+

कुशल भुर्तेल
नेपाल, ब्याट्समेन

Full Name: कुशल भुर्तेल
Nationality: नेपाल
Date of Bith: 1997-01-22 (27 yrs)
Team: Nepal
Position: ब्याट्समेन

क्रिकेट खेल्नकै लागि ठूलो जोखिम उठाएका खेलाडी हुन्, कुशल भुर्तेल ।

कुनै बेला उनीसामु क्रिकेट खेलिरहने अथवा त्यसलाई छाडेर पढाइतर्फ मोडिने भन्ने ठूलो प्रश्न अगाडि आएको थियो । यो भयो, सन् २०१७ को कुरा । त्यतिबेला धनगढीमा डीपीएल चलिरहेको थियो । कक्षा ११ को अन्तिम परीक्षा थियो । बुबाले उनलाई क्रिकेट नै रोज्न सल्लाह दिए ।

उनले परीक्षा छाडे र क्रिकेट रोजे । त्यसपछि के भयो, त्यो त खुल्ला कथा भएको छ ।

ओपनरको विशिष्ट भूमिकामा रहने गरेका कुशलले त्यसबीच तय गरेको यात्रा आफैंमा सजिलो पनि रहेन । तर उनले प्रत्येक अवसरमा आफूलाई अब्बल सावित गरे । बुटबलको तिलोत्तमा नगरपालिका–९ का कुशलले सन् २०११ देखि क्रिकेट खेल्न थालेका हुन् ।

सानोमा फुटबल पनि खेल्न मन पराउँथे । साथी–संगतमा भने क्रिकेट खेल्न थालेका हुन् । बुबाको क्रिकेटप्रतिको ठूलै झुकाव थियो । छोराले क्रिकेट खेलोस् भन्ने इच्छा पनि थियो ।

ट्यालेन्ट हन्टबाट क्रिकेटमा प्रवेश

त्यसैले उनी स्कुलस्तरीय प्रतियोगिता हुँदै ट्यालेन्टहन्ट मार्फत यू–१६ को बन्द प्रशिक्षणमा आएका थिए । विश्वास नहुन सक्छ, सुरुआती दिनमा उनी फास्ट बलर थिए । उनी एसीसी यू–१६ प्रतियोगितामा नेपालका लागि खेल्न मलेसिया पनि गए ।

तर पहिलो खेल अघि नै उनको हात भाँचियो, नतिजा उनी नेपाल फर्र्किए । सन् २०१५ मा मलेसियामा भएको आईसीसी यू–१९ प्रतियोगिता खेल्ने अवसर पनि पाए । उनी सौरभ खनालको स्थानमा टिममा परेका थिए ।

तर त्यस प्रतियोगितामा उनले एकै खेल पनि खेल्न पाएनन् । त्यसपछि कुशल सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ प्रतियोगिताको लागि छनोट भए । उनले उक्त प्रतियोगितामा लोअर अर्डर ब्याटरको रूपमा खेले । त्यो भनेको आठौं क्रममा ।

उक्त प्रतियोगितामा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । उक्त यू–१९ खेलपछि उनी विभागीय टिम पुलिसमा आवद्ध भए । यू–१९ मै राम्रो खेलेको कारण उनले पहिलो संस्करणको एभरेस्ट प्रिमियर लिग खेले, तेज पञ्चकन्याका लागि ।

मीठो संयोग, यही टिम पहिलो संस्करणको विजेता पनि बन्यो । सन् २०१७ मा उनले ईपीएलको दोस्रो संस्करणका लागि ललितपुर प्याट्रिओट्सबाट खेले । सन् २०१८ मा उनले पोखरामा आयोजित पोखरा प्रिमियर कपमा पहिलो पटक घरेलु प्रतियोगिताबाट ओपनिङको भूमिकामा देखिन थाले । उनले त्यसपछि भने ओपनिङको भूमिकामा निरन्तरता दिए । उनलाई ओपनरको भूमिमा खेल्न प्रेरित गर्ने हुन्, शरद भेषवाकर । ब्याटिङमै कडा मिहिनेत गरे र यो नै अन्ततः उनको परिचय बन्यो ।

राष्ट्रिय टिममा प्रवेश

कुशलले सन् २०१९ मा सिनियर टिममा डेब्यु गरे । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा भारत विरुद्ध लिस्ट ‘ए’ खेल मार्फत नेपालको सिनियर टिममा डेब्यु गरेका हुन् । त्यसै वर्षको अप्रिलमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालका लागि टी–२० डेब्यु गरे ।

त्यसै वर्ष उनले पीएनजी विरुद्ध वान डे सिरिजमा डेब्यु गरे । उनले पहिलो संस्करणको नेपाल टी–२० लिगमा उपाधि विजेता टिम लुम्बिनी अलस्टार्सबाट खेलेका थिए ।

सन् २०१९ मा उनले इमर्जिङ कपमा मौका पाए । त्यसै वर्ष भएको १३औं दक्षिणएसियाली खेलकुदमा उनी टिममा त परे तर खेल्ने मौका पाएनन् । उनले २०७९ सालको प्रधानमन्त्री वान डे प्रतियोगितामै आफूलाई पक्का ओपनरका रूपमा आफूलाई स्थापित गरे । अझ लेग स्पिनरका रूपमा पनि आफ्नो परिचय बनाए । उनले मधेश प्रदेश विरुद्ध ५ विकेट लिएका थिए । यसरी सुरुमा फास्ट बलर रहेका कुशल ओपनर मात्र भएनन्, लेग स्पिनर पनि बने ।

कुशल सन् २०२१ यता राष्ट्रिय टिमका नियमित सदस्य रहेका छन् । कुशल एकै प्रतियोगितामा लगातार तीन अर्धशतकीय इनिङ्स खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले सन् २०२१ को अप्रिलमा भएको नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजमा डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक प्रहार गरेका थिए ।

उनले सन् २०२२ मा पीएनजी र मलेसिया सम्मिलित टी–२० अन्तर्राष्ट्रियमा एकै इनिङ्समा सर्वाधिक ४ क्याच लिएका थिए । उनी टी–२० अन्तर्राष्ट्रियमा एकै खेलमा ४ क्याच आउट लिने विश्वकै पहिलो खेलाडी हुन् ।

Read Full