Comments Add Comment

गोरखामा तीव्र गतिमा फैलिँदै कोरोना, छैन उपचार गर्ने ठाउँ

गोरखा अस्पतालमा अस्पतालबाहिरै कोरोना संक्रमितको उपचार हुँदै ।

३० वैशाख, गोरखा । दोस्रो लहरको कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि गोरखामा यसको रोकथाम र उपचारमा चुनौती थपिएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता वैशाख १० गतेदेखि २९ गतेसम्म चार सय ८७ जनामा संक्रमण पुष्टी भइसकेको छ भने ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका कुल संक्रमितमध्ये चार सय ५८ जना होम आइसोलेसनमा र हाल २९ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा भएकामध्ये ७ जना गोरखा जिल्ला अस्पतालमा र अरु जिल्ला बाहिरका विभिन्न अस्पतालमा उपचाररत छन् ।

पहिलो लहरको कोरोना संक्रमणका बेला तयार पारिएका संरचनासमेत अहिले नभएका कारण जिल्लामा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । अहिले धेरै संक्रमितलाई अक्सिजनसहित उपचार आवश्यक पर्ने देखिएकाले झन् चुनौती बढेको छ ।

हाल अधिकांश संक्रमित होम आइसोलेसनमा छन्, तर उनीहरुको उचित निगरानी हुन सकेको छैन । जिल्लामा सबैभन्दा धेरै संक्रमित भीमसेन थापा गाउँपालिकामा छन् । हालसम्म सक्रिय संक्रमितको संख्या दुई सय पुगिसकेको र अधिकांश होम आइसोलेसनमा रहेका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनाल बताउँछन् ।

संक्रमितले घरायसी काम आफैं गर्दै आएका छन् । ‘कतिपय घरका सबै संक्रमित छन्, वस्तुभाउलाई घास पानी गर्ने कोही नभएपछि हामीले सुरक्षित भएर गर्न छुट दिएका छौं,’ उनले भने ।

भीमसेन थापा गाउँपालिका-७ क्यामुन्टारमा कन्ट्याक्ट ट्रेसिङपछि स्वाब संकलन गरिँदै । तस्वीर : प्रितम श्रेष्ठ ।
‘पहिलो चरणको कोरोना आउँदा बनाएको १५ बेडको आइसोलेसन छ तर अहिलेको संक्रमितमा अक्सिजनको लेभल कम हुने समस्या बढी छ, हामीसँग आईसीयूको सामान छैन, त्यसैले उपचार गराउन सक्ने अवस्था छैन,’ आरुघाट गाउँपालिकाका प्रशासकीय अधिकृत एकदेव खनालले भने ।

होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न स्थानीय स्वास्थ्यकर्मी खटाइएको उनले बताए । ‘संक्रमित क्षेत्रमा स्थानीय स्वास्थ्यकर्मी खटाएका छौं, वडाका जनप्रतिनिधिसँग समन्वय गरेर उहाँहरु निरन्तर संक्रमितको सम्पर्कमा रहनुहुन्छ र आवश्यक परेमा भेटघाट पनि गर्नुहुन्छ,’ खनालले भने ।

गाउँपालिकामा ५ बेड क्षमताको कोभिड अस्पताल सञ्चालन भएपनि अक्सिजन अभाव छ । उनका अनुसार उक्त अस्पतालमा हाल चार वटा अक्सिजन सिलिण्डर छन् । ‘एक÷दुई जना बिरामी आएमा उपचार गराउन सक्छौं, त्यो भन्दा धेरै आएमा रिफर गर्नुको विकल्प छैन,’ उनले भने ।

संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने र स्वाबको नमूना संकलन गरेर परीक्षण गर्ने काम पनि भइरहेको उनले बताए । अन्य स्थानीय तहले पनि संक्रमण फैलिएको क्षेत्रमा वडा जनप्रतिनिधि र स्वास्थ्यकर्मीले निगरानी गरेको जिकिर गर्दै आएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कमा विभिन्न स्थानीय तहमा गरी ५७ बेडको आइसोलेसन रहेको छ । पालुङटार नगरपालिकामा २०, आरुघाट गाउँपालिकामा १५, गण्डकी गाउँपालिकामा १०, गोरखा नगरपालिकामा ७ र सिरानचोक गाउँपालिकामा ५ बेडको आइसोलेसन रहेको तथ्यांक छ । तर स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखसँग कुराकानी गर्दा यो संख्ख्यामा आइसोलेसन नभएको बताउँछन् ।

आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल अहिले संक्रमितमा अक्सिजन लेभल कम हुने र जटिल समस्या देखिएकाले उपचारमा कठिनाइ रहेको बताउँछन् ।

‘पहिलो चरणको कोरोना आउँदा बनाएको १५ बेडको आइसोलेसन छ तर अहिलेको संक्रमितमा अक्सिजनको लेभल कम हुने समस्या बढी छ, हामीसँग आईसीयूको सामान छैन, त्यसैले उपचार गराउन सक्ने अवस्था छैन,’ उनले भने ।

सामान्य रुघाखोकीको लक्षण देखिएका संक्रमितलाई राख्न सकिने भएपनि श्वास प्रश्वासको समस्या भएकालाई उपचार गराउन नसकिने उनले जानकारी दिए ।

गण्डकी गाउँपालिकामा १० वेडको आइसोलेसन सञ्चालनमा रहेको स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठ बताउँछिन् । तर पर्याप्त मात्रामा अक्सिजन र आवश्यक स्वास्थ्य उपकरण नभएकाले उपचारमा समस्या छ । उनका अनुसार संक्रमितहरु अहिले होम आइसोलेनसनमा छन् । गाउँपालिकाको कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि कार्यालयको नियमित सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।

जिल्ला सदरमुकाममा रहेको गोरखा अस्पतालमा एक बेड भेन्टिलेटर र १५ बेडको आइसोलेसन छ । तर भेन्टिलेटर कोभिड–१९ का संक्रमितको उपचारका लागि प्रयोग गर्न नसकिने मेडिकल सुपरिटेन्डेण्ट डा. शान्ति भुर्तेल बताउँछिन् ।

अस्पतालका सूचना अधिकारी कृष्ण ढकालका अनुसार हाल जिल्ला अस्पतालको आइसोलेसनमा सात जना संक्रमित छन् । सबै बिरामीलाई अक्सिजन सपोर्टमा उपचार गरिएको छ । ‘संक्रमित सबै अक्सिजन लगाएर राख्नुपर्ने खालका बिरामी छन्, अलि बढी सिरियस देखिएमा रिफर गर्ने गरेका छौ,’ ढकालले भने ।

हालसम्म ७ जनालाइ थप उपचारका लागि अन्य जिल्लामा रिफर गरिएको उनले जानकारी दिए । रिफर गरिएकामध्ये एक जनाको पोखरामा उपचारको क्रममा मृत्यु भएको उनले बताए । ‘हालसम्म ३२ जना संक्रमित भर्ना हुनुभएको थियो, १७ जना सुधार भएर घर फर्कनुभयो, ७ जनालाई थप उपचारका लागि अन्य जिल्लामा रिफर गर्‍यौं’ उनले भने ।

अहिले उपचाररत संक्रमितलाई धेरै अक्सिजन दिनुपरेको उनको भनाइ छ । ‘अहिले सात जना संक्रमितको लागि प्रतिमिनेट ७० लिटर अक्सिजन खर्च हुन्छ, दिनमा करिव ६÷७ वटा सिलिण्डर सकिन्छ, अब हामीसँग २०/२५ वटा भरी सिलिण्डर बाँकी छन्, खाली सिलिण्डर भर्न चितवन पठाएका छौं,’ उनले भने ।

अस्पताल भर्ना हुने संक्रमितको दर बढ्दै जाने हो भने अक्सिजन अभाव हुनसक्छ । अस्पतालले अक्सिजन प्लान्ट जडान सुरु गरेको र एक हप्तामा अक्सिजन उत्पादन हुने ढकालले दावी गरे ।

शहीद लखन, अजिरकोट र सिरानचोक गाउँपालिकामा पनि ५/५ बेडको आइसोलेसन छ । तर अक्सिजन र उपकरण अभाव छ । यहाँका संक्रमित पनि अधिकांश होम आइसोलेसनमा छन् । जिल्लाका अधिकांश आइसोलेसनहरु सामान्य रुघाखोकी र ज्वरोजस्ता लक्षण आएका संक्रमितको मात्र उपचार गर्न सक्छन् । स्थानीय तहमा अक्सिजन लेभल नाप्ने अक्सिमिटर पाउन पनि समस्या छ ।

जिल्लामा संकलन गरिएको एक हजार ९३ स्वाबको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयको भनाइ छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्का भन्छन्, ‘स्वाब संकलन गरेर पठाएको रिपोर्ट आउन कम्तीमा पाँच दिन लाग्छ,’ उनले भने । जिल्लामा संकलन भएको स्वाब परीक्षणका लागि पोखरा पठाउने गरिएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको जिम्मा स्थानीय तहलाई दिइएको छ । ‘स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङका लागि हामीले पालिकाका स्वास्थ्यकर्मीहरुलाइ तालिम दिइसकेका छौ, आफ्नो पालिकामा उहाँहरु आफैंले गर्नुहुन्छ,’ खड्काले भने ।

पार्टी कार्यालयमा आइसोलेसन बनाइने 

नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टी कार्यालयलाई आइसोलेसन केन्द्र बनाउन दिने निर्णय गरेका छन् । दुवै पार्टीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयलाई संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र बनाउन दिने निर्णय गरेका हुन् ।

ती भवनमा आवश्यकता तथा चिकित्सकीय एवं प्राविधिक उपयुक्तताको आधारमा आइसोलेसन केन्द्र निर्माण, सञ्चालन र व्यवस्थापन गोरखा नगरपालिकाले गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरेको छ । त्यहाँ चिकित्सकीय सेवा भने गोरखा अस्पतालले उपलब्ध गराउनुपर्ने छ ।

अक्जिसन सिलिण्डर संकलन

जिल्लाका विभिन्न उद्योग, वर्कसप, आयोजना र सप्लायर्सहरुसँग रहेको अक्सिजन ग्यास सिलिन्डर प्रहरीले संकलन गरेको छ । उपचारबाहेक अन्य प्रयोजनमा रहेका ७८ थान सिलिण्डर संकलन गरेको डीएसपी प्रकाश दाहालले बताए ।

सङ्कलितमध्ये ४० वटा गोरखा अस्पताल, १५ वटा गोरखा नगरपालिकाको आइसोलेसन सेन्टर र ६ वटा आरुघाटको आइसोलेसनका लागि पठाइएको उनले जानकारी दिए । बाँकी सिलिण्डर स्थानीय तहले सञ्चालन गर्ने आइसोलेशन सेन्टरलाई उपलब्ध गराउने प्रहरीले जनाएको छ ।

थप १५ दिन निषेधाज्ञा

कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढेपछि गोरखामा जिल्ला प्रशासन कार्यालयले वैशाख २२ गतेदेखि निषेधाज्ञा आदेश जारी गरेको छ । शुक्रबार निषेधाज्ञाको अवधि सकिनुअघि नै बिहीबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञाको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । निषेधाज्ञा अवधिभर निर्माण सामग्री ढुवानीका साधनहरु बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

सहकारी, लघुवित्त इन्स्योरेन्स कम्पनीका सबै सेवाहरु बन्द हुनेछन् । गोरखामा बाहिरी जिल्लाबाट हुने तरकारी ढुवानी पूर्ण रुपमा बन्द गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment