Comments Add Comment

शीतल निवासमा नगरेर शपथ किन सर्वोच्च अदालतमा ?

१ साउन, काठमाडौं । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको सर्वोच्च अदालतमा शपथग्रहण भएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने भनेका संवैधानिक पदाधिकारीको हकमा सर्वोच्च अदालतमै शपथ गराउने भन्ने निर्णय गरेको भनेपछि शपथ ग्रहण गराउने परम्परागत ठाँउ फेरिएको हो ।

हालसम्म नियुक्त महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्ने परम्परा थियो । निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले पनि गत चैतमा राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए ।

तर यसपटक राष्ट्रपति कार्यालयले शपथ गराउन ठाउँ परिवर्तन गरिएको हो । ‘६ वैशाखमा राष्ट्रपति कार्यालयले शपथ ग्रहणसम्बन्धी एउटा निर्णय गरेको भनेर हामीलाई सूचना आयो । प्रधानन्यायाधीशज्यूले शपथ गराउने संवैधानिक व्यवस्था भएका पदाधिकारीहरुको हकमा सर्वोच्च अदालतमा नै शपथ गराउने भन्ने निर्णय भएको भनेपछि अहिले सर्वोच्च अदालतमै व्यवस्था गरिएको रहेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले अनलाइनखबरसँग भने, ‘निर्णय नै भएको भन्ने आइसकेपछि सर्वोच्चमै शपथ ग्रहणपछि हामीले महान्यायाधीवक्ताज्यूलाई स्वागत गर्नेछौं ।’

नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । तर शपथ भने प्रधानन्यायाधीशसँग लिने कानूनी व्यवस्थाका कारण यसअघिका अभ्यासमा राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमै शपथ गराउने प्रचलन थियो ।

राष्ट्रपति कार्यालयले गत वैशाखदेखि यो परम्परा परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ । गत वैशाखको निर्णयपछि सर्वोच्च अदालतमा नियुक्त न्यायाधीशहरुलाई सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीशले शपथ गराएका थिए । राष्ट्रपति कार्यालयमा शपथ नगराए पनि संवैधानिक व्यवस्थाका कारण महान्यायाधिवक्ता नियुक्तिपत्र लिन राष्ट्रपति कार्यालयमै जानुपर्ने हुन्छ ।

नियुक्तिपछि मात्रै शपथ गराउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment