+
+

वीरगञ्जका विद्यालयमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन 

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १४:३१
फाइल तस्वीर

३० साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको हो ।

वर्षाका कारण विद्यार्थीको उल्लेख्य उपस्थिति भने देखिएको छैन ।  वीरगञ्ज महानगरपालिकाका स्रोत व्यक्ति दिनेश चौरसियाले पहिलो दिन ५० प्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित भएको जानकारी दिए ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको थियो । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।

वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भनी सूचना जारी गरेको थियो । कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो । तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा हटाई बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् ।

विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै अभिभावकको स्वीकृतिमा कक्षा ८ देखि १२ सम्मको पठनपाठन भौतिक उपस्थितिमा गरिएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

महानगर प्रमुख विजयकुमार सरावगीले स्थानीय तहले पाएको अधिकार प्रयोग गर्दा सहयोग गर्नुपर्ने निकायले अड्को थापेर बस्दा विद्यालय सञ्चालनमा ढिलाइ भएको बताए ।

‘बालबालिकालाई थुनेर राख्दा उनीहरुको भविष्य बर्बाद हुन्छ भनेर कोरोना संक्रमण घटेपछि विद्यालय खोल्न खोजेका थियौं । आफ्नो अधिकार प्रयोग गर्दा समेत केन्द्रका निकायहरुले हस्तक्षेप गर्ने प्रवृत्तिले विद्यालय खोल्न सकेका थिएनौं,’ उनले भने, ‘तत्कालका लागि ठूलो कक्षा खोलेका छौं, परिस्थिति हेरेर क्रमशः अन्य कक्षा समेत सञ्चालन गर्छौं, समस्या देखिएको खण्डमा बन्द गर्छौं ।’

प्रमुख जिल्ला अधिकरी पिताम्बर घिमिरेले वीरगञ्जमा कोरोना संक्रमण घटेकाले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न महानगरले गरेको अनुरोधलाई स्वीकार गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?