+
+

नारायणी अस्पतालको सिटी स्क्यान मेसिन दुई वर्षसम्म पनि बनेन

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असार २८ गते १८:१२

२८ असार, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा दुई वर्षदेखि सिटी स्क्यान सेवा बन्द छ । अस्पतालमा रहेको मेसिन बिग्रिएपछि कोरोनाको दुईवटै लहरमा बिरामीहरुले सिटी स्क्यान गर्न पाएनन् ।

दोस्रो लहरको कोरोना महामारीमा संक्रमितको छातीमा संक्रमण देखियो, तर सिटी स्क्यान मेसिन बिग्रिँदा संक्रमितहरुलाई बाहिर लैजानुपर्ने अवस्था सिर्जना भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले बताए । बाहिर जान नसक्ने बिरामीलाई एक्सरेकै भरमा चिकित्सकहरुले उपचार गरे ।

नारायणी अस्पतालले निजी अस्पतालले भन्दा सस्तोमा सेवा दिंदै आएकोमा मेसिन बिग्रिएपछि बिरामीहरु मर्कामा परेका छन् । टाउकोको सिटिस्क्यान अस्पतालमा ३ हजार रुपैयाँ थियो । यो बाहिरभन्दा ५ सयदेखि १ हजार रुपैयाँ सस्तो हो । अन्य भागको सिटिस्क्यानको पनि निजीमा भन्दा नारायणीको शुल्क कम छ ।

सिटी स्क्यान गर्ने मेसिन बिग्रिएकाले दुई वर्षदेखि सेवा बन्द रहेको अस्पतालका रेडियो टेक्नोलोजिष्ट प्रदीप साहले जानकारी दिए । ‘बिग्रिएको मेसिन मर्मत नहुँदा झण्डै दुई वर्षदेखि सिटिस्क्यान सेवा बन्द छ,’ साहले भने, ‘अस्पतालमा आएका बिरामीलाई बाहिर सिटिस्क्यान गराउनु पर्दा चर्को शुल्क तिरेर सेवा लिनुपर्छ ।’

स्वास्थ्य सेवा विभागले २०७३ सालमा नारायणी अस्पताललाई साढे आठ करोड रुपैयाँको सिटिस्क्यान मेसिन उपलब्ध गराएको थियो । तीन वर्षसम्म मेसिनले काम ग¥यो । २०७६ वैशाखमा मेसिन बिग्रियो । तर मेसिन बिग्रिएको दुई वर्ष बितिसक्दा समेत मर्मत हुन सकेको छैन । मेसिन बिग्रिएर थन्किएपछि अस्पतालको सिटिस्क्यान विभागमा ताल्चा लगाइएको छ ।

नयाँ मेसिन खरिद गर्ने तयारी

मेसिन मर्मत खर्च नै बढी हुने भएपछि अस्पतालले बिग्रेको मर्मत गर्नुको साटो नयाँ खरिद गर्ने तयारी थालेको छ । अस्पतालले साढे ८ करोडको सिटी स्क्यान मेसिन मर्मत नगरेर झण्डै ५ करोडमा नयाँ सिटी स्क्यान मेसिन खरिद गर्न लागेको हो ।

अस्पताल प्रशासनले ५० लाख रुपैयाँ खर्च गरेर भएकै मेसिन सञ्चालनमा ल्याउनुको साटो  ५ करोडमा नयाँ मेसिन खरिद प्रक्रिया थालेको छ ।

नयाँ सिटी स्क्यान मेसिन खरिदका लागि स्वास्थ्य मन्त्रालयले अस्पताललाई ४ करोड ९७ लाख बजेट दिएको थियो । सोही बजेटबाट टेन्डर आव्हान गरी ४ करोड ९१ लाख रुपैयाँमा नयाँ सिटिस्क्यान मेसिन खरिद गर्न लागिएको अस्पतालले जनाएको छ । मेसिन ल्याउने जिम्मा काठमाडौंको लुम्बिनी हेल्थ केयर प्रालिले पाएको छ ।

पुरानो मर्मत गर्दा धेरै खर्च लाग्ने देखिएको र त्यसका लागि बजेट सुनिश्चित नभएकोले मर्मत गर्न नसक्ने अवस्था भएको अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । ‘समयमै बनाउन नसक्दा खर्च बढी लाग्ने स्थिति बन्यो, सम्बन्धित कम्पनीका मानिसहरुले आएर हेर्दा ५० लाख रुपैयाँ खर्च देखाएका छन्,’ उनले भने, ‘मर्मतपछि पहिलेकै जसरी सेवा दिन्छ भन्ने कुनै ग्यारेन्टी भएन । कोरोना संक्रमितको उपचारमा समेत आवश्यक पर्ने भएकाले नयाँ खरिद गर्न लागेका हौं ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?