Comments Add Comment

शीर्ष नेताहरुसँग राष्ट्रपतिले भनिन् : चुनावलाई किन नकारात्मक रुपमा लिने ?

३ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको ‘भेटघाट’मा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा जाने प्रस्ताव गरेका छन् । त्यसको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले त्यसको प्रतिवाद गरेका छन् भने राष्ट्रपतिले समर्थन भाव देखाएकी छन् ।

बंगलादेश भ्रमणको तयारीमा रहेकी राष्ट्रपति भण्डारीले चियापानका लागि भन्दै प्रमुख दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएकी थिइन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका नेताहरु सहभागी थिए । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी पनि उपस्थित भेटमा एमालेका नेता पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने अनुपस्थित रहे ।

आमन्त्रित नेताहरु उपस्थित भएपछि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ का कारण लामो समय भेट हुन नपाएको र आफू बंगलादेश भ्रमणमा पनि जान लागेकाले चियापान पनि गरौं भनेर बोलाएको जानकारी दिइन् ।

अन्तिममा राष्ट्रपति भण्डारी बोलिन् । उनले ‘चुनाव लोकतान्त्रिक प्रक्रिया नै हो, चुनावलाई किन नकारात्मक रुपमा लिनुपर्‍यो ? यद्यपि निर्णय तपाईंहरुको हो’ भनेको एक नेताले बताए ।

प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बंगलादेश भ्रमणका लागि राष्ट्रपतिलाई शुभकामना दिए ।

एक सहभागीकाअनुसार अरु नेताहरु बोल्न नखोजेपछि सहभागीहरु उठ्न खोजेका थिए । तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले म केही बोल्छु भनेर समय लिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने ५ पुसको आफ्नो कदमको बचाउ गरे । सर्वोच्च अदालतले जे फैसला गरेको भए पनि संसद विघटनसम्बन्धी व्यवस्थामा संविधानमा भएको जिकिर गरेका उनले ‘चुनाव लोकतन्त्र होइन र ? त्यसो भए २ वर्षपछि पनि चुनाव नगर्ने ? भनेर प्रश्न गरेका छन् ।

पुनर्स्थापित प्रतिनिधिसभाले पनि राम्रोसँग काम गर्ने नदेखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सबै राजनीतिक दल मिलेर चुनावमा जाने प्रस्ताव समेत राखेका छन् ।

भेटमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन्, ‘प्रधानमन्त्रीले हिजोअस्ति जे भन्दै आउनुभएको थियो, त्यही दोहोर्‍याउनुभयो । र, अब पनि ताजा जनादेशका लागि चुनावमा जानुपर्छ भन्नुभयो ।’

तर नेताहरुले प्रधानमन्त्रीको भनाइको प्रतिवाद गरे । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले के हो सल्लाह, आफैंले बनाएको संविधान हेर्नुपर्दैन ? भन्दै प्रश्न गरे भने माओवादी नेता श्रेष्ठले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने कि बहस गर्ने ? भनेर प्रश्न गरेका छन् ।

त्यसपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बोले । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति सुनिरहँदा ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ कि पर्दैन ? अविश्वासको प्रस्ताव ल्याउन पाइन्छ कि पाइँदैन ? सबै मिलेर चुनाव गर्ने भनेको के हो ?’ भन्ने जस्ता जिज्ञासा आफ्नो मनमा आएको बताए ।

माओवादी नेता श्रेष्ठले राष्ट्रिय संकटका बेला वा राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न राष्ट्रपतिले दलहरुलाई बोलाउन सक्ने, तर यो सर्वदलीय बैठक नभई चियापान मात्र भएको बताए । संसद विघटनबारे गरेको फैसला कार्यान्वयन गर्नुको साटो प्रधानमन्त्रीले किन बहस गर्न खोज्दैछन् भनेर प्रश्न उठाए ।

श्रेष्ठले संसद विघटन बदर गर्ने फैसला गर्दा सर्वोच्च अदालतले सरकार बन्न नसकेमा मात्र संसद विघटन हुनसक्छ भनेर प्रष्ट भनिसकेको अवस्थामा दलहरुले चाहँदैमा चुनावमा जान सकिन्छ ? भनेर प्रश्न गरेको एक नेताले बताए ।

कांग्रेस उपसभापति निधिले पनि संविधान र संसदीय प्रक्रियाअनुसार मात्र चुनावमा जान सकिने बताए भने चित्रबहादुर केसीले पनि प्रधानमन्त्रीमाथि प्रश्न गरे ।

त्यसपछि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो यस्तो छलफल गर्ने थलो हो र ? भनेर प्रश्न गरेका छन् । ‘म धेरै बहस त गर्न चाहन्नँ, तर प्रधानमन्त्रीले निकै अरुचिकर अप्रिय कुरा बोल्नुभयो’, उनले भने ।

नेताहरुको तर्फबाट अन्तिम वक्ताका रुपमा राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी बोले । सरकारको तीन वर्षको कामले जनतामा निराशा छाएकाले अहिलेको संकट आएको भन्दै उनले प्रधानमन्त्रीले सबै पक्षसँग छलफल गरेर संसदबाट निकास खोज्नुपर्ने बताए । लोहनी बोलेपछि नेताहरु त्यहाँबाट उठ्न खोजेका थिए ।

राष्ट्रपतिले के भनिन् ?

अन्तिममा राष्ट्रपति भण्डारी बोलिन् । उनले ‘चुनाव लोकतान्त्रिक प्रक्रिया नै हो,  चुनावलाई किन नकारात्मक रुपमा लिने ? यद्यपि निर्णय तपाईंहरुको हो’ भनेको एक नेताले बताए ।

भेटपछि कतिपय नेताहरुले चुनावको वातावरण बनाउन राष्ट्रपतिमार्फत बैठक बोलाइएको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

भेटमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा जाने प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपतिको समर्थन भाव देखिएको पुष्टि गरे । यद्यपि चुनावको प्रस्ताव प्रधानमन्त्रीले राखेको भन्दै उनले भने, ‘मैले चुनावपछि सबै समस्याको समाधान हुन्छ भनेर कसले ग्यारेन्टी लिन्छ भनेर प्रश्न गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment