Comments Add Comment

होम आइसोलेसनमा न चिकित्सकको सल्लाह, न शव व्यवस्थापन

४ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका–८ का ५० वर्षीय पुरुष स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २० गते उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगे ।

चिकित्सकको सल्लाहअनुसार कोरोना परीक्षण गराएका उनमा ३ दिनपछि रिपोर्ट पोजेटिभ आयो । त्यसपछि होम आइसोलेसनमा बसेका उनलाई वैशाख २५ गते राति एक्कासी श्वासप्रश्वासमा समस्या देखियो र घरमै मृत्यु भयो ।

आफन्तले मृत्यु भएकै दिन जिल्ला प्रशासन कार्यालयमा खबर गरे पनि उनको शव दुई दिनपछि नेपाली सेनाको टोलीले व्यवस्थापन गर्‍यो ।

धनगढी उपमहानगरपालिका–३ का ७२ वर्षीय बली चन्द सास फेर्न गाह्रो भएपछि एक निजी अस्पतालमा भर्ना भए । कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । तर स्वास्थ्यमा केही सुधार भएका कारण उनी अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

आइतबारदेखि होम आइसोलेसनमै बसिरहेका उनको सोमबार दिउँसो मृत्यु भयो । कोरोना संक्रमण पुष्टि भएका कारण परिवारका सदस्यले शव व्यवस्थापनका लागि वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म आग्रह गरे ।

मृतकका ज्वाईं चक्रबहादुर चन्दले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, धनगढी उपमहानगपालिका र वडा नम्बर ३ को कार्यालयलाई गुहार्दा बेवास्ता गरेको बताए ।

‘उहाँहरुले आज नभ्याइने कुरा गर्नुभयो । उपमहानगरपालिकाका मेयर सापलाई फोन गरे उहाँले वडाको सिफारिस चाहियो भन्नुभयो । वडाध्यक्षले सचिव बाहिर भएकाले सिफारिस दिन नसकिने कुरा गर्नुभयो ।’

शव व्यवस्थापनबाट स्थानीय प्रशासन र स्थानीय तह पछि हटेपछि स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर परिवारकै सदस्यले चन्दको अन्त्येष्टि गरे । ‘महामारीका बेला राज्य नै लाचार भएपछि के गर्नु ?,’ उनले गुनासो गरे ।

शव व्यवस्थापनमा पहिलो प्राथमिकता परिवार : प्रशासन

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले होम आइसोलेसनमै मृत्यु हुनेको शव व्यवस्थापन गर्ने पहिलो दायित्व परिवारकै भएको बताए ।

‘जिउँदो हुँदासम्म संक्रमितको स्याहार सुसार, हेरचाह सबै परिवारकै सदस्यले गर्छन्,’ निमित्त प्रजिअ चौधरीले अनलाइनखबरसँग भने, ‘मृत्युपछि संक्रमण नफैलिने भएकाले पहिलो प्राथमिकतामा परिवारले नै शव व्यवस्थापन गर्ने भन्ने छ । कुनै कारण भएन भने बल्ल नेपाली सेनाले गर्ने हो ।’

संक्रमितबारे छैन चासो

घोडाघोडी नगरपालिका–५ का रमेश बिक (नाम परिवर्तन) का घरका ७ जनामध्ये ४ जना कोरोना संक्रमित छन् । वैशाख २७ गते संक्रमण पुष्टि भएका उनका परिवारको अहिलेसम्म कुनै पनि निकायले सोधीखोजी गरेको छैन । उनीहरु घरमै बसेर तातोपानी खाइरहेका छन् ।

‘आज ९ दिन भयो, कसैले फोन गरेका छैनन् । सल्लाह लिन पनि कहाँ जाने हो थाहा छैन । घरमै बसेर बेसार पानी खाइरहेका छौं’ उनले भने ।

नगरपालिकाको स्वास्थ्य शाखाका सह संयोजक वेदप्रकाश चौधरीले संक्रमितलाई सम्पर्क गरेर स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गर्दै आएको दावी गरे ।

कोरोना संक्रमण भएर होम आइसोलेसनमै बसिरहेकी धनगढी उपमहानगरपालिका–६ का एक पुरुषले पनि चिकित्सकीय परामर्श र सल्लाह नपाउँदा मन आत्तिने गरेको बताए ।

‘मेरो अवस्था कस्तो छ भनेर बुझ्न अहिलेसम्म न स्वास्थ्य कार्यालयबाट कसैले फोन गरेका छन् न त उपमहानगरपालिकाबाट नै,’ उनले गुनासो गरे, ‘अस्पतालका डाक्टरहरुलाई फोन गर्दा फोन नै उठ्दैन ।’

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले वडा नम्बर १, २, ३, ४, ५ र ८ का संक्रमितहरुलाई स्वास्थ्य शाखाबाट सम्पर्क गरिरहेको बताए । अन्य वडामा भने वडाकै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले संक्रमितलाई सम्पर्क गरेर समस्याबारे जानकारी लिने र सल्लाह दिने काम गरिरहेको उनको भनाइ छ ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएपछि धनगढी उपमहानगरपालिकामा हाल दुई हजार पाँच सय ६० जना सक्रिय संक्रमित छन् भने ६५ जनाको मृत्यु भएको छ ।

दैनिक फोन गरेका छौं : स्वास्थ्य कार्यालय

चिकित्सकहरुले होम आइसोलेसनमा संक्रमितहरुको नियमित फलोअप नहुँदा अन्तिम अवस्थामा मात्र अस्पताल आउने गरेकाले मृत्युदर बढेको बताउने गरेका छन् ।

तर स्वास्थ्य कार्यालय कैलालीले भने कोरोना संक्रमितलाई दैनिक रुपमा सम्पर्क गर्दै आएको दाबी गरेको छ ।

‘हामीले रिपोर्ट पोजेटिभ आएपछि प्रत्येक दिन फोन गरेर अवस्थाबारे जानकारी लिने गरेका छौँ,’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले भने, ‘सम्बन्धित पालिकाहरुलाई पनि नियमित सम्पर्क गर्न हामीले परिपत्र पहिले नै गरिसकेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment