+

सागर ढकाल
नेपाल, बलर

Full Name: सागर ढकाल
Nationality: नेपाल
Date of Bith: 2001-12-14 (22 yrs)
Team: Nepal A,Nepal
Position: बलर

सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसलाई हेरेर धेरै किशोर र युवाले नेपालका लागि क्रिकेट खेल्ने सपना बुने । त्यसैमध्येमा पर्छन्, सागर ढकाल पनि ।

उनी भाग्यमानी भने असाध्यै रहे । एक त उनले नेपालकै प्रतिनिधित्व गरेर क्रिकेट खेले । त्यति मात्र नभएर उनी सन् २०२४ को ट्वान्टी–ट्वान्टी विश्वकप खेल्ने टिममै पनि परेका छन् । यसका लागि उनले कडा मिहिनेत गरेको भने कुनै रहस्यका रूपमा रहेको छैन ।

चूडामणि ढकाल र केशरा ढकालका कान्छो छोरोको रूपमा सागरको जन्म सन् २००१ मा भएको थियो । सानोमा गुल्मीमा टेनिस बल खेलेर बिताएका सागर आठ वर्षको उमेरमा काठमाडौं छिरे । त्यसयता ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएससीए) बाट प्रशिक्षण लिन सुरु गरे । सागरले त्यो ट्वान्टी–ट्वान्टी विश्वकप टेलिभिजनबाट हेरेका थिए र खुबै प्रभावित रहे । त्यसयता दश वर्षको यात्रामा उनले आफूलाई उत्कृष्ट बायाँहाते स्पिनरका रूपमा स्थापित गरेका छन् ।

सन् २०१८ मा लखनऊमा एउटा प्रतियोगिता भएको थियो, त्यसमा नेपाल र अफगानिस्तानसँगै भारत ए र बी टिम सम्मिलित थियो । त्यो यू–१९ को प्रतियोगिता थियो । अफगानिस्तान विरुद्धको खेलमा नेपाल विजयी रह्यो । त्यसमा सागरले निर्णायक भूमिका खेले । उनले १० ओभरमा तीन मेडन राखेर २९ रन खर्चंदै चार विकेट लिए । उनी नै ‘प्लेयर अफ द म्याच’ पनि रहे । त्यही वर्षको सेप्टेम्बरमा उनले यू–१९ एशिया कप पनि खेले, त्यसमा उनको प्रदर्शन ठीकै रह्यो ।

घरेलु क्रिकेटमा प्रवेश

सन् २०१८ मै भएको पोखरा प्रिमियर लिग (पीपीएल) मा सागरले धनगढी एक्सपर्टस्का लागि खेले । एभरेष्ट प्रिमियर लिगमा भने उनले चितवन टाइगर्सबाट खेले । त्यस प्रतियोगितामा उनले ६ विकेट विकेट लिए । सन् २०१९ मा उनी नेपाल पुलिसमा अनुबन्धित भए । त्यही वर्षकै जुलाईमा भएको एसीसी इस्टर्न रिजन प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन सागरको प्रदर्शन शानदार रह्यो । उनी उत्कृष्ट खेलाडी पनि चुनिए ।

फाइनलमा उनले हङकङको पाँच विकेट लिए । यस्तै चीन विरुद्ध उनले ६ विकेट हात पारे । सन् २०१९ कै धनगढी प्रिमियर लिगमा उनको प्रदर्शन उच्च रह्यो । ११ विकेट लिए र उनको टिम महेन्द्रनगर युनाइटेड फाइनलसम्म पुगेको थियो । सन् २०२१ मा काठमाडौं मेयर्स कपमा पुलिसलाई च्याम्पियन बनाउन १२ विकेट लिए । सन् २०२१ मै ईपीएलमा चितवनलाई च्याम्पियन बनाउन सागरले सात खेलमा १४ विकेट लिए । उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी रहे ।

राष्ट्रिय टिममा डेब्यु

सन् २०२२ आइपुग्दा उनी उमेर समूहको क्रिकेट र घरेलु प्रतियोगिता हुँदै सिनियर टिमसम्म पुगेका हुन् । विश्वकप छनोट अगाडिको प्रधानमन्त्री कप ट्वान्टी–ट्वान्टी राष्ट्रिय क्रिकेटमा पुलिसका लागि सबै खेल खेल्न पाएनन् । कोरोनाबाट संक्रमित भएपछि समूह चरणका तीन खेल गुमाए । त्यसै कारण उनी अन्तिम टिममा परेनन् । तर बन्द प्रशिक्षणमा राम्रो गरेको हुनाले प्रशिक्षक पुबुदु दसानायकेले उनलाई टिममा पछि समावेश भने गरे ।

सन् २०२२ को फेब्रुअरीमा सागरले ओमन विरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेटमा डेब्यु गरे । त्यही वर्ष उनले पपुवा न्युगिनी विरुद्ध सारजहामा वान डे क्रिकेटमा डेब्यु गरे । त्यसै वर्ष मे महिनामा आईसीसी विश्वकप लिग–टु खेल्न उनी अमेरिका गएका थिए । ललितनारायण राजवंशी घाइते भएपछि सन् २०२२ को एशियाली खेलकुदमा पनि सागरले मौका पाए । वेस्टइन्डिज ए विरुद्ध घोषित सुरुआती टिममा उनी थिएनन् ।
पछि उनीसँगै कमलसिंह ऐरी र विनोद भण्डारी पनि अन्तिम समयमा थपिए । वेस्टइन्डिज टिम विरुद्ध उनले दोस्रो खेलमा खेल्न पाए । त्यसमा उनले ओपनर एकिल एथानोजको क्याच लिए भने जोन्सन चाल्र्सलाई बोल्ड गरे ।

सिरिजमा गरेको प्रदर्शनको बलमा सागर विश्वकप टिममा परेका छन् । नेपाली क्रिकेटमा डेढ दशक भन्दा लामो समय शक्ति गौचन र वसन्त रेग्मी बायाँहाते स्पिनरका रूपमा रहे । त्यसपछि त्यस्तै भूमिका सुसन भारी र ललित राजवंशीले निभाए । पछि साहब आलाम पनि देखा परे । अब पालो सागरको ।

Read Full