दोलनका दौरानमा विभिन्न मोर्चा सम्हाल्दै हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्लाको स्कुल विभाग प्रमुख समेत रहेका गुरागाईंले हालै आफ्नो दोस्रो कृति ‘कारावास’ सार्वजनिक गरेका छन् ।
मार्क्सवादको गहिरो अध्ययन र वर्गीय दृष्टिकोणमा दृढ रहेका गुरागाईं लेखन कर्ममा पनि उत्तिकै सक्रिय छन् । गुरागाईंको पहिलो कृति ‘शान्तिमोर्चामा माओवादी’ यसअघि नै प्रकाशित छ । यसका अलावा उनका थुप्रै फुटकर लेख, रचना र खोजमुलक वैचारिक कार्यपत्रहरु विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा प्रकाशित छन् ।

‘कारावास’ का लेखक गुरागाईं आफैं यस पुस्तकका मुख्य पात्र हुन् । वि.सं. २०६० मंसिर १७ गते उनी तत्कालीन नेकपा (माओवादी) का उपत्यका विशेष कार्यदल (भिएसटिएफ) का मुख्य कमाण्डर निश्चल नकर्मीसँगै सेनाको कब्जामा परेका थिए । प्रस्तुत पुस्तकमा हिटलरको यातना शिविरलाई माथ गर्ने र भैरवनाथ गणमा विताएका कहालीलाग्दा ३०७ दिन र तत्पश्चात् सुन्दरीजलमा विताएका कुरुप ४४४ दिनका अनुभूतिहरु समेटिएका छन् । केही घण्टा, केही दिन अथवा केही हप्ता मात्र नभएर महिनौं महिनासम्म लगातार दिइने क्रूर यातनाको एउटा विश्मयकारी र दर्दनाक चित्र हो ‘कारावास’ ।
यो पुस्तक मूलतः भैरवनाथ गण र सुन्दरीजलमा थुनिएका, सहिद, बेपत्ता र बाँचेर फर्किएका योद्धाहरुको सामूहिक भोगाइको जीवन्त सङ्गालो हो । पुस्तकमा गुरागाईं लेख्छन्, ‘भैरवनाथ गण जीवन र मृत्युको सिमानाजस्तो लाग्थ्यो । हामी जीवन र मृत्युको दोसाँधमा थियौं । मृत्युु र जीवन समानान्तर थिए । केही कमरेडहरुका भागमा मृत्युु पर्यो । हाम्रो भागमा न जीवन न मृत्युु ।’
‘कारावास’ केबल गुरागाईंको एक्लो कथा मात्र छैन । यसमा जनयुद्धकालमा भैरवनाथ गणमा बेपत्ता बनाइ राखिएका सबै लालयोद्धाहरुको भोगाइ समेटिएको छ । पुस्तकमा त्यतिबेला बेपत्ता पारिएका कृष्ण केसीदेखि हिमाल शर्मासम्म, विना मगरदेखि गोविन्द घिमिरेसम्म, वीरेन्द्र बस्नेतदेखि विजयदेव भट्टराईसम्म, निश्चल नकर्मीदेखि सुचिन्नद्र श्रेष्ठसम्म र पुष्पराज बस्नेतदेखि धीरेन्द्र बस्नेतसम्मका कयौं कथा र व्यथाहरु समेटिएका छन् ।
हिजोका दिनमा तत्कालीन राज्यले नागरिकहरुलाई बेपत्ता बनाएर कसरी राखेको थियोे भन्ने विषयमा पुस्तक आफैंमा एउटा जिउँदो प्रमाणसमेत बनेर आएको छ । कयौं बेपत्ता नागरिकहरुलाई गिरफ्तार गरेको नै नस्विकार्ने तत्कालीन राज्यको झुटो दावीलाई पुस्तकका माध्यमबाट लेखक गुरागाईंले ठाडो चुनौती दिएका छन् ।
वि.सं. २०६० पुष ५ गते भैरवनाथ गणबाट झण्डै चार दर्जन आस्थाका वन्दीलाई छानीछानी बाहिर लगिएको र उनीहरु त्यहाँ कहिल्यै नफर्किएको प्रसङ्गलाई पुस्तकमा विशेष रुपमा उठाइएको छ । गुरागाईं लेख्छन्, ‘भैरवनाथ गणबाट अन्य दिन साथीहरुलाई यातना दिन बाहिर लगिन्थ्यो । पछि फर्काएर ल्याइन्थ्यो । तर पुष ५ गते एकैपटक ठूलो संख्यामा बाहिर लगियो र कहिल्यै फिर्ता ल्याइएन ।’
‘ती सबैलाई कतै लगेर बेपत्ता पारियो अर्थात् मारियो भन्ने लेखक गुरागाईंको ठहर छ । यसर्थ तत्कालीन राज्यद्वारा बेपत्ता पारिएका नागरिकको यथार्थ खोजविनका निमित्तसमेत यो पुस्तक उपयोगी हुन सक्छ ।
गुरागाईंको पुस्तक पढेपछि थाहा हुन्छ, भैरवनाथ गणको त्यो कालकोठरीमा बेपत्ता बनाएर राखिएका सबै वन्दीहरुको आँखामा दिनरात कालोपट्टी लगाइएको हुन्थ्यो । दुवै हात पछाडि लगेर बाँधिएका हुन्थे । कहिले हिटरमा पिसाब फेर्न लगाइन्थ्यो । कहिले उभिण्डो पारेर पानीमा मुन्टो डुबाइन्थ्यो । पेट अघाउने गरी कहिल्यै खाना खान दिइन्नथियोे । भनेको बेला दिसापिसाब गर्न दिइन्नथियो । कहिले राति सुतिरहेको बेला जुरुक्क उठाएर लगातार पिटिन्थ्यो । हरेक दिनका यस्ता असैह्य यातनापछि उनीहरुलाई लाग्ने रहेछ ‘आज त मरिएन अर्को दिन के होला ?’
गुरागाईंको पुस्तकको सुरुदेखि अन्त्यसम्म वर्णित यी र यस्ता यातनाको नालीबेलीले मानवीय संवेदना भएका जोकोहीका आँखा रसाउँछन् । महिनौंसम्मको यस्तो कठोर यातनाले थिलोथिलो भएको ज्यानले जीवनभन्दा बरु मृत्युु प्यारो लाग्न थालेको अनुभूति निकै पृथक र विशिष्ट छ । गुरागाईं लेख्छन्, ‘निरन्तरको यातनाले जीन्दगी झन्झटिलो हुँदै जान थाल्यो । शायद त्यो आशा भागेको क्षण थियोे जीवनबाट । एकमनमा आत्महत्या गर्ने विचार आउँथ्यो । असह्य पीडा हुँदा यस्तो सोच आउँदो रहेछ । तर सजिलो थिएन त्यहाँ । हाम्रो रोजाइ र निर्णयको अर्थ हुँदैनथ्यो । जीवन होस् या मृत्यु, उनीहरुले चाहेको हुन्थ्यो । उनीहरुले चाहेको बेलासम्म कुर्नु पर्थ्यो ।
प्रस्तुत पुस्तकमा लेखकले तत्कालीन माओवादी जनयुद्धका कयौं रोचक र जानकारीमुलक प्रसङ्गहरु पनि पस्किएका छन् । पुस्तक पढेर तत्कालीन सेना–प्रहरीका आँखा छलेर कसरी भूमिगत काम गरिन्थ्यो भन्ने जान्न सकिन्छ । कठोर भूमिगत जीवनका अनेक आयामहरु पनि पुस्तकमा भेट्न सकिन्छ । आफूहरु माओवादी भएको धेरै भइसक्दा पनि कतिपय साथीहरुले कहिल्यै माओवादी नदेखेको कुरा आफैंलाई सुनाउँदा उत्पन्न हुने रोमाञ्चकताको प्रसङ्ग पनि छ । कहिलेकाहीँ आफैंलाई यातना दिन खटिएका सिपाहीहरुको ढुंगाजस्तो मन पनि पग्लिएर मानवीय संवेदना देखाइएका कथाहरु पनि पुस्तकमा वर्णित छन् ।
यसका साथै यस पुस्तकमा त्यस्ता भुइँ मान्छेहरुको पनि कथा लेखिएको छ जसको योगदान र इतिहास शायदै कसैले सम्झनेछ । भैरवनाथ गणमा समेत माओवादीका नाममा केही त्यस्ता सर्वसाधारण मानिसहरुलाई चरम यातना दिएर राखिएको थियो, जसलाई माओवादी कुन चराको नाम हो भन्नेसमेत थाहा थिएन ।
२०६ पृष्ठको यो संस्मरणात्मक पुस्तक जम्मा ३९ शीर्षकमा विभक्त छ । पुस्तक मूलतः दुईवटा मूल खण्डमा बाँडिएको छ । पहिलो खण्डको रुपमा रहेको भैरवनाथ गणको यात्रा कठोर यातनाले भरिएको कहालीलाग्दो अँध्यारो सुरुङतिर अघि बढेको देखिन्छ । दोस्रो खण्डको रुपमा रहेको सुन्दरीजलको बयानमा भने मृत्युु भाग्दै गरेको र जीवनले पछ्याउँदै गरेको अनुभूति छ ।
यो पुस्तकका प्रत्येक पानाहरु क्रान्ति योद्धाहरुको रगत, आँसु र पसिनाले छपक्कै भिजेका छन् । सरल भाषा, मीठो प्रस्तुति र बेलाबेलामा उर्लिएका भावनाका छालहरुले पुस्तक शुरु गरेपछि छाड्न मनै लाग्दैन । नेपाली जनयुद्ध, त्यसमा संलग्न योद्धाहरु, तिनको त्याग र बलिदानको मूल्यवोध गर्न माओवादी अध्ययन केन्द्रले प्रकाशन गरेको यो पुस्तक पढ्नैपर्ने हुन्छ ।
गुरागाईंले आफ्ना बालसखा एवम् सहयोद्धा पुष्प बस्नेतसँग २०६० मंसिर १७ गते याहुमा च्याट गरेको प्रसङ्ग सम्झिका छन् । पुष्प भैरवनाथ गणबाटै हालसम्म बेपत्ता छन् । त्यसबेला पुष्पले लेखेका रहेछन्, ‘क्रान्तिमा हाम्फालेर जीवनमा अत्यन्तै सही निर्णय लिएकोमा सर्वाधिक उत्साह र आनन्दको अनुभूति भएको छ ।’
पुस्तक पढिसकेपछि यस्तो लाग्छ, के साँच्चिकै आज त्यो क्रान्ति हामी माझ नरहेका पुष्प र रहेका रमेशहरुले भनेकै बाटोमा छ त ? यो ‘कारावास’ पुस्तकले खडा गरेको यक्ष प्रश्न शायद यही हो ।
पुस्तक : कारावास
विधा : संस्मरण
पृष्ठ : २०६
लेखक : रमेश गुरागाईं
प्रकाशक : माओवादी अध्ययन केन्द्र, झापा
मूल्य : रु. ५००
प्रतिक्रिया 4