+
Home Sports Cricket रोहितकुमार पौडेल

रोहितकुमार पौडेल
नेपाल, ब्याट्समेन

Full Name: रोहितकुमार पौडेल
Nationality: नेपाल
Date of Bith: 2002-09-02 (21 yrs)
Team: Nepal
Position: ब्याट्समेन

नेपाली क्रिकेटको इतिहासमा रोहितकुमार पौडेललाई सधैं त्यो मोडमा उभिएको पाउने छन्, जसलाई हामी परिवर्तनको सूचक मान्न सक्छौं । रोहितकुमार भनेपछि हामी नेपाली क्रिकेटमा पुस्ता हस्तान्तरणको मोड मान्न सक्छौं । एउटा कालखण्डको अन्त्य र त्यससँगै नयाँको सुरुआत पनि मान्न सक्छौं । उनले निकै कम उमेरमा नेपाली क्रिकेट टिमको नेतृत्व गर्ने अवसर पाए । त्यस अर्थमा उनी भाग्यमानी पनि रहे ।

तर उनी यसका लागि पूर्ण हकदार थिए । र, उनले यो भूमिकालाई निकै सानदार ढंगले निभाए, त्यो पनि उत्तिकै भलाद्मी र सौम्य तरिकाले । त्यसैले जति–जति बेला नेपाली क्रिकेटको इतिहास लेखिनेछ, रोहितकुमारको नाम दोहोरिएर आउनेछ । उनले नेपाली क्रिकेटलाई केही हदसम्म स्थिर स्थितिमा अवतरण गराएका छन्, जस अगाडि एक खाले अन्योल, अनिश्चितता र विवाद धेरै थियो । उनको प्रदर्शन र नेतृत्वले त्यो पुरानो स्थितिलाई चिर्न मद्दत गरेको थियो ।

सन् २००२ मा जन्मेका रोहितको घर नवलपरासीको बर्दघाट–१४ मा पर्छ । किशोर छँदा उनी फुटबल र क्रिकेट दुवै खेल्थे । अझ उनले यू–१७ स्तरमा माथिल्लोस्तरकै फुटबल पनि खेले । तर सन् २०१४ को ट्वान्टी ट्वान्टी विश्वकपले उनको जीवनमा नयाँ आयाम थप्यो । नेपालले खेलेको त्यो विश्वकप हेरेर उनी क्रिकेटमै मोडिए र पछाडि फर्केनन् । त्यो बेला नेपालमा जुन प्रकारको क्रिकेट माहोल तयार भएको थियो, त्यसले उनलाई तानेको थियो ।

आफ्नो क्रिकेट सपना पूरा गर्न उनी त्यस विश्वकपपछि काठमाडौं छिरे । बालुवाटार क्रिकेट एकेडेमीमा साढे एक वर्ष बिताए । त्यो सिकाइको प्रारम्भिक क्षण थियो । ती दिन उनलाई परिवारको पूरा साथ मिलेको थियो, विशेषतः बुबा कुमार पौडेलको । उनी भारतीय सेनामा जागिरे थिए । उनले नै रोहितलाई नयाँदिल्लीको गुरुचरण एकेडेमीमा प्रशिक्षणको व्यवस्था गरिदिए । उनले त्यहाँ चार महिना बिताए । त्यसपछि मूलधारको नेपाली क्रिकेटमा उनको प्रवेशको बाटो खुल्यो ।

उमेर समूहको क्रिकेटबाट राष्ट्रिय टिममा प्रवेश

नेपाली क्रिकेटसामु त्यतिबेला नयाँ यू–१९ टिम निर्माण गर्ने चुनौती तयार भएको थियो, किनभने प्रमुख खेलाडीको उमेर नाघिसकेको थियो । नयाँ प्रतिभाको खोजीका लागि बुटवलमा ट्यालेन्ट हन्टको आयोजना भयो । त्यसमा सहभागी ५० भन्दा बढी खेलाडीमध्ये उनी आठभित्र परे । बन्द प्रशिक्षणमा राम्रो गरेपछि उनी पहिलो पटक उमेर समूहको टिममा परे । यसै क्रममा सन् २०१६ को नेपालको प्रतिनिधित्व गरेर यू–१९ एशियाकप खेले ।

उनी मध्यक्रमका ब्याटर हुन् । यस्तै पार्टटाइम बलरको भूमिका पनि निभाउँछन् । रोहितले भारत विरुद्धको त्यस पहिलो खेलमै ६८ रन बनाए र नटआउट समेत रहे । सन् २०१७ मा उनले एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडिएटरका लागि खेले । त्यसको दोस्रो सिजनमा रोहितको प्रदर्शन उत्कृष्ट रह्यो, त्यसैले उनलाई राष्ट्रिय टिममा बोलाइयो । सन् २०१८ को फेब्रुअरी ८ मा उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–टुको नामिबिया विरुद्धको खेलमा लिस्ट ‘ए’ को डेब्यु गरे ।

त्यस खेलमा नेपाल एक रनले विजयी रहेको थियो । उनले आठौं क्रममा ब्याटिङ गर्दै बहुमूल्य १७ रन जोडेका थिए । त्यसको अर्को महिना जिम्बावेमा भएको वान डे विश्वकप छनोट प्ले–अफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेपछि नेपालले ऐतिहासिक रूपमा वान डे टिमको मान्यता पायो । सन् २०१८ को अगस्ट ३ मा उनले नेदरल्यान्ड्स विरुद्धको दोस्रो वान डे खेलमा डेब्यु गरे । उनले पहिलो खेलमा अवसर पाएका थिएनन्, शरद भेषवाकर घाइते भएपछि उनलाई दोस्रो खेलमा मौका दिइएको थियो ।

त्यस खेलमा उनले ६ रन बनाए । यूएई विरुद्ध सन् २०१९ को जनवरी ३१ मा उनले अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटमा डेब्युको अवसर पाए । सन् २०१९ मा उनले सबैभन्दा कम उमेरमा वान डे क्रिकेटमा अर्धशतक बनाए र यसक्रममा सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय शतकको कीर्तिमान पनि बनाएका थिए । पछि यो भंग भने भयो । त्यस वर्षको जनवरी २६ मा उनले यो कीर्तिमानका लागि सचिन तेन्दुलकर र शाहिद अफ्रिदीलाई उछिनेका थिए ।

यूएई विरुद्धको खेलमा उनले सातौं क्रममा ब्याटिङ गर्दै ५८ बलमा ५५ रन बनाए । त्यस खेलमा नेपाल १४५ रनले विजयी रहेको थियो । पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटमा २४२ रन बनाएको थियो । त्यतिबेला उनको उमेर १६ वर्ष र १४६ दिन थियो । यसक्रममा उनको अन्तर्राष्ट्रिय रूपमै चर्चा समेत भएको थियो । उनले तेन्दुलकरको नाममा रहेको २९ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए । तेन्दुलकरले पाकिस्तान विरुद्ध १६ वर्ष २१३ दिनमा फैसलावाद टेष्टमा अर्धशतक बनाएका थिए ।

कप्तानीको अवसर

सन्दीप लामिछाने निलम्बनमा परेपछि रोहितले नेपाली टिमको नेतृत्व गर्ने अवसर पाएका थिए । त्यस अगाडि उनीमाथि उप–कप्तानको जिम्मेवारी थियो । जतिबेला उनलाई कप्तान बनाइएको थियो, नेपाल विश्वकप क्रिकेट लिग–टुमा खराब स्थितिमा थियो । नेपालसामु वान डे मान्यता जोगाउने ठूलो चुनौती थियो । उनको कप्तानीमा नेपालले सुरुमा नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज जित्यो । त्यसयता थप तीन सिरिज खेल्यो ।

यसबीच नेपालको प्रदर्शन ऐतिहासिक रह्यो । नेपाल आफूले खेलेका १२ खेलमध्ये ११ मा विजयी रह्यो । नेपालको वान डे मान्यता जोगियो । त्यति मात्र होइन, प्रतियोगिताको शीर्ष तीनमा रहेर नेपाल वान डे विश्वकप छनोटका लागि स्थान बनाउन पनि सफल रह्यो । यही प्रदर्शनपछि नेपाली क्रिकेटले कोल्टे फेर्न थालेको मानिन्छ । यो त्यो क्षण थियो, जहाँ चुकेको भए नेपाली क्रिकेट पछाडि धकेलिन्थ्यो । तर अगाडि बढेपछि नेपाली क्रिकेटसामु धेरै अवसर तयार भए ।

Read Full