+
+

मेरो प्रशंसा गर्दै बनाइएका भिडियोलाई रोक्न लगाइसकें : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १५:४१

२९ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडियो रोक्न निर्देशन दिएको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीको प्रशंसा गर्दै सार्वजनिक भएका भिडियोको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले भिडियो बनाउनेलाई रोक्न निर्देशन दिएको बताएका हुन् ।

‘सत्तामा पुगेपछि विभिन्न खालका कुराहरु चर्चामा आउँछन् । आई लभ यू केपी बा भन्दै ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याइयो,’ बैठकमा देउवाको ध्यानाकर्षण गराउँदै केन्द्रीय सदस्य धनबहादुर गुरुङले भने, ‘अहिले तपाईं प्रधानमन्त्री भएपछि मलाई शेरबहादुर देउवा मन पर्छ भनेर बनाइएका भिडियोहरु देखें, यस्ता खालका प्रचारबाट तपाईं सजग रहनुस् ।’

नेता गुरुङले बोल्दै गर्दा प्रधानमन्त्री देउवाले उनलाई रोक्दै भने, ‘होइन, होइन मैले यो भिडियो बनाउनेलाई रोक्न निर्देशन दिइसकेको छु । अब यो भिडियो आउँदैन ।’

देउवा प्रधानमन्त्री भएलगत्तै उनको सचिवालयले ‘मलाई देउवा मन पर्छ’ भन्ने भिडियोहरु सार्वजनिक गर्दै आएको छ । भिडियोलाई लिएर सामाजिक सञ्जालदेखि कांग्रेसभित्रै टिकाटिप्पणी भइरहेका छन् ।

यस्तै केन्द्रीय सदस्य गुरुङले खोप वितरणलाई व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । ‘संसदमा मेरो प्राथमिकता खोप, खोप, खोप भन्नुभएको थियो । त्यसलाई पूरा गर्नुस् ।  खोप वितरण अस्तव्यस्त छ । त्यसलाई व्यवस्थापन गर्नुस्,’ उनले भने ।

नेता गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानबिन गर्न आग्रह गरे । उनले प्रधानमन्त्री भएलगत्तै बालुवाटारमा भेटेर आफूले भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेको सम्झाउँदै कांग्रेसलाई भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गराउन ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठक देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ । बिहीबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, समायोजन सम्बन्धी प्रतिवेदन र निर्वाचन निर्देशिकामाथि नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?