+
नेपाली फुटबल :

म्याट रोसको कार्यकाल : सिंगापुरविरुद्ध ऐतिहासिक जित, लाओससँग पहिलो हार

२०८२ कात्तिक  १३ गते १५:१४ २०८२ कात्तिक १३ गते १५:१४

पछिल्लो समय नेपाली टिमको प्रदर्शन कमजोर हुँदै जानु, नतिजा नआउनु अनी एन्फाको आन्तरिक विवादले नेपाली फुटबलको नकरात्मक रुपमा धेरै चर्चा भइरहँदा अष्ट्रेलियन प्रशिक्षक रोसले पनि टिम छाड्ने निर्णयमा पुगेका हुन् ।

म्याट रोसको कार्यकाल : सिंगापुरविरुद्ध ऐतिहासिक जित, लाओससँग पहिलो हार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले ८ महिनापछि राजीनामा दिएका छन्।
  • रोसको कार्यकालमा नेपालले ७ अन्तर्राष्ट्रिय खेल खेलेको थियो जसमा १ जित, २ बराबरी र ४ हार रहेको छ ।
  • रोसले केही युवा खेलाडीलाई अवसर दिएका थिए तर नियमित घरेलु लिग नहुँदा खेलाडी छनोटमा समस्या भएको थियो ।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले ८ महिनापछि नै आफ्नो पदबाट राजीनामा दिएका छन् । गत वर्ष फागुनमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका म्याट रोसले ४ महिना सम्झौता बाँकी छँदै राजीनामा दिएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासिचव किरण राईले रोसले राजीनामा बुझाएको पुष्टि गरे । ‘उहाँले केही दिनअघि राजीनामा बुझाउनुभएको हो । अब एन्फाले नयाँ प्रशिक्षक नियुक्तको प्रक्रिया अघि बढाउँछ’ महासचिव राईले अनलाइनखबरसँग भने ।

पछिल्लो समय नेपाली टिमको प्रदर्शन कमजोर हुँदै जानु, नतिजा नआउनु अनी एन्फाको आन्तरिक विवादले नेपाली फुटबलको नकरात्मक रुपमा धेरै चर्चा भइरहँदा अष्ट्रेलियन प्रशिक्षक रोसले पनि टिम छाड्ने निर्णयमा पुगेका हुन् ।

कार्यकाल ८ महिना

एन्फा ९ महिना प्रशिक्षकविहिनताको अवस्थाको टुङ्ग्याउँदै २०९१ फागुन १८ गते म्याट रोसलाई नेपाली पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यस बेला एन्फाले उनलाई एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको हो ।

तर रोसले आफ्नो कार्यकाल पूरा गर्न सकेनन् । उनले ८ महिनामा राजीननामा दिँदै नेपाल बसाई टुङ्ग्याउने निर्णय गरे ।

एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्धको दुई खेल खेलेर फर्केपछि नै रोस पद छाड्ने निर्णयमा पुगेका थिए ।

७ अन्तर्राष्ट्रिय खेल

रोसको प्रशिक्षणमा नेपालले यो अवधिमा जम्मा ७ खेल खेल्यो । त्यसमा चार खेल एएफसी एसियन कप छनोट (तेस्रो चरण) मा र तीन खेल मैत्रीपूर्ण खेल थियो ।

त्यसमा नेपालले कूल ६ राष्ट्रसँग खेल्यो । एसियन कप छनोट अन्तर्गत नेपालले मलेसिया र लाओससँग १-१ तथा भियतनाम विरुद्ध २ खेल खेलेको थियो ।

यस्तै सिंगापुर, हङकङ र बंगलादेश गरी तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलेको थियो । रोस प्रशिक्षक रहँदा नेपालले सिंगापुरसँग ३६ वर्षपछिहङकङसँग ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

१ जित

म्याट रोस प्रशिक्षक रहँदा नेपालले जम्माजम्मी एक खेल मात्रै जित्यो । प्रदर्शनका हिसाबले उनको कार्यकाल निराशाजनक नै रह्यो ।

यस्तै २ खेल बराबरी गर्दा ४ खेलमा नेपाल पराजित भयो । नेपालले आधा भन्दा बढी खेलमा हार बेहोर्‍यो ।

रोसको प्रशिक्षणमा नेपालले जितेको एक मात्र खेल सिंगापुर विरुद्ध रह्यो । त्यो पनि उनको डेब्यू खेल थियो । रोस आएपछि नेपालले खेलेको पहिलो खेलमा सिंगापुरलाई १-० ले हराएको थियो । जुन नेपालका लागि ऐतिहासिक नतिजा थियो । नेपालले पहिलो पटक सिंगापुरलाई हराएको थियो ।

तर त्यसपछिका ६ खेलमा भने नेपाल जितविहिन रह्यो ।

रोसको दोस्रो खेलमा एसियन कप छनोटमा मलेसियासँग २-० ले पराजित भयो । त्यसपछि फेरि हङकङ विरुद्ध मेत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेल्दै नेपालले राम्रो नतिजा निकाल्यो ।

तर त्यसपछि भने नेपालले लाओससँग एसियन कप छनोटमा हार बेहोर्‍यो । अहिलेसम्म लाओसमाथि हावी रहँदै अपराजित रहेको नेपाल रोसकै कार्यकालमा पहिलो पटक पराजित भयो । जुन नेपालका लागि निराशाजनक नतिजा रह्यो । यस्तै त्यसपछि बंलादेशसँग घरेलु मैदानमा खेलिएको मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । यो अर्को बराबरी नतिजा रह्यो ।

यस्तै एसियन कप छनोटमै नेपालले भियतनाम विरुद्ध पछिल्लो दुई खेल खेल्दा दुवैमा पराजित भयो । पहिलो खेलमा ३-१ ले पराजित भएको नेपाल दोस्रो खेलमा १-० ले पराजित भयो ।

घरेलु मैदानमा जम्मा १ खेल

म्याट रोसको कार्यकालमा नेपालले जम्मा एक खेल मात्र घरेलु मैदानमा खेल्न पायो । त्यो थियो बंगलादेश विरुद्धको मेत्रीपुर्ण खेल । एसियन कप छनोट अन्तर्गत भियतनाम विरुद्ध खेल्नुअघि नेपालले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने तय थियो ।

पहिलो खेल गोलरहित बराबरीमा सकियो । तर जेनजी आन्दोलनको प्रभावले गर्दा दोस्रो मैत्रीपूर्ण खेल हुन सकेन ।

यसबाहेक नेपालले घरेलु मैदानमा खेल्ने एसियन कप छनोटका खेलहरू आफ्नै मैदानमा खेल्न पाएन ।

दशरथ रंगशालमा पिफा र एएफसीको छनोट खेल खेलाउन अयोग्य भएपछि नेपालले होम म्याच पनि विदेशमै खेल्न बाध्य भएको थियो ।

युवा खेलाडीलाई अवसर, लिग नहुँदा खेलाडी पाएनन्

म्याट रोसको प्रशिक्षण कार्यकालमा केही युवा खेलाडीले राष्ट्रिय टिमबाट खेल्ने अवसर पाए । उनले केही नयाँ खेलाडीलाई पनि राष्ट्रिय टिममा स्थान दिए । तर सबैले डेब्यु गर्न भने पाएनन् ।

यस्तै नियमित घरेलु लिग नहुँदा खेलाडी छनोट गर्नमै उनलाई समस्या थियो । जसले गर्दा नकआउट प्रतियोगिता, अरुको सुझाव र प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा उनले खेलाडी छान्ने गरेका थिए ।

सिंगापुर र मलेसिया विरुद्ध खेल्न पहिलो भ्रमणमा जाँदा उनले तीन नयाँ खेलाडी टिममा समावेश गरेका थिए । जसमा डिफेण्डर सुमन श्रेष्ठ, फरवार्ड सुबास बम र गोलकिपर अन्जल श्रेष्ठ थिए ।

त्यसमा सुमन श्रेष्ठ र सुबास बमले सिनियर टिमबाट डेब्युको अवसर पाएन । तर अन्जलले भने खेल्न पाएनन् । उनी राष्ट्रिय टिममा समेत निरन्तर रहन सकेनन् ।

सुमन श्रेष्ठले सिंगापुर विरुद्ध पहिलो रोजाईँमै डेब्यु गर्ने अवसर पाए । यस्तै सुवास बमले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै सिंगापुर विरुद्ध डेब्यु गरे ।

यस्तै कृतिश रत्न छुन्जुले एसियन कप छनोटमा लाओस विरुद्ध डेब्यु गर्ने अवसर पाए । यस्तै एसियन कप छनोटमै भियतनाम विरुद्ध युवा मिडफिल्डर कुशल देउवाले डेब्यु गरे ।

म्याट रोसले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि आदित्य शाक्य र अमित लामालाई पहिलो पटक सिनियर टिममा समावेश गरेका थिए । तर दुवैले खेल्न भने पाएनन् ।

राष्ट्रिय टिम र पुटबल विकासको मेरुदण्डको रुपमा रहेको शहीद स्मारक ए डिभिजन लिग नियमित नहुँदा रोससामू खेलाडी छनोटमा विकल्प पनि थिए । जसले गर्दा भियतनाम विरुद्धको पछिल्लो दुई खेलमा उनले पुरानै खेलाडीहरू समावेश गर्दै टिम चयन गरेका थिए ।

साफ च्याम्पियन बन्ने लक्ष्य, प्रतियोगिता नै भएन

म्याट रोसले गन फागुनमा नेपाली फुटबल टिमको नेतृत्व सम्हाल्ने क्रममा विभिन्न लक्ष्य सुनाएका थिए ।

उनले आफू नेपाली फुटबलको बारेमा जानकार रहेको पनि बताएका थिए । त्यस क्रममा उनले वरियता सुधार गर्दे देखि सिनियर लेभलमा साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको सुनाएका थिए ।

नेपालमा आउने हरेक प्रशिक्षकले साफ च्याम्पियन बन्ने ने लक्ष्य राख्ने गर्छन् । किनभने नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन । फाइनल पुग्नु ने नेपालको ठुलो उपलब्धि रहेको छ ।

रोसले पनि त्यही लक्ष्य राखेका थिए । तर यसै वर्ष तय भएको साफ च्याम्पियनसिप आयोजना नै भएन । जसले गर्दा साफ खेल्दै च्याम्पियन बन्ने रोसको लक्ष्य पुरा हुन सकेन ।

२०२५ जुनमा साफ च्याम्पियनसिप गर्ने तय थियो । तर साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले प्रतियोगितालाई होम अर अवे पर्म्याटमा गर्ने तयारी भइरहेको भन्दै २०२५ अप्रिलमा साफ स्थगित गर्ने र २०२६ का लागि सारेको जनाएको थियो ।

नेपाली फुटबल म्याट रोस
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय