+
Home Sports Cricket उन्मुक्त चन्द

उन्मुक्त चन्द
अमेरिका, ब्याट्समेन

Full Name: उन्मुक्त चन्द
Nationality: अमेरिका
Position: ब्याट्समेन

भारतलाई यू-१९ विश्वकप जिताएका उन्मुक्त

भारतका लागि यू-१९ विश्वकप जिताएका उन्मुक्त चन्द लुम्बिनी लायन्सले अनुबन्ध गरेको अर्को विदेशी नाम हो । सिनियर टोलीबाट मौका पाउन नसकेका उनी हाल अमेरिकामा स्थायी रूपमा बसाइँसराइ गरेर बसिरहेका छन् ।

उनको करियरको सबैभन्दा ठुलो उपलब्धि भारतीय यू-१९ टोलीको कप्तानी गर्दै यू-१९ विश्वकप जिताएको नै मान्न सकिन्छ । उनले भारतका लागि सन् २०१२ को यू-१९ विश्वकप जिताएका हुन् ।

फाइनलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई हराउँदै भारतले विश्वकपको जितेको थियो । फाइनलमा उनले अविजित शतकीय पारी खेल्दै टोलीलाई जिताएका थिए ।

अस्ट्रेलियाले दिएको २२६ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवाती अवस्थामा नै विकेट गुमाएर ९७-४ को स्थितिमा पुगेको भएपनि ओपनर चन्दले कप्तानी पारी खेल्दै टिमलाई विश्वकप जिताएका थिए । उनी १११ रनमा अविजित रहे । उनलाई स्मित पटेलले ६२ रन बनाएर साथ दिएका थिए । स्मित पनि हाल अमेरिकामा नै छन् ।

आइपीएलमा दिल्लीको टोलीमा रहेका उनी भारतलाई विश्वकप जिताएपछि थप चर्चामा आएका थिए । यद्यपी उनले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेनन् । लामो समयको प्रयासपछि पनि सिनियर टिममा नपरेपछि उनी सन् २०२१ मा भारतबाट सन्यास लिएर अमेरिका लागेका थिए ।

चन्दको क्रिकेट यात्रा

सन् १९९३ मा भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा जन्मिएका चन्दले स्कुल पढ्दादेखि नै क्रिकेट खेल्न थालेका थिए । उनले सुरूमा दिल्लीको यू-१९ टोलीबाट खेल्दै १ शतक र दुई अर्धशतकसहित ४९९ रन बनाएका थिए । उनको त्यही प्रदर्शनले उनलाई दिल्लीको सिनियर टिममा स्थान दिलायो ।

त्यसपछि उनले दिल्लीको सिनियर टिमबाट रणजी ट्रफी खेल्न थाले जहाँ पनि उनले राम्रो खेल प्रदर्शन गर्दै ५ खेलमा ४०० रन बनाएका थिए । त्यसपछि उनी दिल्ली यू-१९ को कप्तान हुँदै भारतीय यू-१९ क्रिकेट टोलीकै कप्तान चुनिए । उनले आफ्नो कप्तानीमा २०१२ को यू-१९ विश्वकपसँगै त्यसै वर्ष भएको अस्ट्रेलिया र इंगल्यान्डसँगको त्रिदेशीय श्रृंखला पनि जिताए ।

त्यसैगरी २०१२ मै भएको एसीसी यू-१९ एसिया कपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनल र फाइनल दुवै खेलमा शतकीय पारी खेलेका उनी दुवै खेलको म्यान अफ दि म्याच चुनिएका थिए । फाइनलमा भारत र पाकिस्तानबीचको खेल टाइ भएको थियो । उनले प्रतियोगितामा ५ खेलमा ३७० रन बनाउँदै सर्वाधिक रन बनाउनेको सुचिमा दोस्रो भएका थिए ।

२०१३ को विजय हजारे ट्रफीको फाइनलमा चन्दले दिल्लीका लागि शतकीय पारी खेले ।

Read Full