
दिग्गज प्रविधि कम्पनी गुगलका प्रमुख सुन्दर पिचाइले विश्वका केही देशमा इन्टरनेट स्वतन्त्रतामाथि हमला भैरहेको चेतावनी दिएका छन् ।
उनका अनुसार कतिपय देशहरुले सूचनाको प्रवाहलाई अवरुद्ध बनाइरहेका छन् र स्वतन्त्रताको मोडेललाई प्रायः हल्का रुपमा लिने गरेका छन् ।
बीबीसीलाई दिएको एक अन्तरवार्तामा पिचाइले प्राइभेसी, डाटा तथा करसँग सम्बन्धित विवादहरुका विषयमा पनि आफ्नो अभिमत प्रकट गरेका छन् ।
पिचाइले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्सका कारण हुने परिवर्तन आगो, बिजुली वा इन्टरनेट भन्दा पनि अत्यधिक प्रभावी हुने दाबी गरेका छन् ।
चिनियाँ इन्टरनेट मोडेलबारे के भने ?
सरकारको हातमा अत्यधिक सामथ्र्य रहने र कडा निगरानी राखिने इन्टरनेटको चिनियाँ मोडेलका विषयमा पनि पिचाइसँग प्रश्न गरिएको थियो । उक्त प्रश्नको जवाफ दिने क्रमममा उनले चीनको नाम नलिइकनै स्वतन्त्र तथा मुक्त इन्टरनेटमाथि हमला भैरहेको उल्लेख गरे ।
साथै उनले गुगलका प्रमुख उत्पादन तथा सेवाहरुमध्ये कुनै पनि चीनमा उपलब्ध नरहेको बताए ।
क्रान्ति ल्याउने दुई चिज
गुगल प्रमुख पिचाइका अनुसार आगामी २५ वर्षमा विश्वमा दुईवटा चिज क्रान्ति लिएर आउनेछन्, ती हुन् आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम कम्प्युटिङ ।
आर्टिफिसियल इन्टेलिजेन्सका विषयमा बोल्दै उनले भनेका छन् – मैले यसलाई मानवले सिर्जना गरेको सबैभन्दा उत्तम प्रविधिको रुपमा हेरेको छु । तपाईंले आगो, बिजुली वा इन्टरनेटको बारेमा अहिले जुन प्रकारको सोच बनाउनुहुन्छ, यो त्यस्तै नै हुनेवाला छ । मलाई लाग्दछ, त्यसभन्दा पनि उत्कृष्ट ।
आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम मानिसले जस्तै काम गर्नका लागि बनाइएको हुन्छ,खासगरी कुनै विशेष प्रकारको समस्याको समाधान गर्नका लागि । अहिले पनि कैयन् यस्तो सिस्टमले काम गरिरहेका छन् ।
क्वान्टम कम्प्युटिङ्ग एक पूर्णतः फरक अवधारणा हो । साधारण कम्प्युटिङ्ग ० र १ को बाइनरी सिस्टममा आधारित छ । त्यसको बीचमा केही पनि हुँदैन, जसलाई बिट्स भनिन्छ ।
क्वान्टम कम्प्युटर क्युबिट्समा का मगर्दछ । यसबाट एक पदार्थ एकै समयमा कैयन् अवस्थामा हुने सम्भावना रहन्छ । यसलाई बुझ्न गाह्रो हुन्छ तर यसले संसारमा ठूलो परिवर्तन ल्याइदिन सक्दछ । यद्यपि पिचाइसमेत प्रविधिसँग सम्बन्धित विशेषज्ञहरुका अनुसार यो सबै ठाउँमा काम भने नआउन सक्दछ ।
करको विषयमा पिचाइको प्रष्टीकरण
करसँग सम्बन्धित विषयमा गुगलको प्रतिक्रिया रक्षात्मक रहेको छ । कैयन् वर्षदेखि कम्पनीले आफ्नो कर दायित्वलाई कानूनी रुपमा काम गर्नका लागि लेखापाल तथा वकिलहरुलाई ठूलो रकम भुक्तान गर्दै आएको छ । उदाहरणका लागि सन् २०१७ मा गुगलले आफ्ना डबल आइरिस, डच स्याण्डविच नामक रणनीति अन्तर्गत एक डच शेल कम्पनीको माध्यमबाट २० अर्ब डलर भन्दा बढी रकम बर्मुडा पठाएको थियो ।
पिचाइका अनुसार गुगलले अहिले त्यस्तो तरिकाको प्रयोग गर्दैन र अहिले गुगल संसारकै सबैभन्दा ठूलो करदातामध्येको एक कम्पनी हो । गुगलले आफ्नो उपस्थिति रहेका हरेक देशमा कर कानूनको पालना गर्ने पिचाइको दाबी छ ।
उनले आफू कर्पोरेट ग्लोबल मिनिमम ट्याक्सको विषयमा भैरहेको विश्वव्यापी बहसबाट उत्साहित रहेको बताएका छन् ।
गुगलले पछिल्लो एक दशकमा आम्दानीको २० प्रतिशतसम्म करको रुपमा भुक्तान गरेको भन्दै पिचाइले यो रकम अन्य धेरै कम्पनीहरुको तुलनामा अधिक रहेको र त्यसमध्ये अधिकांश कर अमेरिकामै चुक्ता गरेको बताए ।
गुगलले अन्य केही ठूला ठूला मुद्दाहरुको विषयमा पनि छानबिनको सामना गरिरहेको, जस्तै डाटा तथा प्राइभेसी र सर्चको क्षेत्रमा एकाधिकार ।
एकाधिकारको आरोपका विषयमा कुरा गर्दै पिचाइले गुगल एक नि:शुल्क प्रडक्टको रुपमा रहेको र प्रयोगकर्ताहरु सजिलैसँग गुगल छाडेर अन्त कही पनि जान सक्ने तर्क गर्दछन् ।
स्मरण रहोस् फेसबुकले पनि यस्तै तर्क पहिलेदेखि नै गर्दै आएको छ ।
बीबीसीबाट
प्रतिक्रिया 4