
२१ वैशाख, काठमाडौं । दाङ उपमहानगरपालिकाका शिक्षा सल्लाहकार शिशिर खनालले एक बुज्रुकका लागि आईसीयू आवश्यक परेको तर दाङ र नेपालगञ्जमा नपाइएकाले काठमाडौंमा खोजिरहे पनि नपाइएकाले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरे । उनको यो पोस्टमा धेरैले कमेन्टमा लेखे– कोभिड कनेक्सन नेपाललाई सम्पर्क गर्नुस् ।
कोरोना महामारीको दोस्रो लहर देशभर तीव्र रुपमा फैलिंदै गएपछि केही दिनयता सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा प्लाज्मा, आईसीयू तथा भेन्टिलेटरको आवश्यकता परेकाले कतै नपाइएको भन्दै सहयोगको अपील गरिएका पोस्टहरु बढ्दै गएका छन् ।
कोभिडका बिरामीको उपचार गरिरहेका अस्पतालहरुले यही बेला आईसीयू, भेन्टिलेटर भरिभराउ भएको बताइरहेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोनाले धेरैको अवस्था गम्भीर बनाएको छ ।
गम्भीर संक्रमितको संख्या अत्यधिक बढिरहेकाले बेड नपाउने स्थिति सिर्जना भएको अस्पतालहरुले जनाएका छन् । यस्तो अवस्थामा बिरामीलाई एक शब्द सही सुझाव दिने मानिस पनि निकै महान् लाग्ने अवस्था छ । यही अवस्थाका बिरामीलाई बेड, आईसीयू, भेन्टिलेटर खोज्न सघाउनका लागि अहिले युवाहरुको समूह सक्रिय भएको छ ।
(Covid Connect Nepal (covidconnectnp.org) सुरजराज पाण्डेको समूह कोभिड कनेक्ट नेपालले उपत्यकामा आईसीयू, भेन्टिलेटर, बेड नपाउने, सिलिन्डर नपाएका बिरामीहरुलाई खोज्न सघाइरहेको छ ।
काठमाडौं धुम्बाराहीका युवा व्यवसायी २४ वर्षीय सुरजराज पाण्डे (फाइब्रो कपडा कम्पनीका संस्थापक सञ्चालक) कोरोना महामारीले भारतको दिल्लीमा मच्चाएको त्रासदी नियालिरहेका रहेका थिए । उनले नेपालमा पनि त्यस्तै भयावह अवस्था आउनसक्ने अनुमान गरेका थिए ।
किनभने उनले भारतीय नागरिक र सरकार अनि नेपाली नागरिक र सरकारको व्यवहार एउटै देखिरहेका थिए । खुल्ला सिमानाबाट भित्रिने नेपालीका कारण पनि संक्रमण फैलिन्छ भन्ने उनलाई अनुमान थियो ।
दिल्लीमा रहेका साथीहरुसँग उनले यो अवस्था आउनुको कारण बुझिरहेका थिए । त्यहाँ लापरबाही तथा समयमा जनशक्ति, अस्पताल र उपचार स्रोत जुट्न नसक्दा धेरै मानिसले ज्यान गुमाउनु परेको साथीहरुको अनुभव उनले सुने ।
ती साथीहरुले सुरजलाई पनि सरकारको आश गरेर बस्नुभन्दा जनस्तरमा गएर त्यहाँ भएका स्रोतहरु जुटाउनसक्यो भने नेपालले दिल्लीको जस्तो खराब अवस्था केही हदसम्म कम भोग्नुपर्ने अनुभव सुनाए ।
त्यसपछि उनले जनस्तरमा भएको स्रोतको परिचालन गरेर आवश्यक परेकालाई सहयोग गर्न सकिन्छ कि भनेर साथीहरुसँग छलफल गरे । सबै क्षेत्रका साथीहरुसँग आइडिया सेयर गर्दै सबै जुटेर केही गरौं भनेर प्रस्ताव गरे ।
आईटी क्षेत्रका, मेडिकल क्षेत्रका, समाजसेवा गरिरहेका साथीहरु उनको आइडियामा सहमत मात्रै भएनन् काम पनि शुुरु गरे । त्यसपछि उनको समूहले उपत्यकाका विभिन्न अस्पतालमा फोन गर्दै आवश्यक परेका बिरामीलाई आईसीयू, भेन्टिलेटर, अक्सिजन उपलब्ध गराइरहेको छ ।
वैशाख १६ गतेदेखि अभियान थालेका उनीहरुले डेढसय जनालाई अक्सिजनसहितको बेड, आईसीयू र भेन्टिलेटर सहयोग गरिसकेका छन् । जसलाई उनीहरुले वेबसाइटमा अपडेटसमेत गरेका छन् । ‘केहीको विवरण अपलोड गर्न छुटेका कारण समस्या समाधान हुनेको संख्या कम देखिएको छ,’ पाण्डेले भने ।
आपतमा परेकाहरुको सहयोगका लागि अहिले उनको टिममा ५५ जनाभन्दा बढी मनकारीहरु सक्रिय छन् । १८ जनाले हटलाइनमार्फत आएको फोन अनुसार व्यक्तिको समस्या बुझ्ने, ७ जनाले सामाजिक सञ्जालमा आएको अनुरोध हेर्ने, अस्पतालहरुमा हरेक दुई वा तीन घन्टामा फोन गर्दै उपलब्ध भएको बेड, अक्सिजनको अवस्था बुझेर अर्को ७ जनाको आईटी समूहलाई अपडेट गर्ने काम गर्दै आएको छ । यो समूहले आएको अनुरोध संख्या, त्यसको प्रकार, आईसीयू, भेन्टिलेटर बेड, अक्सिजन, गाडी पाउनेको संख्या वेबसाइटमा अपडेट गर्छ ।
१५ जनाको मेडिकल टिमले अनुरोध आएका संक्रमितको अवस्था अनुसार परामर्श दिने गर्छ । सामान्य रुघाखोकी, हाछ्यूँ, हल्का ज्वरो आएको व्यक्तिलाई घरमै आइसोलेसन बस्न भनिन्छ, सामान्य अक्सिजन कम भएकालाई अक्सिजन लिएर बस्न परामर्श दिइन्छ । एम्बुलेन्स, गाडीको व्यवस्थासमेत जुटाइदिन यो समूहभित्र केही जनाको टिम सक्रिय छ ।
एक हप्ता अघि मात्रै अभियान शुरु गरेको यो समूहले गम्भीर बिरामीहरु १०० भन्दा बढीलाई सहयोग गरिसकेको छ । उनीहरुले महामारीको सकसको अवस्थामा एकअर्कालाई सहयोग गर्न अनुरोध गरिरहेका छन् । टोल वा छिमेकमा कसैको घरमा अक्सिजन भए आवश्यक परेको व्यक्तिलाई सहयोग गर्न अनुनय गरिरहेका छन् ।
अहिले सरकारको अपेक्षा गरेर बस्न सकिने अवस्था नभएकाले जनस्तरबाटै जुटेर लाग्नुपर्ने अभियन्ता पाण्डे बताउँछन् । उनी भन्छन्, ‘अहिले सरकारको अपेक्षा गरेर बस्ने अवस्था छैन । सरकारले मात्रै सक्दैन पनि । त्यसैले हामीले एकअर्कालाई सहयोग गरेर यो महामारीसँग लड्नुको विकल्प छैन ।’ सहयोगको आवश्यकता रहेकाहरुले वेबसाइट https://covidconnectnp.org/ अथवा हटलाइन नम्बर ९८१३२८८९९८, ९८४३३८९४१२, ९८४२८६३०९३, ९८२३०११६२३ मा फोन गरेर सहयोग लिन सक्ने पाण्डेले बताए ।
यो विषम परिस्थितिमा पनि केही अस्पतालहरुले भने सूचना लुकाएको उनले गुनासो गरे । सरकारले भनिरहेकोजस्तो अक्सिजनसमेत पर्याप्त नभएको उनी बताउँछन् ।
अधिकांश अस्पतालहरुमा अक्सिजनको समेत अभाव भइरहेको उनले पाएको सुनाए । तत्काल सरकारले फास्ट ट्रयाकबाट हरेक अस्पतालमा अक्सिजन प्लान्ट राख्न नसके थप जटिल अवस्था निम्तिन सक्ने उनको भनाइ छ ।
अहिले लुम्बिनी र गण्डकीमा समेत स्थानीय युवाहरुले पनि यस्तो काम शुरु गरेका छन् । सबै जना आफ्नो क्षेत्रबाट एकअर्काका लागि जुट्न सके यो महामारीबाट ज्यान जोगाउन केही सहज हुने पाण्डे बताउँछन् ।
प्रतिक्रिया 4