+

रोहितकुमार पौडेल (कप्तान)
नेपाल, ब्याट्समेन

Full Name: रोहितकुमार पौडेल (कप्तान)
Nationality: नेपाल
Date of Bith: 2002-09-02 (21 yrs)
Team: Nepal
Position: ब्याट्समेन

रोहितकुमार पौडेल –  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान हुन् । रोहित नेपाल टिमका ११औं कप्तान हुन् ।

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई २५ कात्तिक, २०७९ मा कप्तान नियुक्त गरेको थियो । त्यसअघि ५ जेठ, २०७९ मा उपकप्तानको जिम्मेवारी पाएका थिए ।

भदौ २०७९ मा नेपालले केन्यासँग एकदिवसीय शृंखला खेल्दा तत्कालीन नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उनले कप्तानीको जिम्मेवारी लिएका थिए ।

सुरुवाती करियर

नवलपरासी बर्दघाट नगरपालिका, १४ मा जन्मिएका रोहित बाल्यकालमा क्रिकेटसँगै फुटबल खेल्थे । यू–१७ टिमबाट फुटबल समेत खेलेका थिए । तर सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दा नेपालमा क्रिकेटको जुन माहौल बन्यो, त्यसले रोहितकुमार पनि क्रिकेटतर्फ आकर्षित भए ।

त्यही वर्ष क्रिकेटर बन्ने सपना पूरा गर्न काठमाडौं छिरे । बालुवाटार क्रिकेट एकेडेमीमा डेढ वर्ष प्रारम्भिक सिकाई गरे । सुरुदेखि नै उनको क्रिकेट खेल्ने रचीमा साथ दिएका बुबा कुमार पौडेल, जो भारतीय सेनामा जागिरे थिए, ले रोहितलाई नयाँदिल्लीको गुरुचरण एकेडेमीमा प्रशिक्षणको व्यवस्था मिलाए । रोहितले चार महिना त्यहाँ प्रशिक्षण गरे । नेपालको यू–१९ टिमका धेरै सदस्यको उमेर नाघेका कारण एसिया कपका लागि नयाँ टोली बनाउनुपर्ने थियो । नयाँ प्रतिभाको खोजीमा बुटबलमा ट्यालेन्ट हन्ट हुने भयो ।

केही घरेलु क्रिकेट खेलिसकेका रोहितले पनि भाग लिए, ५० भन्दा बढी सहभागीमध्येबाट ८ जनामा छानिए । बन्द प्रशिक्षणमा पनि राम्रो गरेपछि उनी पहिलो पटक उमेर समूहको टोलीमा परे । डिसेम्बर, २०१६ मा यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरे । पहिलो खेलमै भारतविरुद्ध ६८ रनको अविजित पारी खेले ।

सन् २०१७ देखि एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडिएटर्सबाट खेल्न थाले । प्रतियोगिताको दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा छानिए । त्यसबीचमा पनि बन्द प्रशिक्षणमा बोलाउने र फालिने क्रम चलिरहेको थियो ।
 
सिनियर टिममा डेब्यू

८ फेब्रुअरी, २०१८, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नामिवियासँगको खेलमा रोहितले लिष्ट ए डेब्यू गरे । नेपाल १ रनले विजयी भएको त्यो खेलमा आठौं नम्बरमा ब्याटिङ गरेका उनले १७ रन जोडेका थिए ।

अर्को महिना जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो ।

रोहितकुमार मध्यक्रमका ब्याटर हुन् । पार्टटाइम बलरको भूमिकामा पनि रहन्छन् ।

३ अगष्ट २०१८ मा उनले नेदरल्याण्डसँग शृंखलाको दोस्रो खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरे । पहिलो खेलमा अवसर नपाएका सिनियर खेलाडी शरद भेषावकर घाइते भएपछि दोस्रो खेलमा ब्याटिङबाट ६ रन बनाएका थिए ।

युएई शृंखलाकै क्रममा ३१ जनवरी, २०१९ मा टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यू गरेका हुन् ।

तेन्दलकर र अफ्रिदीको रेकर्ड तोडेको दिन

कम उमेरमै एकपछि अर्को सफलता पाएका रोहितले दुलर्भ रेकर्ड समेत बनाएका छन् । उनले २६ जनवरी २०१९ सबभन्दा कम उमेरमा अर्धशतक बनाएर कीर्तिमान बनाए, त्यो पनि लेजेन्ड सचिन तेन्दुलकर र शहिद अफ्रिदीको रेकर्ड तोडेर ।

१४५ रनले जितको त्यो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २४२ रन बनाउने क्रममा सातौं नम्बरमा ब्याटिङ गर्न आएका रोहितकुमारले अर्धशतक पुरा गरेका थिए । १६ वर्ष १४६ दिनको उमेरमा रहेका उनले ५८ बलमा ५५ रन बनाएका थिए । भारतका सचिनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेष्ट क्रिकेटमा ५९ रन बनाएका थिए । पाकिस्तानका अफ्रिदीले भने १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए ।

उनले २५ मार्च २०२२ मा पुपुवा न्यूगिनीसँगको दुई म्याचको सिरिजका क्रममा पहिलो खेलमै शतक (१२६ रन) बनाए ।

१२ खेलमा ११ जित

रोहितकुमारले यस्तो समयमा नेपाल टिमको कप्तानी गर्ने जिम्मेवारी पाए, जतिबेला नेपाल लिग टूको शीर्ष ५ मा परेर एकदिवसीय मान्यता जोगाउन संघर्षरत थियो ।

उनको कप्तानीमा नेपालले नामिबियामा स्कटल्याण्ड सहितको त्रिकोणात्मक सिरिज खेल्यो । पहिलो खेल बर्षाका कारण रद्द भयो भने बाँकी  तीन खेल नेपालले गुमायो । तर २ फागुनदेखि चैत २ सम्म नेपालले थप तीन सिरिज खेल्यो, जसमा १२ मध्ये ११ खेल जितेर नेपालले उकदिवसीय मान्यता मात्र जोगाएन, शीर्ष तीनमा परेर विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन सफल भयो ।
उनी टी–२० को तुलनामा एकदिवसीय क्रिकेटमा सहज देखिन्छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबभन्दा धेरै रन बनाउने खेलाडी हुन् । ४४ खेलको ४३ इनिङ्समा १ शतक र ८ अर्धशतकसहित १३०२ रन बनाएका छन् ।

टी–२० अन्तर्राष्ट्रियतर्फ भने २१ खेलको २० इनिङ्समा १ अर्धशतकसहित ३७६ रन बनाएका छन् ।

Read Full