

Anjan Bista
Nepal, Forward

अन्जन विष्ट : मिहिनेती अनी सर्वाधिक गोलकर्ता
नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्ट हाल नेपालको लागि हरि खड्का र निराजन रायमाझी सँगै संयुक्त रुपमा सर्वाधिक १३ गोल गर्ने खेलाडी हुन् ।
२५ वर्षीय अन्जन अग्रपंतिमा आवश्यकताअनुसार जुनसुकै पोजिसनमा समेत खेल्न सक्छन् । अन्जनले नेपालका लागि ६० खेलमा एक ह्याट्रिकसँगै १३ गोल गरेका छन् ।
अन्जन हाल नेपाली टिमको मुख्य गोलकर्ता जस्तै बनेका छन् । अन्जनले पछिल्लो पटक विश्वकप छनोटको प्रारम्भिक खेलमा लाओस विरुद्ध घरेलु मैदानमा गोल गरेका थिए । त्यसपछि लाओस विरुद्ध अवे खेलमा मनिष डाँगीले नेपालको लागि गोल गरे । त्यसयता भने नेपालले लगाता चार खेलमा गोल गर्न सकेको छैन ।
अन्जनले सन् २०१४ मा नेपालको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । जतिबेला उनी १६ वर्षका थिए ।
उनले सन् २०१४ मा फिलिपिन्स विरुद्ध मैत्रीपूर्ण खेलमा सन्दिप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका थिए । घाइते हुँदा र अनुशासनको कारवाही बाहेक त्यसयता अन्जन नियमित जस्तो राष्ट्रिय टिममा खेल्दै आएका छन् ।
अन्जन मिहिनेती खेलाडीमध्येमा पर्छन् । फुटबल खेल्नकै लागि जन्मिएको हुन भन्दा फरक पर्दैन । उनको दाई रन्जन विष्टले फुटबल खेलेको देखेर नै अन्जन पनि फुटबलप्रति आकर्षित भए र दाई जस्तै फुटबलर बनेर नेपालको जर्सी लगाए ।
अन्जनले लाओस विरुद्ध घरेलु मैदानमा गोल गर्दै हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको ङ्कीर्तिमान बराबरी गरेका हुन् ।
हरि खड्काले सन् १९९५ देखि २००३ सम्म १३ गोल गरेका थिए । निराजन रायमाझीले भने सन् २००० मा नेपालको लागि पहिलो गोल गरे भने सन् २००८ मा हरि खड्काको कीर्तिमान बराबरी गरेका थिए ।
हरि खड्काले नेपालको लागि गोल गरेपछि जन्मिएका अन्जनले निराजनले कीर्तिमान बराबरी गरेको डेढ दशकपछि आफूलाई पनि त्यही सूचीमा उभ्याउन सफल भएका हुन् ।
सन् १९८२ को एसियन गेम्समा वाईबी घलेले कुवेत विरुद्ध नेपालको लागि पहिलो आधिकारिक गोल गरेका थिए । त्यसयता नेपालले धेरै खेल खेलिसकेपनि १३ गोल नै सर्वाधिक गोलको कीर्तिमान थियो ।
हरिले गोल गर्न थाल्दा अन्जन जन्मिएका नै थिएनन् । हरि र निराजनले सर्वाधिक गोलको कीर्तिमान बनाउँदा अन्जनले फुटबल खेल्न थालेकै थिएनन् ।
अन्जनको झीवनमा पनि धेरै उतारचणाव हरु आए । तर उनको कडा मिहिनेत र धैर्यले आज उनी अन्जन विष्ट बनेका छन् । २०१९ मा भुटानको थिम्पुमा खेल्न जानुअघि उनी सहित चार खेलाडी अनुशासनको कारवाहीमा पनि परेका थिए । तर उनले त्यसपछि झन् उत्कृष्ट पुनरागमन गरे ।
सुरुवाती करियर
हेटौँडाका अन्जन एन्फा एकेडेमीका उत्पादन हुन् । उनले सन् २०११ देखि १४ सम्म एकेडेमी रहेर खेलेका थिए । यू-१६ साफ च्याम्पियनसिप देखि नेपालको उमेर समूहबाट खेल्न थालेका अन्जनले उमेर समूहमा नेपालको यू-१६, यू-२० र यु-२३ टोलीबाट समेत खेलेका छन् । अन्जनले स्पेनको मार्बेला एफसीको एकेडेमीमा समेत खेलेका थिए ।
अन्जन सन् २०१३ मा नेपालमै भएको साफ यू-१६ च्याम्पियनसिप पहिलो पटक खेलेका थिए । त्यसैका लागि उनी काठमाडौं आएका थिए । घरेलु मैदानमा भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग १-० ले पराजित हुँदै उपविजेता बनेको थियो ।
त्यसपछि एएफसी यू-१६ च्याम्पियनसिप छनोट खेले । जहा नेपाल छनोट चरण पार गर्दै अन्तिम चरणमा पुगेको थियो । एन्फाको त्यो ब्याचले उमेर समूहमा राम्रो प्रदर्शन गरेको थियो ।
त्यसपछि उनले सन् २०१५ मा नेपालमै भएको साफ यू१९ च्याम्पियनसिप खेले । विमल घर्ती मगर अनन्त तामाङसँगै टिममा रहेका अन्जन सम्मिलित टिमले घरेलु मैदानमा उपाधि जित्यो । जहाँ अन्जन र विमलले सर्वाधिक ३ गोल गरेका थिए ।
अन्जनले सन् २०१५ मा विभागीय टोली एपीएफबाट क्लबमा आबद्ध हुँदै राष्ट्रिय लिग फुटबल खेलेका थिए । त्यसपछि एपीएफबाटै शहीद स्मारक ए डिभिजन लिगमा डेब्यु गरेका थिए । त्यसपछि उनले मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेल्दै कप्तानीसम्म गरे ।
पछिल्लो पटक चर्च ब्वाइजबाट ए डिभिजन लिग खेल्दै उपाधि जितेका थिए । त्यही बीचमा अन्जनले मुम्बई केन्क्रेबाट खेल्दै भारतीय आई लिगमा पनि डेब्यु गरे ।
केही समयअघि अन्जनले भारतको सिक्कि प्रिमियर लिग खेलेका थिए । जहाँ उनी सम्मिलित टोली थण्डरबोल्ड उपपिजेता बनेको थियो ।
उनले गत सिनज मुम्बई केन्क्रेबाट आई लिगका केही खेल समेत खेलेका थिए ।
अन्जन बंगालदेश प्रिमियर लिगका लागि फोर्टिस एफसीमा अनुबन्ध भएका थिए । तर विश्वकप छनोट अन्तर्गत बहराइन विरुद्धको पहिलो खेलमा घाइते भएपछि अन्जनले कम्तीमा तीन साता आराम गर्नुपर्ने भएपछि बंगलादेशी क्लबसँग सम्झौता टर्मिनेट भयो ।
अन्जनने ललितपुर सिटी र झापा एफसीबाट नेपाल सुपर लिग समेत खेलेका छन् ।
फिलिपिन्स विरुद्ध डेब्यु
उमेर समूहमा खेल्दै गर्दा नै अन्जनले सिनियर टिममा डेब्यु गर्ने अवसर पाए । सन् २०१४ मा पहिलो पटक नेपालको सिनियर टिमका खेलेका अन्जनले सन् २०१९ मा आएर पहिलो गोल गरेका थिए । त्यसपछि चार वर्षको समयमै अन्जनले नेपालको लागि सर्वाधिक गोलको कीर्तिमान नै बनाए ।
उनले सन् २०१४ मा फिलिपिन्स विरुद्ध सन्दिप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका थिए ।
त्यसबेला नेपाली टिममा चर्चित स्टार खेलाडीहरु थिए । त्यति हुँदा पनि अन्जनले कठा मिहिनेत र लगनशिल हुँदै राष्ट्रिय टिममा स्थान बनाए ।
अन्जनले गत असोजमा दशरथ रंगशालमै भएको विश्वकपको प्रारम्भिक छनोट खेलमा लाओस विरुद्ध पहिलो लेगमा एक गोल गर्दै सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए । त्यसअघि उनले गत जुनमा भारतको बेंगलुरुमा भएको साफ च्याम्पियनसिपमा कुवेत विरुद्धको खेलमा गोल गर्दै गोल संख्या १२ पुर्याएका थिए । तर त्यसपछि उनी भारत विरुद्धको खेलमा घाइते भएपछि पूरा समय खेल्न पाएनन् भने पाकिस्तान विरुद्धको खेल गुमाएका थिए ।
त्यसयता नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसमा पनि अन्जन कीर्तिमान बराबरी नजिक पुगेका थिए । तर म्यानमार विरुद्ध पहिलो खेलमा पेनाल्टीमा चुकेपछि अन्जनले कीर्तिमान बराबरी गर्न अझै कुर्नुपरेको थियो ।
चाइनिज ताइपेई विरुद्ध डेब्यु गोल
मुख्य स्ट्राइकर नभएपनि पछिल्लो समय अन्जन नेपाली राष्ट्रिय टिमका लागि मुख्य गोलकर्ताको रुपमा देखिँदै आएका छन् ।
अन्जनले नेपालको लागि डेब्यु गरेको पाँच वर्षपछि २०१९ मा चाइनिज ताइपेई विरुद्ध पहिलो गोल गरेका थिए । विश्वकप छनोट अन्तर्गत त्यस खेलमा उनले दुई गोल गरेका थिए ।
अन्जनले सन् २०२१ यता नेपालका लागि ११ गोल गरिसकेका छन् । उनले नेपालक लागि ६० खेल खेल्दा एक ह्याट्रिक समेत गरेका छन् । अन्जनले २०२२ मा नेपालमै भएको मैत्रीपूर्ण खेलमा बंगलादेश विरुद्ध ह्याट्रिक गरेका थिए ।
अन्जनले दक्षिण एसियाका भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानसहित चाइनिज ताइपेई, इराक र कुवेत र विरुद्ध गोल गरेका छन् ।
अन्जनको फेभरेट विपक्षी बंगलादेश र चाइनिज ताइपेई हुन् । बंगलादेशविरुद्ध उनले एक ह्याट्रिकसहित सर्वाधिक ४ गोल गरेका छन् भने चाइनिज ताइपेईविरुद्ध ३ गोल गरेका छन् । उनले गोलको सुरुवात नै चाइनिजक ताइपेईबाट गरेका थिए । यस्तै इराक, भारत, श्रीलंका, पाकिस्तान, कुवेत, लाओस विरुद्ध १–१ गोल गरेका छन् ।
२०१९ मा पहिलो दुई गोल गरेका अन्जनले २०२१ मा सर्वाधिक ५ गोल गरेका थिए भने २०२२ मा ४ गोल गरेका थिए । यस्तै यस वर्ष उनले ३ गोल गरेका छन् ।
अन्जनको उपलब्धी
- एएफसी सोलिडारिटी कप २०१६ उपाधि
- बंगबन्धु गोल्डकप २०१६ उपाधि
- १२औं दक्षिण एसियाली खेलकुद (साग) २०१६ स्वर्ण (यू२३ टिम)
- साफ यू१९ च्याम्पियनसिप २०१५ उपाधि (यू१९ टिम)
क्लब उपाधि
- शहीद स्मारक ए डिभजन लिग २०७६ (मनाङ मर्स्याङ्दी क्लब)
- शहीद स्मारक ए डिभिजन लिग २०७९ (चर्च ब्वाइज युनाइटेड)
अन्जनले नेपालका लागि गोल गरेको वर्ष, प्रतियोगिता र विपक्षी
गोल नम्बर वर्ष प्रतियोगिता विपक्षी
१ २०१९ विश्वकप छनोट चाइनिज ताइपेई
२ २०१९ विश्वकप छनोट चाइनिज ताइपेई
३ २०२१ मैत्रीपूर्ण खेल इराक
४ २०२१ विश्वकप छनोट चाइनिज ताइपेई
५ २०२१ मैत्रीपूर्ण खेल भारत
६ २०२१ साफ च्याम्पियनसिप श्रीलंका
७ २०२१ साफ च्याम्पियनसिप बंगलादेश
८ २०२२ मैत्रीपूर्ण खेल बंगलादेश
९ २०२२ मैत्रीपूर्ण खेल बंगलादेश
१० २०२२ मैत्रीपूर्ण खेल बंगलादेश
११ २०२२ मैत्रीपूर्ण खेल पाकिस्तान
१२ २०२३ साफ च्याम्पियनसिप कुवेत
१३ २०२३ विश्वकप छनोट लाओस
नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरु
अन्जन विष्ट : १३ गोल
हरि खड्का : १३ गोल
निराजन रायमाझी : १३ गोल
गोविन्दराज नेपाल
Read Fullसमाचार


प्लेयर्स टु वाच



