+
+

खुलामञ्चभित्रका संरचना हटाउन काठमाडौं महानगरको पहल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १९:०१

२८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्रको भवन, क्रसर उद्योग,सहितका संरचना र निर्माण सामग्री हटाउने योजना बनाएको हो ।

दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग छलफल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले बताए । राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको उनको भनाइ छ ।

कोभिड-१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाइ भएकाले खुलामञ्चमा राखिएका निर्माण सामाग्री हटाउन केही ढिलाइ भएको महानगरपालिकाको स्पष्टीकरण छ ।

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्रभित्रका सडक, व्यपार व्यवसाय र ट्राफिक व्यवस्था अस्तव्यस्त बन्ने गरेको छ । त्यसको मार महानगरवासीले खेप्नु परेकाले महानगरपालिकाले छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको प्रशासकीय अधिकृत ज्ञावालीको भनाइ छ ।

भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञावालीको भनाइ छ । भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रुपमा सञ्चालनमा छ । अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने दिनमा बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताए ।

‘ठेकेदार कम्पनीले पछिल्लो पटक दिएको प्रतिवेदन अनुसार ९० प्रतिशत बढी काम सम्पन्न भएको छ,’ शाहले भने, ‘हामीले पनि ठेकेदारलाई जति सक्दो छिटो काम सम्पन्न गर्न भनेका छौँ । छिटो काम सम्पन्न गरी खुलामञ्च खुला गर्न निर्देशन दिन्छु ।’

उनले बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधीन अस्पताल भित्रै राखेर पनि गर्न सकिने भए पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘हाम्रै परिसरभित्र निर्माण सामग्री राख्न सकिन्छ भने त्यो उपाय पनि गर्न हामी तयार छौँ,’ उनले भने, ‘खुलामञ्च सार्वजनिक ठाउँ हो । त्यसको उपादेयता अझ बढेको अवस्थामा सक्दो छिटो खाली गर्ने प्रयास गर्नुको विकल्प छैन ।’

वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले पनि खुलामञ्चमा थुपारेका निर्माण सामग्री हटाउन सकारात्मक रहेको जानकारी दिए ।

‘कामदार त्यहाँ बसिरहेकाले केही समस्या छ,’ उनले भने, ‘पार्किङ क्षेत्र हामी एक हप्ता भित्रै खाली गर्न तयार छौँ । मैले ठेकदारसँग पनि छलफल गरिसकेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?