+

फास्ट बलरबाट स्पिनर बनेका ललित
नेपाल, बलर

Full Name: ललित राजवंशी
Nationality: नेपाल
Date of Bith: 1999-02-27 (25 yrs)
Team: Nepal
Position: बलर

ललित (ललितनारायण) राजवंशीको खेल यात्रा वास्तवमै नाटकीय छ । धेरै मोड छन्, त्यसमा । सुरुमा उनका सामु क्रिकेट खेल्ने माहोल नै थिएन । खेल्न त खेले, तर सुरुमा फास्टबलर थिए । पछि स्पिनर बने । स्पिनर भएर नै आफूलाई स्थापित गरे । अहिले उनी नेपाली राष्ट्रिय टिमका त्यस्ता नियमित खेलाडी हुन्, जसले टिमको समग्र प्रदर्शनमै निर्णायक भूमिका खेल्न सक्छ ।

उनको खेलको सबैभन्दा ठूलो विशेषता भन्नु नै बायाँ हाते स्पिनर हुनु हो । त्यस बाहेक पनि उनी साह्रै मिहिनेती छन्, धेरै परिश्रम गर्छन् । अहिलेसम्मको यात्रामा उनीमाथि अर्का स्पिनर वसन्त रेग्मीको ठूलो योगदान छ । सँगसँगै खेल्न कतै बाहिर जाँदा एउटै कोठामा बस्थे । सायद वसन्तले नेपाली क्रिकेटलाई धेरै दिए, तर कम श्रेय पाए । केही हदसम्म ललित पनि त्यस्तै छन् । तर ललित तिनै खेलाडी हुन्, जसको बलिङले नेपालको वान डे मान्यता जोगिएको थियो ।

फास्टबलरबाट स्पिनर

सन् १९९९ मा जन्म भएको थियो, ललितको । विराटनगर महानगरपालिका ४ मा जन्मेका ललितले स्कुल छँदै क्रिकेट खेल्न थालेका थिए । उनको गाउँतिर क्रिकेट खेल्ने माहोल पनि थिएन । सामान्य पृष्ठभूमि थियो । त्यसैले लुकेर खेल्थे । उनका बुबाकै प्रश्न हुने गथ्र्यो, खेलेर हुन्छ के ? सुरुसुरुमा ललितले कुटाइ खाएरै खेले । धेरै होइन, १२ कक्षासम्म पढ्दा पनि ललित ‘गल्ली क्रिकेट’मै रमाइरहेका थिए ।

त्यो नै सबथोक थियो । त्योभन्दा बाहिर के थियो, उनलाई पत्तो थिएन । उनको समयमा ड्युजबलबाट क्रिकेट खेलिन्थ्यो । यो बलबाट जो कोही बलिङ गर्न डराउँथे । ललित भने केही हुन्न भनेर अगाडि सर्थे, उल्टै फास्ट बलिङ गर्थे । उनको फास्ट बलिङकै कारण बल कता हो कता हुने गरेर हराउँथ्यो, उनी गाली खान्थे । उनकै बलिङका कारण अरूलाई चोट पनि लाग्थ्यो । उनी सामान्य स्कुलमा पढ्थे, त्यसैले पनि खेलको माहोल हुने गर्दैनथ्यो ।

त्यसैले छुट्टी भएर घर फर्केपछि बोर्डिङ स्कुलका विद्यार्थी खेल्ने ठाउँमा पुग्थे । यस्तोमा बाहिर आएका बल हातले घुमाएर फाल्दा फाल्दा उनलाई लाग्यो, आफूलाई त बलिङ गर्न पो आउने रहेछ । र, विस्तारै मौका पनि पाउन थाले । ललितको खेल जीवनमा राजवंशीको पनि ठूलै योगदान छ भन्दा मज्जाले हुन्छ । यी तिनै अजय हुन्, जसले ललितको क्रिकेट जीवनमा नयाँ मोड दियो । उनको ललितलाई सल्लाह थियो, लेफ्टआर्म स्पिन बलर बन्ने ।

यस्तो भए, ललितको बलिङ अझ तिखारिने सुझाव थियो, त्यो ठीक पनि सावित भयो । केही अन्तर कलेज क्रिकेट खेल्न थाले । तर अझै पनि ललितको मनमा द्विविधा भने बाँकी नै थियो । त्यसैले अम्पायर पो हुने हो कि भनेर प्रशिक्षण पनि लिए । अम्पायरकै भूमिकामा कलेजस्तरीय केही प्रतियोगितमा पनि देखिए । त्यतिबेला नै हो, अम्पायरका रूपमा नाम कमाइसकेका बुद्धिबहादुर प्रधानले उनलाई एउटा सल्लाह दिए । पहिले खेल्नु । अनि मात्रै अम्पायर हुने सोच बनाउनु ।
ललितले यो सल्लाह पनि माने ।

कलेज पढ्न थालेपछि सीधै घर जाँदैनथे, क्रिकेटमै व्यस्त हुन्थे । बेलुकी मात्रै घर पुग्थे । ललितलाई क्रिकेटको लत बस्नु पछाडि एउटा अर्को पात्रको ठूलो भूमिका छ र उनी हुन्, फुपाजु । यी फुपाजु दूरदर्शनमा क्रिकेट हेर्ने, यसै कारण ललितले पनि क्रिकेटको भाषा बुझे भन्दा हुन्छ । अझ फुपाजुको क्रिकेट हेर्न बानी भएकै कारण उनलाई पनि यो खेलमा माया बस्यो ।

यू–१९ विश्वकप खेल्न पाएनन्

सन् २०१३ मै ललितले राष्ट्रिय प्रतियोगिता खेले । क्षेत्र नम्बर १ को टिमका लागि उनको भूमिका स्पिनरकै रूपमा थियो । त्यही पहिलो प्रतियोगितामा उनले चार खेलमा १० विकेट लिए । नतिजा उनी, यू–१९ राष्ट्रिय टिमको तयारीका लागि बोलाइयो । बोलाइयो मात्रै होइन, उनी अन्तिम टिममै परे र सन् २०१५ मा मलेसियामा भएको एसीसी प्रिमियर खेले । त्यसपछि उनले त्यही वर्ष यू–१९ विश्वकपको ग्लोबल छनोट खेले । त्यसमा नेपाल च्याम्पियन भयो ।

नेपाल यू–१९ विश्वकपका लागि छनोट भयो । छनोटमा आयरल्यान्ड विरुद्धको खेलमा उनले तीन विकेट लिएका थिए । त्यसै कारण उनी त्यस खेलमा ‘प्लेयर अफ द म्याच’ भए । तर ललित यू–१९ विश्वकप खेल्ने टिममा भने परेनन् । त्यसमा उनलाई दुःख लाग्नु स्वाभाविक थियो । उनको स्थानमा नेपाली टिममा पर्ने खेलाडी थिए, सन्दीप लामिछाने । ललित पक्का पक्की जेन्टलम्यान हुन्, आफूले खेल्न नपाए पनि नेपालले युवा विश्वकपमा खेलेकोमै उनी खुसी थिए ।

जिम्बावेविरुद्ध राष्ट्रिय टिममा डेब्यु

यू–१९ बाट खेलेको केही वर्षमै ललितलाई राष्ट्रिय टिममा प्रवेश गर्न धेरै समय लागेन । सन् २०१८ मा जिम्बावेमा भएको वान डे विश्वकप छनोटमा ललितले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका थिए । जहाँ उनले घरेलु टोली जिम्बावे विरुद्धको पहिलो खेलबाटै नेपालका लागि लिस्ट ‘ए’ मा डेब्यु गरे । उक्त खेलमा ललितले पूरै १० ओभर कोटा बलिङ गर्दै ६२ रन खर्चेर १ विकेट लिए । जिम्बावेले दिएको ३८१ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेल्यो र बनाएको थियो, २६४ रन ।

ललितले ब्याटिङ भने गर्नु परेन । सन् २०१८ देखि राष्ट्रिय टिममा खेल्न थालेको ललित राजवंशीको करिअरमा उतारचढाव रह्यो । उनी टिममा पर्ने अनि बाहिरिने भइरहे । लेफ्ट आर्म स्पिनर धेरै हुँदा चर्को प्रतिस्पर्धा थियो । चोटले पनि उनलाई दुःख दिइरह्यो । सन् २०१८ को जुलाईमा नेपाली टोली लन्डन भ्रमणमा गएको थियो, ऐतिहासिक लर्डस्मा खेल्न । त्यहाँ नेपालले टी–२० आई खेलेको थियो । त्यहीं ललितले लर्डस्मा नेदरल्यान्ड्स विरुद्ध टी–२० आईमा डेब्यु गरे ।

लगत्तै नेपाल ऐतिहासिक ओडीआई सिरिज खेल्न नेदरल्यान्ड्स पुग्यो । नेपालले खेलको पहिलो ओडीआई सिरिजका लागि घोषित टिममा ललित पनि थिए । तर ललितले मात्र डेब्यु गर्न पाएनन् । सन्दीप त टिममा छँदै थिए, भेट्रान स्पिनरहरू वसन्त रेग्मी र शक्ति गौचनको उपस्थितिमा उनले खेल्न पाएनन् । ओडीआई डेब्युका लागि ललितले पाँच महिना कुर्नु पर्‍यो । सन् २०१९ फेब्रुअरीमा यूएई टुरमा युएई विरुद्ध ललितले ओडीआईमा डेब्यु गरे, ब्याटिङमा दुई रन बनाएका ललितको बलिङमा पालो आएन । त्यसमा नेपालले ११३ रन मात्र बनाएको थियो । नेपाल त्यस खेलमा तीन विकेटले पराजित भयो ।

सन् २०१९ मा ओडीआई डेब्यु गरेपछि उनले लगातार तीन खेल खेले । त्यसपछि सन् २०२० फेब्रअरीमा घरेलु मैदानमा भएको लिग–टु सिरिजमा टिममा रहेका उनले अमेरिका विरुद्ध अन्तिम एक खेलमा मौका पाएका थिए । सन्दीप र सुशन भारी चम्केपछि ललितले बलिङ नै गर्नु परेन । त्यसपछि चोटले गर्दा उनी टिममा पर्न सकेनन् । सन् २०२२ नोभेम्बरमा यूएई विरुद्ध घरेलु मैदानमा तीन खेलको सिरिजबाट पुनरागमन गरे, टीयू मैदानमा उनले तीन खेलमा चार विकेट लिए ।

त्यसपछि डिसेम्बरमा नामिबियामा भएको लिग–टुमा पनि टिममा स्थान बनाए । त्यहाँ उनले चार खेलमा तीन खेल बलिङ गर्दै ६ विकेट लिए । फेब्रुअरीमा काठमाडौंमा भएको लिग टु अन्तर्गत स्कटल्यान्ड र नामिबिया विरुद्धको खेलका लागि टिममै रहे । दुई खेल मात्र खेलेका उनले एक विकेट लिए । त्यसपछि टीयू मैदानमा भएको अन्तिम सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरे । यूएईलाई हराउँदै नेपालले ओडीआई मान्यता जोगाएको खेलमा उनले उत्कृष्ट बलिङ गर्दै २० रन खर्चेर पाँच विकेट लिए ।

Read Full