+
Home Sports Football Kiran Chemjong

Kiran Chemjong
Nepal, Goalkeeper

Full Name: Kiran Chemjong
Nationality: Nepal
Team:
Position: Goalkeeper

किरण कुमार लिम्बु : कप्तान र नम्बर वान गोलकिपर

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी समेत हुन् । डेढ दशकभन्दा लामो फुटबल करियरमा किरणले नेपालका लागि सर्वाधिक १०० क्याप जितेका छन् । उनी नेपाली फुटबलमा राष्ट्रिय टिमका लागि १०० खेल खेल्ने पहिलो खेलाडी समेत हुन् ।

नेपालका नम्बर वान गोलकिपर किरण हाल टिमको नेतृत्व र पोष्ट दुवैमा लिड गरिरहेका छन् । ३५ वर्षीय किरण वर्तमान समयमा नेपाली टोलीको सबैभन्दा अनुभवी खेलाडी समेत हुन् । उनलाई चुनौति दिने गोलकिपर अझै देखिएको छैन ।

किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरूद्ध नेपालको सिनियर टिमबाट डेब्यू गरेका थिए । भियतनामको फ्नोम पेनमा स्थित नेशनल ओलम्पिक स्टेडियममा सन् २००८ मे २४ मा मकाउविरुद्ध पहिलो रोजाईमा खेलेका उनी २४ मिनेटपछि नै घाइते भएर मैदानबाट बाहिरनु परेको थियो । त्यसपछि झण्डै तीन वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका उनले मिहिनेत गरेर राष्ट्रिय टिममा पुनरागमन गरे । त्यसपछि भने पछि फर्केर हेर्नुपरेको छैन ।

कुनै समय उपेन्द्रमान सिंहको खेल हेरेर राष्ट्रिय टिमसम्मा पुग्ने सपना बोकेका किरणलाई नेपाली फुटबलका लेजेण्ड नै भन्दा फरक नपर्ला । किरणले खेल्न छाडेपछि उनको उपलब्धि र नेतृत्वको बारेमा अझ बढी चर्चा होला ।

धनकुटाको राजारानीमा सन् १९९० मा जन्मिएका किरणले स्कुलदेखि नै फुटबल खेल्न थालेको थिए । तर त्यो बेला खेल्नको लागि सहज अवस्था थिएन ।

१३ वर्षको उमेरदेखि उनले फुटबल खेल्न थालेका थिए । सुरूमा उनी १४ वर्षको हुँदा उनी इन्टर स्कुल मायोज कप प्रतियोगिता खेल्न काठमाडौं आएका थिए । त्यसमा सेमिफाइनलमा काठमाडौंसँग पराजित भएर फर्किएका उनलाई तत्कालै यू-१६ छनोटका लागि बोलाइयो र छनोट पनि भए । उनको उचाई राम्रो भएकोले गोलकिपरको भूमिकामा खेल्थे र त्यसमै करियर बनाए ।

त्यसपछि उनको करियरले उकालो यात्रा तय गर्‍यो । किरणले यू-१६ दर्खि यू-१७ र यू-१९ बाट पनि खेले ।

सुरूमा उनले मच्छिन्द्र क्लबबाट करियर सुरू गरेका थिए । मच्छिन्द्रमा एक वर्ष खेलेपछि थ्रीस्टारको नजर उनमा पर्‍यो । लगत्तै अर्को वर्ष थ्रीस्टारले किरणलाई भित्र्यायो । त्यसपछि किरणको करियरले रफ्तार लियो ।

राष्ट्रिय टिमको यात्रा

किरणले यू-१९ खेल्दै गर्दा सिनियर राष्ट्रिय टिमसम्मै अवसर पाए । राष्ट्रिय टिमबाट खेल्ने सपना देखेको उनले त्यसलाई चाँडै पूरा गरे । उमेर समूहमा राम्रो प्रदर्शन गरेपछि उनले सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

सन् २००७ मा उमेर समूहका खेलहरू खेलिरहेको बेला एक दिन राष्ट्रिय टिम छनोटका लागि किरणलाई फोन आयो । त्यसबेला रितेश थापा, विकास मल्ल, सुरेन श्रेष्ठजस्ता सिनियर गोलकिपर भएकोले किरणले आफूलाई बोलाउँदा अचम्ममा परेका थिए ।

तर उनले देखेको सपना पूरा हुँदै थियो । २००८ मै उनले कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप छनोटमा सिनियर टोलीबाट डेब्यू गरे । कलिलो उमेरमै सनियर टिमको पोष्ट सम्हालेका किरणको खुशी धेरै समय टिकेन ।

दुर्भाग्यवश् पहिलो खेलमै उनी घाइते भए । खेल सुरू भएको २४औं मिनेटमै उनको चिउँडोमा चोट लाग्यो ।

भएको के थियो भन्दा नेपाली डिफेन्डर सबै अगाडि बढेका बेला मकाउका फरवार्डसँग वान भर्सेस वानको अवस्थामा किरणले बल रोक्नलाई डाइभ गरेका थिए । तर मकाउका खेलाडीको घुँडाले किरणको चिउँडोमा लाग्यो । पछि थाहा हुँदा चिउँडोको हड्डी नै भाँचिएको थियो ।

उक्त खेल नेपालले ३-२ ले जितेको थियो तर किरणका लागि पहिलो खेल नै अभागी जस्तै बन्यो ।

युवा अवस्थामै चोट लागेपछि किरणलाई अब मैदान फर्कन सकिँदैन कि भन्ने डर पनि लागेको थियो । तर नेपाली टिमका तात्कालिन जर्मन प्रशिक्षक थोमस फ्लाथले ‘केही हुँदैन, तिम्रो उमेर छ । ठीक हुन्छौ’ भनेर सम्झाएका थिए ।

त्यसपरुछि उनी उपचारमा केन्द्रित भए । आराम गरे । करिब ७ महिनापछि फुटबल खेल्न थाले । अनि एएफसी च्यालेन्ज कपको तयारीकै क्रममा सन् २०११ मा फेरि राष्ट्रिय टिममा फर्किए ।

उनको पुनरागमनमा नेपालले भुटानविरूद्ध खेलेको दुई मैत्रीपूर्ण खेल जितेको थियो । त्यसयता किरण लगातार नेपाली टिममा छन् ।

किरणले नेपालको ए डिभिजन लिग र राष्ट्रिय लिगको उपाधि मात्र नभई भारत र माल्दिभ्समा समेत शीर्ष डिभिजनको उपाधि जितेका छन् ।

उनले नेपालको ए डिभिजन लिग (थ्रीस्टार), माल्दिभ्सको धिवेही प्रिमियर लिग (टीसी स्पोर्ट्स) र (माजिया एस एण्ड आरसी) र भारतको आई लिग (मिनेरवा पन्जाब) बाट उपाधि जितेका छन् । यस्तै तीनवटै देशमा व्यक्तिगत अवार्ड समेत जितेका छन् ।

नेपाली राष्ट्रिय टिमबाट भने उनले सन् २०१६ मा एएफसी सोलिडारिटी कप जितेका थिए । जुन नेपालले एएफसीको आधिकारिक प्रतियोगिता जितेको पहिलो हो ।

यसैगरी किरणले घरेलु मैदानमा भएको थ्री-नेसन्स कपको उपाधि दुईपटक जितेका छन् ।

डेब्यूदेखि सर्वाधिक खेलसम्म

किरणले सन् २००८ मा डेब्यू गरेका थिए । तर पहिलो खेलमै उनी घाइते भएपछि फेरि खेलमा फर्कने/नफर्कने निश्चित थिएन । तर किरणले हिम्मत हारेनन् र राष्ट्रिय टिममा पुनरागमा गर्दै डेढ दशक खेलिसकेका छन् । त्यसपछि उनले पछि फर्केर हेर्नुपरेको छैन । हाल उनलाई रिप्लेस गर्न सक्ने नयाँ गोलकिपर देखिएका छैनन् ।

किरणले राष्ट्रिय टिममा डेब्यू गर्दा विकास मल्ल, रितेश थापा जस्ता चर्चित किपर थिए । तर उनले दुवैलाई पछि पार्दै पहिलो रोजाईँमा खेल्न थालेका थिए र त्यसमै निरन्तरता पाए । किरणले खेल्न थालेपछि राष्ट्रिय टिमसम्म धेरै किपर आए तर कोही पनि लामो समय टिक्न सकेनन् ।

यसबीचमा आएका विकेश कुथु र विशाल श्रेष्ठ अघिकांश समय किरणभन्दा पछि राष्ट्रिय टिममा रहे । तर धेरै अवसर पाएनन् । विशालले त एक दशकमा जम्मा एक खेलमात्र खेल्न पाए त्यो पनि वैकल्पिक खेलाडीको रुपमा जम्मा १० मिनेट । उनले सन्यास पनि लिइसके । अर्का किपर विकेशले भने बंगबन्धयु गोल्डकप, १२औं साग र १३औं साग पहिलो रोजाइमा खेल्दै उपाधि जितेका थिए ।

पछिल्लो समय दीप कार्की दोस्रो रोजाइको किपरमा थिए । यसबीचमा दीपसँगै विशाल सुनार, टिकेन्द्र थापा, अनिष देउला, अभिषेक बराललगायत किपर राष्ट्रिय टिममा परेका छन् । तर दीपबाहेक अरुले डेब्यू गर्ने अवसर पाएका छैनन् ।

किरणले नेपालका लागि सर्वाधिक १०० खेल खेलिसकेका छन् । फिफा विश्वकप र एएफसी एसियन कप दोस्रो छनोट अन्तर्गत यमनविरूद्ध खेलेपछि किरणले नेपालक लागि १०० खेल खेल्ने ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।

विश्वकप छनोटको दोस्रो चरणबाटै बाहिरिएको नेपालले अब एसियन कप छनोट तेस्रो चरण आगामी मार्चबाट खेल्दैछ । किरणले नेपालका लागि अझै धेरै खेल खेल्नेछन् । जुन नेपाली फुटबलको लागि अर्को एउटा कोशेढुंगा बन्नेछ ।

तीन देशको लिग जित्ने नेपाली खेलाडी

किरण हाल भारतमा पञ्जाब एफसीबाट इन्डियन सुपर लिग (आईएसएल) खेलिरहेका छन् । उनी तीन फरक देशमा लिग जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । किरणले नेपालमा थ्रीस्टारबाट लिग जितेका थिए ।

यस्तै उनले माल्दिभ्समा टिसी स्पोर्ट्स र माजिया एस एण्ड आरसी तथा भारतमा मिनेरवा पञ्जाब/राउण्ड ग्लास पञ्जाबबाट लिग जितेका छन् । त्यसैगरी उनले तीन देशमा उत्कृष्ट किपर हुँदै गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका छन् ।

पञ्जाबबाट आई लिग जितेपछि किरणको टोली आईएसएलमा छनोट भएको हो र उनी पहिलो पटक आईएसएल खेलिरहेका छन् ।

किरणले २०७८ सालमा नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) पनि खेलेका थिए । आइकोनिक प्लेअरको रुपमा धनगढी एफसीमा खेलेका उनले कप्तानी गर्दै टिमलाई उपविजेता बनाएका थिए । त्यसमा पनि किरण उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए ।

किरणले राष्ट्रिय टिमबाट जितेको उपाधि

एएफसी सोलिडारिटी कप २०१६

थ्री नेसन्स कप २०२१

प्राइम मिनिस्टर थ्री नेसन्स कप २०२३

क्लब उपाधि

शहीद स्मारक ए डिभिजन लिग २०६९ (थ्री स्टार)

राष्ट्रिय लिग २०७१ साल (थ्री स्टार)

आई लिग २०१७-१८ (मिनेरवा पञ्जाव)

आई लिग २०२२-२३ (राउण्ड ग्लास पञ्जाव)

धिवेही प्रिमियर लिग २०१८ (टिसी स्पोर्ट्स)

धिवेही प्रिमियर लिग २०२२ (माजिया एस एण्ड आरसी)

व्यक्तिगत अवार्ड

शहीद स्मारक लिग उत्कृष्ट गोलकिपर २०६६-६७ (थ्रीस्टार)

राष्ट्रिय लिग उत्कृष्ट गोलकिपर (थ्रीस्टार)

धिवेही प्रिमियर लिग उत्कृष्ट गोलकिपर २०१८ (टिसी स्पोर्ट्स)

आई लिग उत्कृष्ट गोलकिपर २०१९-२० र २०२२-२३ (मिनेरवा पञ्जाव/राउण्डग्लास पञ्जाव)

नेपाल सुपर लिग २०२१ उत्कृष्ट गोलकिपर (धनगढी एफसी

 

प्रस्तुती : गोविन्दराज नेपाल

Read Full