
३ माघ, काठमाडौं । अघिल्लो साता प्रभु बैंकको सञ्चालक समितिमा दुई नयाँ अनुहार देखिए । बैंकको साधारण सभाबाट प्रमोद घिमिरे र रामेश्वर सापकोटा सञ्चालकमा चुनिए । यसअघि सञ्चालक रहेका ऋषिराम गौतम, अञ्जु अधिकारी, रमेशसिंह खड्का र शंकरप्रसाद कालिकोटे पुनः दोहोरिए ।
तर बैंकका अध्यक्ष रहेको देवीप्रकाश भट्टचन भने प्रभु बैंकबाट बाहिरिएका छन् । बैंकको अध्यक्ष बन्न पहिले सञ्चालक बन्नुपर्ने हुन्छ । सञ्चालकमा निर्वाचित भएपछि सञ्चालकहरु मध्येबाट एक जना अध्यक्ष चुनिने हुन् ।
भट्टचनले भने अध्यक्षका लागि उम्मेद्वारी नै दिएनन् । भट्टचन अध्यक्षबाट बाहिरिएपछि अनेक अड्कलबाजीहरु हुन थालेका छन् । प्रभु बैंकलाई अहिलेको स्थानमा पुर्याउने नै उनै भट्टचन हुन् ।
प्रभु बैंक कुनै बेला एउटा फाइनान्स कम्पनी थियो । पछि विकास बैंक भयो । अहिले यहाँसम्म आइपुग्नका लागि प्रभु बैंकले २ वटा वाणिज्य बैंक गाभेको थियो । तत्कालीन ग्राण्ड र किष्ट बैंक भट्टचनकै नेतृत्वमा प्रभुमा विलय भएका थिए ।
‘छाड्नु पर्ने खास कारण केही छैन’
निकै समस्यामा परेका बैंकलाई गाभेर अहिले अब्बल वाणिज्य बैंक प्रभु बन्नुमा पनि भट्टचनकै सक्रियताको प्रतिफल हो । ग्राण्डमात्रै होइन, किष्ट बैंक पनि निकै समस्यामा रहेका बेला प्रभुले लिएको थियो । प्रभुमा गौरीशंकर डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स, वैभब फाइनान्स जस्ता संस्थाहरु पनि विलय भएका छन् ।
त्यसबेला किष्ट बैंकको व्यवस्थापन प्रभु समूहले लिएपछि ३० भदौ २०७१ मा एकीकृत कारोबार सुरु भएको थियो । प्रभुको प्रवेशसँगै नाममात्रै फेरिएन, एक किसिमले बैंकको कायापलट नै भयो । अहिले प्रभु बैंक निकै बलियो बनेको छ ।
सेयरधनीलाई पनि बैंकले राम्रै प्रतिफल दिन शुरु गरिसकेको छ । गत आर्थिक वर्षको मूनाफाबाट प्रभुले बोनसमात्रै १० प्रतिशत दिएको छ ।
मेहनत गरेर बैंकलाई अहिलेको स्थानमा ल्याइपुर्याएका भट्टचनले आखिर किन बैंक छाडे त ? यो प्रश्न अहिले बैंकिङ क्षेत्रमा चल्तीको प्रश्न हो । यस विषयमा भट्टचनले भने खास कुनै कारण नरहेको बताए । अनलाइनखबरसँगको जिज्ञासामा उनले छाटो प्रतिक्रिया दिँदै भने, ‘सल्लाहले नै हो, खास केही कारण छैन ।’
प्रभु लाइफलाई अव्वल बनाउने योजना
भट्टचनले तत्कालीन प्रभु फाइनान्स तथा प्रभु विकास बैंकको समेत अध्यक्षको रुपमा सफल नेतृत्व गरे । संस्था अपग्रेड हुँदै गयो, तर भट्टचन नेतृत्वमा रहिरहे । उनकै नेतृत्वमा समस्यामा फस्न लागिसकेको किष्ट बैंक गाभियो ।
त्यसपछि अर्को वाणिज्य बैंक ग्राण्ड पनि भट्टचनकै नेतृत्वमा प्रभुमा गाभिएको थियो । प्रभु बैंक बनिसकेपछि पनि उनी २ कार्यकाल अध्यक्ष बने । अब भने उनको चाहाना प्रभु लाइफ लाइफ इन्स्योरेन्सलाई अब्बल बनाउने छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार अब प्रभु लाइफको अध्यक्षको रुपमा भट्टचन हुनेछन् ।
प्रभु लाइफको सञ्चालक समिति सदस्य रहेका रामेश्वर सापकोटाले राजीनामा दिएर प्रभु बैंकको सञ्चालक चयन भएका छन् । प्रभु लाइफले भर्खरै सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको छ । अर्थात् हालसम्म सर्वसाधारणको प्रतिनिधित्व प्रभु लाइफमा छैन ।
संस्थापक समूहतर्फबाट नै अहिले ५ जना कम्पनीको सञ्चालक रहेका छन् । एक जना स्वतन्त्र सञ्चालक सहित दुई सञ्चालक पद प्रभु लाइफमा रिक्त छ । प्रभु लाइफको अध्यक्ष अहिले डा. आत्मराम घिमिरे रहेका छन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत भने राष्ट्र बैंकको सेवा निवृत कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल रहेका छन् । प्रभु लाइफलाई अन्य कम्पनीसँग प्रतिष्पर्धा गर्न सहज होस भनेर नै कार्यकारी नेतृत्वको जिम्बेवारी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पौडेललाई दिइएको थियो ।
संस्था अहिले पनि राम्रै छ, यसलाई अझै राम्रो बनाउनका लागि पनि भट्टचनले नेतृत्व गर्न चाहेको बुझिएको छ । हाल अध्यक्ष रहेका घिमिरेले पनि आफू नेतृत्व सुम्पन तयार रहेको बताएका छन् । संस्थाको आईपीओ निष्कासन पश्चात नेतृत्व छाड्ने तयारीमै आफू रहेको र अब समय पनि भइसकेको उनले सुनाए । तर भट्टचनकै आग्रहमा आफू अध्यक्ष बसेको उनको प्रतिक्रिया छ ।
‘मैले त अब छाड्छु भनिसकेको छु, मैले चाहेको नै यही हो’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष घिमिरेले भने, ‘अहिले नछाड्नु उहाँहरुले नै भन्नु भएको हो, भट्टचन सर आउनु भयो भने खुसीकै कुरा हो ।’
प्रतिक्रिया 4